झापा र वीरगन्जले अंक बाँडे
काठमाडौं : झापा एफसी र वीरगन्ज युनाइटेडले नेपाल सुपर लिग (एनएसएल)को खेलमा अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा झापा र वीरगन्जले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
दुवै टोलीले पाएको अवसर सिर्जना गर्न नसक्दा अंक बाँड्न बाध्य भए। झापाले पहिलो हाफमा केही राम्रो अवसर बनाए पनि फिनिसिङमा चुकेको थियो। खेलको अन्त्यतिर वीरगन्जले झापामाथि लगातार दबाब बनाए पनि गोल गर्न भने सकेन।
आठौं स्थानको झापाले चार खेलमा तीन बराबरी र एक हारको नतिजासहित तीन अंक जोडेको छ। यसैगरी पुछारको वीरगन्जले चार खेलमा दुई बराबरी र दुई हारको नतिजासहित दुई अंक जोडेको छ।
प्रतियोगिताअन्तर्गत बिहीबार धनगढी एफसी स्पोर्टिङ इलाम तथा दोस्रो खेल काठमाडौं रेजर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ। एनएसएसको दोस्रो संस्करणमा ललितपुर सिटी एफसी, वीरगन्ज युनाइटेड, बुटवल लुम्बिनी, धनगढी, चितवन, झापा, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसीले स्पर्धा गरिरहेका छन्।
पुस १४ गतेसम्म सञ्चालन हुने लिगको उपाधि विजेतालाई ७० लाखदेखि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।