पुस्तकमा सुशासन र समृद्घिका १०१ उपाय प्रस्तावित छन्। पुस्तक राजनीति गर्नेहरूलाई मात्र होइन, हरेक योजनाकार, नीतिविश्लेषक, स्थलगत विकासकर्मी, अर्थ तथा विकास विषयका प्राध्यापकलाई समेत निकै उपयोगी छ।
नेपालको विकास हुन किन सकेन ? नेपाली युवा दैनिक हाराहारी दुई हजारको संख्यामा किन बिदेसिइरहेका छन् ? नेपाली शिक्षित–दीक्षित विकासकर्मीहरू किन ‘टीआर’, ‘पीआर’ अनि ‘हाइस्किल’ अनेक प्रलोभनका नाममा वा ‘विद्यार्थी’का निहुँमा अनेकानेक देशमा गएर उतै पलायन भइरहेका छन् ? नेपालको गरिबी किन अपेक्षित मात्रामा घट्न सकेन ? नेपाली महिला किन अझै पनि पहिचानमा खरो उत्रन सकेका छैनन् ? किन बालहिंसा र दुराचारका घटना हरेक वर्ष बढ्दैछन् ? किन नेपाली युवा तथा अधबैंसेमा स्व–देहत्यागको क्रम र प्रवृत्ति बढिरहेछ ? नेपालले किन आफूलाई चाहिने सामान्य वस्तुहरू पनि आफैं उत्पादन गरेर आत्मनिर्भरताको बाटो अवलम्बन गर्न सक्दैन ? नेपालको भूमिलाई माया गर्ने नयाँ पुस्ता किन जन्मन सकेन वा जन्माउन सकेनौं ?अथाह स्रोत भएर पनि नेपालले किन श्रम र उत्पादनमा पाइला अगाडि बढाउन सकेन ? अनि, किन नेपाली बर्सेनि वैदेशिक ऋणभारले असोचनीय हिसाबमा थिचिँदैछौं ?
यी र यस्ता दर्जनौं प्रश्नले हरेक नेपालीमा वर्र्षौंदेखि डेरा जमाइरहेका छन्। अझ, पछिल्लो समय यो क्रम ह्वात्तै बढेको छ। स्थिति भयावह बनिरहेछ। परनिर्भरताले सीमा नाघिरहेको छ। तर पनि उत्तरको खोजी ज्यादै कम भइरहेको छ। खोजी भएका उत्तरको पनि कार्यान्वयन खासै छैन। यी सबै अकर्मण्यताको बढी दोष यहाँका नेतृत्व सम्हाल्नेहरूमा जाला तर पनि हरेक प्रशासक, बौद्धिक वर्ग, अभिभावक, विकासकर्मी र शिक्षक–प्राध्यापकले यी कुराको केही न केही जिम्मेवारी लिनैपर्छ। हामी उपायहीन नै भएका हौं त ? केही पनि नसोचिएको हो त ? केही पनि नभएको हो त ? बौद्धिकवर्ग, राजनीतिजीवी, र विकासकर्मीले ‘के गर्ने ?’ र ‘कसरी गर्ने ?’ भन्ने जवाफ खोज्न छाडेको हो त ? पक्कै होइन। यहाँ अनेक विचार आइरहेका छन्। अनुभव पोखिइरहेका छन्। सोच र भावना प्रवाहित भइरहेका छन्। अनेक उपाय र जुक्तिहरू सुझाइएका छन्। तर पनि हामीमा पढ्ने प्रवृत्ति कम छ। अर्काका भावना बुझ्ने र ग्रहण गर्ने प्रवृत्ति कम छ।
यसै मेसोमा सहभागीमूलक विकासकर्मी, बैंकिङ क्षेत्रका ज्ञाता तथा विकास लेखनमा चासो राख्ने अश्विनकुमार पुडासैनीले दोस्रो पुस्तक ‘समृद्धिको हुटहुटी’ लेखेका छन्। जसमा सुशासन र समृद्धिका १०१ उपाय प्रस्तावित छन्। पुस्तक राजनीति गर्नेहरूलाई मात्र होइन, हरेक योजनाकार, नीतिविश्लेषक, स्थलगत विकासकर्मी, अर्थ तथा विकास विषय पढाउने अध्यापक–प्राध्यापकलाई समेत निकै उपयोगी छ। जसमा जीवन–प्रक्रिया र जगत् चलाउन अति आवश्यक कुरा पूरा गर्न हरेक व्यक्ति, परिवार, समाज, वडा तथा पालिकाहरू, प्रदेशहरू तथा संघीय सरकारले खेल्नुपर्ने भूमिकाबारे सुझाव दिइएको छ, १०१ वटा। हरेक कुरा एकसेएक महŒवका छन्। मूलतः सरकार वा राज्यले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा धेरै कुरामा परामर्शीय वकालत गरिएको छ।
१०१ उपायमा घरपरिवारदेखि राष्ट्रिय योजना आयोगले ध्यान दिनुपर्ने कुरासम्म समेटिएका छन्। आयोगले ५ वर्षे होइन, ४ वर्षे योजना बनाओस् र देशभरि नै योजना बनाउँदा ९ कोठे तालिका प्रयोग गरोस् भन्ने सुझाव पनि छन्। विकासकर्मीले विशेष ख्याल गर्नुपर्ने कुरा– शिक्षा, साक्षरता, कृषि, खाद्य सुरक्षा, पोषण, रोजगारी, स्वास्थ्य, खानेपानी, विद्युत्, इन्टरनेट, सरसफाइ, सडक तथा अन्य भौतिक पूर्वाधार, वनजंगल, पर्यटन, जल तथा पर्यावरण संरक्षण, योजना तर्जुमा, जनशक्ति व्यवस्थापन तथा परिचालन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सबाल, सुरक्षा तथा राष्ट्रिय चासोजस्ता अनेक विषयमा छोटोछोटो तरिकाले अनुभव र खुल्ला भावना अभिव्यक्त गर्ने काम लेखकबाट भएको छ। समय व्यवस्थापनको काइदा, सकारात्मक सोच तथा व्यवहारको विकास, तथा सहभागीमूलक संस्कारको प्रवद्र्धन गर्न प्रस्ताव गरिएका सुविचारित कुराहरूले अझ धेरै पाठकको मन छुन्छ।
२०७९ साउन २६ गते लेखक अश्विनलाई गम्भीर प्रकृतिको मुटुको समस्या भयो। लामो समयको उपचारपछि निको भयो। जिन्दगी अनिश्चित रहेछ, केही काम कष्ट सहेरै भए पनि जिउँदै छँदा गर्नुपर्ने रहेछ भन्ने चेतले अश्विनलाई यो पुस्तक लेख्ने हुटुहुटी जागेको लेखकीय पढ्दा थाहा हुन्छ। ‘यो मेरो दोस्रो जन्म हो’, पुस्तकमा भावुक पाराले लेखेका छन्। ती पंक्तिले पाठकलाई भावुक बनाउँछ। यद्यपि नेपाली विकास–साहित्यमा गरेको अतुलनीय योगदान गरेरै छोडे जुन प्रशंसनीय छ। ‘समृद्धिको हुटहुटीे’ पुस्तक हरेक व्यक्तिले पढ्नुपर्ने पाइन्छ। समृद्धि र सुशासनका लागि के गर्ने भन्ने कुरामा प्रशस्त सूचीगत संकेत प्राप्त हुने भएकाले त्यस क्षेत्रमा गहिरिएर काम गर्ने र योजना बनाउनेका लागि थप सन्दर्भ–सामग्रीको अध्ययन त गर्नैपर्छ, तर यसले दिने भनेको जिज्ञासाको हुटहुटी पनि हो, सम्भावना र थप सोचको कुतकुती पनि हो।
कतिपय सन्दर्भमा पार्टीका घोषणापत्रमा हालिएका बुँदाको संग्रहजस्तो लागे पनि यो पुस्तकमा लेखकले गरेको मेहनत र पुस्तक पस्काइमा ल्याएको केही नवीन तरिकाले पुस्तक पढूँपढूँ लाग्ने बनेको छ। चिटिक्कका शीर्षक र छोटाछोटा वाक्य तथा अनुच्छेदहरूले पाठकलाई अझ तान्छन्। जसमा सम्पादक शरच्चन्द्र वस्तीको खुबीसमेत मिसिएको छ। करिब १५० पृष्ठको यस पुस्तकको मूल्य व्यक्तिगत ३७५ र संस्थागत ५०० रुपैयाँ छ। बिक्रीबाट आएको रकममध्ये केही मुटुसम्बन्धी उपचारका सामाजिक काममा समेत लगाइने लेखकको प्रतिवद्धता छ। भन्नैपर्छ, पुस्तकको आवरण र विषयसूचीमा देखिएका केही कमी–कमजोरी दोस्रो संस्करणमा हटाउन सके राम्रो हुनेछ।