जमानामा पानीघट्ट जवान थियो। आज ऊ बूढो भयो। गाउँभरिका मान्छेलाई मीठो मसिनो खुवाउने पानीघट्ट आज आफैं भोको छ। कुनै बेला पालो कुरिरहेका घट्टाला (पिठो पिस्न गएका मान्छे)हरूको लामो ताँती लाग्ने पानीघट्ट आज एक्लो छ। ऊबेला घडीको सेकेन्डको सुर्इं जस्तो व्यस्त घट्ट, आज महाला (ब्याट्री) सक्केको घडीको हालतमा छ।
आफ्नै लयमा बगिरहेको छ, ‘खोलगाड’ खोलो। मान्छेको जीवनको लय पनि यसरी नै बग्दो हो, नफर्किने गरी। फरक यति मात्रै हो, खोलगाड खोलाले अर्को खोला भेटाएपछि उनीहरू सागरसम्म सँगै बग्छन्। सँगै हिँड्छन्। दुःखसुख साझा गर्छन्। छुट्टिँदैनन्। कुनै दुई ओटा खोला आपसमा भेटिएपछि उनीहरूको सम्बन्धको डोरी झन् मजबुत भइदिन्छ।
तर आफ्नो जिन्दगी बाँच्दाबाँच्दै भेटिएका दुईजना मान्छे मसानघाटसम्म सँगै रहन्छन् भन्ने हुँदैन। उनीहरू छुट्टिन पनि सक्छन्। उनीहरूको ‘सम्बन्धको घर’ जतिखेर पनि भत्किन सक्छ। घमण्ड, लोभ र ईष्र्याको छेस्कोले मित्रताको वासलात जुनसुकै बेला पनि असन्तुलित भैदिन सक्छ।
गुलाबी घामका किरणले पूर्वको चन्किली डाँडाको हरियो कोखबाट धरतीमा हाम फाले। रात सकिएर दिनको घमण्ड सुरु भइसकेको थियो। उषाकालमा ‘मर्निङ वाक’ गरिरहेको धरती उज्यालोले सिञ्चित भयो। गैरीखेतको डिलमा वयस्क भटमासका बिरुवामा अडेस लाएर म, माइली बहिनी, भाइ र आमा बसेका छौं। खोलगाडको बगर छेउका साना चौरहरूमा शीतलबस्तीका गोठाला र उनीहरूका गाईबस्तु मुख मिठ्याइरहेका छन्। एक टकले गाईबस्तुका घाँणा (बस्तुभाउको घाँटीमा झुन्ड्याउने घण्टी) बजिरहेका छन्। सूर्यको राप र तापले धरतीबाट बाफ उडेर आकाशतिर गइरहेछ। मनमा प्रश्न उब्जियो– कति लामो र अप्ठेरो हुँदो हो बाफ हिँडेको बाटो ?
दल्लाको रुखमा एक जोडी ढुकुर चुच्चोमा चुच्चो र पखेटामा पखेटा जोडेर बसेका छन्। प्वाँखहरू हावाले हल्लाइरहेको छ। मानौं, उनीहरूको ‘भ्यालेन्टाइन डे’ आजै हो। शीतका थोपाहरू धानको पातमा लहरै उभिएका थिए। ‘माइसको (मानिसको) जुनी भन्न्ु पन धानका पातमी अड्क्याको शीतका थोपा जसो त हो। कैतक (कुन बेला) भुइँमा पोख्खिन्या (खस्ने) हो। कइकी (कसैलाई) ‘था नाई।’ खेतको डिलमा फुलेको हजारी फूल (सयपत्री) टिपेर कानमा सिउँरिदै आमा बोलिन्।
अर्को जुनीमा फूल भएर जन्मिएँ भने म त्यही फूल हुन चाहन्छु, जुन फूल मेरी आमाको कानमा छ। जसले आमालाई झन् सुन्दर देखाएको छ। खेतको डिलमा बसेर मनमनै यति कुरा सोचेर भ्याएँ। आमाको सुन्दरता देखेर डाह लाग्यो। साँच्चै कति राम्री मेरी आमा। मनको क्यानभासमा लोकबहादुर क्षेत्री र सावित्री शाहको पुरानो लोकगीत बज्यो (छम् छम् नाची देऊ निहुरेर, हातमा रूमाल कानमा फूल सिउरेर।)
शिवकी पार्वती प्यारी, रामचन्द्रकी सीता
देश भन्दो घरबारी होइजा, कर्म भन्दो बिता
खोलगाड खोलाको खोली किनारमा पिठ्यूँमा डोको बोकेर गोल्का (घाँसको प्रकार) काट्दै गरेकी एक घसारीले यो गीत गाइन्। खोला पारी गाएको गीतको मीठो स्वर खोला वारिसम्म गुञ्जियो। मान्छेलाई चाहिए जस्तो मान्छेको स्वरलाई खोला तर्न साँघु (काठेपुल) नचाहिँदो रहेछ। हाम्रा कान झन् ठाडा भैगए।
आयो जोवन फर्किन्या नाई, माया प्रिती लाइजा
पारिकी घसारी को होइ, आइजा बिँडी खाइजा
आमाले आफ्नो चोलीमा बाँधेको सुर्के थैली झिकिन्। सुर्के थैलीबाट बिँडी र सलाई झिकिन्। बिँडी सल्काएर एक सर्काे तानेर धुवाँ आकाशतिर फालिन्। बूूढीऔंला र चोरऔंलाको बीचमा बिँडी च्यापिन् अनि पारिकी घसारीलाई माथिको गीत फर्काइन् (धूमपान स्वास्थ्यका लागि हानिकारक छ)।
केही उचाइमा पुगेपछि आमाले उडाएको धुवाँ फाट्यो। धुवाँ हराउँदै हराउँदै गयो।
‘तपाईंका दुःखका शृंखला पनि यसैगरी फाटे हुने। यसैगरी हराए हुने है आमा ?’ मैले भनें। आमा मौन बसेर मुस्कुराइन्। एकैछिन पछि आमाले सल्काएको बिँडी निभ्यो। आधा शताब्दी उमेरको दैलो टेकेकी मेरी आमाका समस्या बिँडी निभे जस्तै कहिले निभ्लान् ? बढ्दो उमेर सँगै ढाड दुख्ने समस्या, धेरै सन्तान र कम जन्मान्तरले एउटी आमाको शरीरमा पार्ने असर, बढ्दो उमेरसँगै रजोनिवृत्तिले ल्याउने उतारचढावसँग आमा एक्लै ‘सिंगल म्यान आर्मी’ भएर जुधिरहनु भएको छ।
दिनको उमेर आधा भयो। बाआमाको उमेर जस्तो। ‘वरका जेठ परका कात्तिाक कोही फाल्तु हुँदाइन’ यो गाउँको उखान हो। यस उखानले भनेअनुसार जेठ र कात्तिकमा मान्छेहरू व्यस्त हुन्छन्। सबैका खेततिर चहलपहल उस्तै थियो। सरगको (आकाशको) एक कुनाबाट बादल उदाउँदै थियो।
आमाको सुर्के थैली झिकें। खोलेर हेरें। आधा पुडिया बिँडी, एक थान सलाई र गोली धागो (सिलाइको धागो) भेट्टाएँ। मैले आमालाई सोधें, ठिन्का छैन आमा ? कठै ! अब ठिन्का कसले पाड्छ ? न अब कोही ठिन्का बनाउँदा कोही, न पहिलाजसो झुल पाइँदो।
प्राचीनकालमा जुन बेला सलाई र लाइटरको विकास भएको थिएन वा सलाई र लाइटर गाउँको पहुँचमा पुगेको थिएन। त्यो बेला एउटा सानो फलामको बांगो टुक्रा र डौंसिल ढुंगा (एक प्रकारको सेतो ढुंगा) एकआपसमा घोटिन्थ्यो र त्यहाँबाट सानो आगोको झिल्को निस्कन्थ्यो। त्यही झिल्कोमा झुल (एक प्रकारको पोथ्राको पात र फललाई सुकाएर, माडेर बनाइएको कपास जस्तो चिज) सल्काइन्थ्यो। यसबाट बिँडी, चुरोट, तमाखु, हुक्का सल्काइन्थ्यो। त्यसपछि त्यो झुललाई अंगारमा राखेर, फुकेर आगो सल्काइन्थ्यो। यस प्रकारको जिनिसलाई ‘ठिन्का’ भनिन्छ। ठिन्कामा बलेको आगोबाट सिक्न सकिन्छ (क्रान्तिको झिल्को कहिल्यै सानो हुँदैन)।
समय र विकासको रिले दौडमा गाउँ पछिपछि हिँड्दै जाँदा त्यस्तो ‘जिनिस’ हिँड्दाहिँड्दै बीच बाटोमा छुट्यो कतै। हरायो कतै। घरघरमा अँगेनोअँगेनोमा सलाई र लाइटर पुगेपछि ठिन्का कुनै कुनामा थन्कियो होला। त्यसपछि गाउँले ठिन्का चिन्न छोड्यो। पछिल्लो पुस्ताले न ठिन्का चिन्यो, न ठिन्काले पछिल्लो पुस्तालाई नै चिन्यो। ठिन्कालाई कतै कतै ‘थोस्के’ पनि भन्ने चलन छ। अचेल ठिन्का बोकी हिँड्नेहरू कतै भेटिँदैनन्। लाइटर बोकी हिँड्नेहरू जताततै छन्।
ooo
यतिञ्जेल बुवा र भाइ मिलेर बोरो बनाइरहेका थिए। बोरो बाँधिरहेका थिए। धानको बोटबाट धान झार्न खेतमा बनाइने एक प्रकारको टेन्टलाई ‘बोरो’ भन्छन्। बोरो बनाउन करिब नौ ओटा लामा लठ्ठी चाहिन्छ। गाँजाको बोटलाई गाउँमा ‘भाँगो’ भन्दछन्। बारीबाट काटेर ल्याएको भाँगाको बोटलाई केही दिन पानीमा राखिन्छ। केही दिनपछि त्यसबाट रेसादार बोक्रा निकालिन्छ। त्यसपछि चर्खामा कातिन्छ अनि आगोमा पकाइन्छ। कुटिन्छ। त्यसपछि धागो बन्छ। यस्तो प्रकारको धागोलाई ‘सुर्तो’ भन्दछन्। यो धागोलाई ‘चाँद’मा बुनिन्छ। अनि चाहिएको सामग्री जस्तो मुड्या थैलो, दुन्यायो, बोल्ल्यो बनाइन्छ। पहिले पहिले गाउँमा त्रिपाल पुगेका थिएनन्। त्रिपालको काम दुन्यायोले गथ्र्यो। कतै ओछ्याउन परे दुन्यायो चाहिन्थ्यो। कतै बिस्कुन सुकाउन परे दुन्यायो चाहिन्थ्यो। गाउँको पूरा दुनियाँलाई उबेला दुन्यायोले कब्जा गरेको थियो। त्यसपछि गाउँमा सडक र बजार पुग्यो। सहरबाट सडकले त्रिपाल बोकेर गाउँ पु¥यायो। विस्तारै व्यस्त दुन्यायोले सदाका लागि आराम पायो। त्रिपालले काम पायो।
गाँजा खेतीमा थप कडाइ भयो। प्रशासनले गाँजा खेती गर्न दिएन। कतै खेती गरेको भेटिए प्रहरीले नष्ट गरिदिन्थे। प्रहरीले खेती मात्रै नष्ट गर्दैनथिए, उनीहरूले किसानका सपना र आशा पनि नष्ट गर्थे। गाँजा खेती हराएसँगै गाउँबाट ‘चाँद’ हरायो। चर्खा हरायो। पुरानो पुस्ताले पछिल्लो पुस्तालाई चाँद बुन्न सिकाएनन्। नयाँ पुस्ताले उस्तो सरोकार र चाँसो राखेनन्। मेरी हजुरआमाले आमालाई चाँद बुन्न सिकाइनन्। चाँद हराएपछि गाउँबाट दुन्यायो, बोल्ल्यो, मुड्या थैलो एक साथ हराए। बोरो बनाउँदा भुइँमा दुन्यायो ओछ्याइन्थ्यो। अचेल दुन्यायोको काम त्रिपालले गर्छ। दुई ओटा त्रिपालको चेप एकआपसमा बाँध्न पहिले पहिले सडोको (दुम्सीको) काँडा र प्वाँख प्रयोग हुन्थ्यो।
अचेल सडो हतपत पाइँदैन। नरहे बाँस, नबजे बाँसुरी भनेजस्तै सडो नपाइए पछि, काँडा पनि पाइँदैन। आजभोलि दुईटा त्रिपालको धार (चेप) बाँध्न सियो र धागो प्रयोग हुन्छ। माइली बहिनीले आमालाई सियो र धागो मागेर ल्याई। धागोको गुजुल्टोमा सियो नांगै थियो।
मैले आमालाई सोधें, ‘पोक (गिद्धको प्वाँख) पाइँदैन आमा ?’
‘नाइँ हो रे। अच्याल गडुल (गिद्ध) पाइँदैनन्। गडुल नपाइएपछि पोक काँबाटी आन्नु (कहाँबाट ल्याउनु) ?’
घाँटीको चाप्की (एक प्रकारको पोते) मिलाउँदै आमाले भनिन्। अचेल महिलाले चाप्की लाउन छोडे। महिलाको घाँटीबाट मात्रै हैन, चाप्की गाउँबाट पनि छुट्दैछ, स्टेसनमा रेलको यात्रु छुटे जस्तो।
बाले दुईटा त्रिपालको चेप बाँधे। मैले बालाई सोधें, ‘दुईटा त्रिपालको मन त सियो र धागोले सिलाउने। दुइटा मान्छेको मन केले सिलाउने ?’ बा मुसुक्क मुस्कुराए। बहिनी दाँत छोडेर हाँसी।
पहिले सियो यसरी नांगो राखिन्न थियो। गिद्धको प्वाँखलाई फेदभन्दा अलि माथि काटेर फालिन्थ्यो। अनि प्वाँखको डाँठभित्र सियो राखिन्थ्यो। यसरी सियो सुरक्षित हुन्थ्यो। यसरी राख्दा न हराउला भन्ने डर, न घोच्ला भन्ने पिर। समय जति छिटोछिटो दौडियो त्यति छिटो गिद्धहरू लोप हुँदै गए। अचेल गाउँमा गिद्ध छैनन्। गिद्धहरू सिंहदरबारतिर छन् क्यारे। गैरीखेतको आकाशमा गिद्ध उड्न छोडे। गिद्ध देखिन छोडे। उडे पनि फाट्टफुट्ट कहिलेकाहीँ देखिन्छन्।
बरु चुनाव ताका नेता बोकेर हेलिकप्टर उड्छन्। बिरामी पशु उपचार गर्दा प्रयोग गरिने रासायनिक औषधिको कारण गिद्ध मरे। मान्छेले गिद्धका प्राकृतिक बासस्थान मासे। पहिले सिनोलाई एकान्त खुला ठाउँमा फाल्दा गिद्धको आहार हुन्थ्यो। अचेल मान्छेले सिनो गाड्न थाले। यसरी प्रकृतिको सच्चा कुचिकार गिद्ध पनि हराउँदै हराउँदै गयो। कुचिकार नै हराएपछि प्रकृति झन्झन् फोहोर हुँदै गयो। गिद्ध हराएपछि ‘पोक’ हरायो। पोक हराएपछि सियो नांगो भयो। नव पुस्ताका लागि ‘प्वाँख र सियोको कथा’ एकादेशको कथा भयो।
०००
दिनको उमेर आधा भयो। बाआमाको उमेर जस्तो। ‘वरका जेठ परका कात्तिक कोही फाल्तु हुँदाइन’ यो गाउँको उखान हो। यस उखानले भनेअनुसार जेठ र कात्तिकमा मान्छेहरू व्यस्त हुन्छन्। सबैका खेततिर चहलपहल उस्तै थियो। सरगको (आकाशको) एक कुनाबाट बादल उदाउँदै थियो। यो दृश्य देखेपछि बादलसँगै बाआमाको मनमा चिन्ता उब्जियो। हामी सबैले आफ्नो कामको गति बडाओैं।
कान्छी बहिनी झोलामा तरकारी र रोटी, चुइँगमको एक बट्टामा पानी, अर्को बट्टामा मोही लिएर छिटोछिटो हामी भएतिर आई। उसलाई पनि हामीलाई जस्तै हतार हुँदो हो।
मैले फेरि आमालाई सोधें, ‘आमा हाम्रो घरमा भिर्को (ठेकी) छैन ?’
‘नाइँ। अच्याल भिर्को कोही बनाउँदाइन (बनाउँदैनन्)। भिर्को बनाउन जान्याका चदारा (विश्वकर्मा) बितिगया (बिते)। नयाँ छोराछोरी भिर्को बनाउन जान्दाइन (जान्दैनन्)। पहिलाका जसो गुराँस, ठैयार (ठेकी बनाउन चाहिने रुखको काठ) पाइँदाइन (पाइँदैनन्)। सबैका हाम्राई जसा चुइँगमका बट्टा छन्। त्यसमै छार्इं (मोही) हाल्दा।’
सिकर्मीले कानमा पेन्सिल च्यापेजस्तो आमाले कानमा बिँडी च्यापेर भनिन्। आमा बिँडीको अम्मली हुन्।
आमाले भने जस्तो ठेकी बनाउन जानेका कालिगड गाउँमा छैनन्। जानेकाहरू कोही बिते। कोही अन्यत्र बसाइँ सरे। जानेहरूले आफूसँगै जानेको कला पनि लगिगए। नयाँ पुस्ताले ठेकी बनाउन सिकेनन् वा सिक्न चाहेनन्। पहिलाको जस्तो ठेकी बिक्री हुन छोडे। गाईभैंसी पाल्ने किसानहरू घटेपछि, ठेकीको संख्या घट्यो। यसरी ठेकी पनि गाउँबाट लोप हुँदै गयो।
अचेल हरबखत ‘अब कस्तो घर बनाउने ?’ भन्ने कुराले हाम्रो घरमा बारम्बार प्रवेश पाउँछ। भूकम्पले घर चिराचिरा पारेको छ। २०३६ सालमा हजुरबाले बनाएको घर हो। यही पिरले घरजस्तै बाआमाको मन पनि चिराचिरा भएको छ। चर्किएको घरमा, चर्किएको मन लिएर बस्नु भनेको ‘पेट्रोलपम्पमा चुरोट सल्काउनुु जस्तै खतरा हुँदो रहेछ। भूकम्पले धेरैका घरमात्रै हैन मन पनि भत्किएका छन्।’ अब ‘घर कस्तो बनाउने’ भन्ने कुरामा भाइ, बा र मेरो मत मिलेन। नयाँ घर ढलानसहितको बनाउने कुरामा बा र भाइ सहमत थिए।
भूकम्प प्रतिरोधी तर पुरातन महत्त्वसहितको घर बनाउने पक्षमा म थिएँ। गाउँमा पुराना मोडेलका पडाले (स्लेटले) छाएका घर विस्तारै हराउँदैछन्। पहिला गाउँमा जस्तापाता पुगेका थिएनन्। सबै घर पडाले छाएका थिए। अचेल आधा गाउँ जस्तापाताले खाइसकेको छ। गाउँमा सिमेन्ट, बालुवा र रड पुगेपछि, ढुंगा माटो र काठ किनार लागे। सम्बन्धमा पनि आफ्नो स्वार्थ पूरा भएपछि मान्छे यसैगरी किनार लाग्दो हो। आधुनिक युगमा वर्तमानको हाँगो समाएर उभिँदा घरमात्रै हैन, सम्बन्ध पनि भूकम्प प्रतिरोधी हुन जरुरी छ।
०००
गैरीखेत दुई खोलाको बीचमा छ। गैरीखेत सकिएपछि दुईटा खोला, खोलगाड र सिन्दूरे एकआपसमा हात मिलाउँछन्। अंकमाल गर्छन्। उनीहरू एकअर्कामा समर्पित भई बग्छन्। प्रेमजोडीको भाषामा भन्दा ‘दुई मुटु एक’ हुन्छन्। तर उनीहरूका विशेषता छुट्टाछुट्टै छन्। सायद मान्छेको जीवनमा पनि यो कुरा लागू हुँदो हो।
दुई खोलाको बीचमा, गैरीखेतको मुन्तिर पुरानो पानीघट्ट छ। पानीघट्ट पनि के भन्न्ु ? केवल पानीघट्टको अस्थिपञ्जरमात्रै बाँकी छ। पानीघट्ट चलाउन दुवै खोलाबाट कुलो ल्याइएको छ। कुलाको मास्तिर (माथितिर) ठूलो आरो (एक प्रकारको जंगली फल) लटरम्म पाकेको छ। जुँडीगाने (जुरेली) र सैटाल्नाको (मैनाको) बथान पाकेको आरो खाइरहेका छन्। कराइरहेका छन्। चराको जातलाई जता गयो उतै रमाइलो।
पानीघट्टका भँगारा (घट्ट मालिक) ‘गिरी बूढा’ हुन्। उनी चार गाउँमा नाम चलेका गन्ने मान्ने मान्छे थिए। उनी पैसावाल थिए। धनवाल थिए। जग्गा जमिनवाल थिए। भन्नेहरूले गिरी बूढालाई यही पानीघट्टले ‘गिरी बूढा’ बनाइदिएको हो पनि भन्थे। उनीसँग पैसा भएकै कारणले होला, ‘गिरी बूढो पैसा राख्ने ठाउँ नपाएर माटोमुनि खाडल खनेर पैसा राख्छु भनेर गाउँलेहरू लख काट्थे। त्यो समय पनि बितेर गयो। बूढाको चर्चा बिस्तारै सेलाउँदै गयो। उनी बिस्तारै हराए। यो पंक्तिकारलाई कसैले सुनाएको छ ‘अचेल गिरी बूढाले दुईटा भैंसी पालेर आनन्दले बसेका छन्।’
जमानामा पानीघट्ट जवान थियो। आज ऊ बूढो भयो। गाउँभरिका मान्छेलाई मीठो मसिनो खुवाउने पानीघट्ट आज आफैं भोको छ। कुनै बेला पालो कुरिरहेका घट्टाला (पिठो पिस्न गएका मान्छे)हरूको लामो ताँती लाग्ने पानीघट्ट आज एक्लो छ। कुनै बेला मान्छेहरूको भीड जम्मा गर्ने पानीघट्ट आज सुनसान छ। घट्टभित्र मात्रै होइन, बाहिरसमेत बस्ने ठाउँ नपाइने पानीघट्ट आज खालीखाली छ। ऊबेला घडीको सेकेन्डको सुर्इं जस्तो व्यस्त घट्ट, आज महाला (ब्याट्री) सक्केको घडीको हालतमा छ। गर्भवती महिलालाई सातु पिसेर खुवाउने पानीघट्ट आज आफैं बाँझो हुन पुगेको छ। बूढापाकाहरू भन्थे, ‘समय सबैकी खानुु। आखिर समयको खेल न हो।’
पुराना दिनहरू सम्झेर म एकपल्ट ‘नोस्टाल्जिया’को भूगोलभित्र छिरें। हाम्रो खेतसँगै जोडिएको भएर होला यो पानीघट्ट बहुत प्रिय थियो। आउन जान सजिलो। अरू घट्टभन्दा नजिक पनि। दुईटा खोलाबाट पानी ल्याएका कारण हिउँदमा पनि बन्द हुँदैनथ्यो। मेरी आमा बरोबर गहुँ र कोदाको भारी बनाएर ‘आज पन (पनि) गिरी बूढाको घट्टबाटी पिनीकन (पिसेर) ल्याउनू है’ भन्थिन्। कैयौंपटक समयमै मेरो पालो नआएर अँधेरोमा घर पुगेको थिएँ।
कैयौंपटक छिटो पालो आएर घाम नडुब्दै घर आइपुगेको थिएँ। घाम डुब्छ। भोलि फेरि उदाउँछ। तर गिरी बूढाको पानीघट्ट सधैंका लागि डुब्यो। अहिलेको यो पंक्तिकार, उबेलाको नियमित घट्टालो चाहन्छ, त्यो घट्ट फेरि जवान होस्। फेरि हराभरा होस्। सडकसँगै गाउँमा बिजुलीबत्ती आयो। तीनचार ओटा मिल एकसाथ खुले। ‘पिठो पानीघट्टमा पिस्नुभन्दा मिलमा पिस्दा छिटो, छरितो र सजिलो हुँदोरहेछ’ भन्ने कुराले धेरैको दिमाग खुल्यो। खुलेका मिलहरूले धेरै पानीघट्ट निले। धैरैका पानीघट्ट उडाइदिए। धेरै भँगाराको रोजीरोटी खोसीदिए।
यसरी गाउँबाट हराउने चिजवस्तुको लामो सूचीमा पानीघट्ट पनि थपियो। विस्तारै पानीघट्ट पनि लोपोन्मुख बाटोमा उकालो हिँडिरहेछ। मिल खुलेपछि गाउँमा धेरै ओखलहरू बाँझा छन्। सालिक र मूर्तिजस्तो उनीहरू पनि एक्लै उभिएका छन्। तिनीहरू कहिलेकाहीँ मात्रै प्रयोगमा आउँछन्। अब गाउँमा जिताडो (जाँतो) एउटा परिवारसँग मात्रै छ। ओखल र जिताडोले पनि क्रमशः गाउँ छोड्दैछन्।
०००
विस्तारै सूर्य पश्चिमतिर धकेलियो। अब एक्कैछिनमा दिनको घमण्ड पनि सक्किजानेछ। बुवा र भाइले धान झारी सकेछन्। आमा आफ्नो नियमित कर्म, धानमा बतौन (धान र पोलाटो छुट्ट्याउने काम) लागिन्। शिरशिर हावाले भटमासका पात मज्जाले हल्लायो। बालककालमा फिरफिरे हल्लाएको झल्को मेटियो। पराल बोक्ने खेतालाहरूको ताँती लामो थियो।
आधा भरिएको धानको थैली काँधमा हाल्दै मनबहादुर दाइ हाम्रो खेतमा आइपुगे। सायद लामो बाटो हिँड्दाहिँड्दै दाइ भोकाएका थिए। आमाले रोटी खान दिइन्। मनबहादुर नाम जस्तै सबैको मन मनमा बसेका छन्।
मनबहादुर दाइ ‘बडाइँ’ गरिदिएबापतको धान लिन आएका हुन्। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ‘बडाइँ’ गर्ने पुरानो प्रचलन अझैं छ। असार महिनामा दमाहा बाजा बजाएर, टीका लगाएर रोपाइँको उद्घाटन गर्ने चलन छ। त्यसपछि मात्रै छुपुमा छुपुु लय मिलाएर हिलोमा धान रोपिन्छ। यस्तो चलनलाई बडाइँ गर्नुु भन्छन्। यसपालिको बडाइँ मनबहादुर दाइले गरेका रहेछन्। असारमा यसरी बडाइँ गरेबापत कात्तिकमा धान भित्र्याउँदा केही माना धान बडाइँ गर्ने मान्छेलाई दिने चलन छ।
पहिलेपहिले यो काम उनका बुवासँगै एकदुई जना अरूले गर्दै आएका थिए। कालले उनका बुवालाई सधैंका लागि खोसेर लग्यो। बुवाका केही साथी अन्यत्र बसाइँ सरे। केही भारततिर लागे। त्यसपछि यो काम एकल मनबहादुर दाइको काँधमा आयो। मनबहादुर छन् र त बडाइँ जीवित छ। उनले
डोगडी छोडेको दिन, डोगडीबाट ‘बडाइँ गर्ने चलन’ पनि सधैंका लागि उनका बुवा हराए जस्तै हराइ जानेछ। त्यसपछिको नयाँ पिँढी ‘बडाइँ’ कुन चराको नाउँ हो भन्ने अवस्थामा पुग्नेछन्।
आमाले मनबहादुर दाइलाई केही माना धान दिएपछि उनी खुसी हुँदै अर्को किसानको खेतमा पुगे। त्यहाँबाट पनि उनले धान लिनु थियो।
हाम्रो सबै काम सकियो। मुड्या थैलाभरि धान, दिनभरि थाकेको शरीर र नयाँ चामलको भात खाने रहर बोकेर हामी घर फर्कियौं। घर पुगेपछि बाले रेडियो बजाए। रेडियोमा गीत बज्दै थियो–
आग लागी स्याउलीका खात दौरा बल्दा दुनी
आज भोलि मुखै नबोल्दी, कैका कुणा सुनी।
गायक प्रकाश थापा र गायिका राधिका हमालले गाएको गीत हो, यो। गीतकार राजेन्द्र शाह बीपीका शब्द हुन्।