सामूहिक भोजमा भएको ‘फूड पोइजन’ ले लमजुङमा एकको मृत्यु, १८ जना अस्पताल भर्ना
बेसीसहर : लमजुङको सुन्दरबजार नगरपालिका- ८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ। फुड पोइजनका कारण सुन्दरबजार नगरपालिका - ९ बस्ने देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
सामूहिक भोजमा सहभागी भएकामध्ये १८ जना बिरामी परेका छन्। उनीहरू उपचारका लागि सुन्दरबजारस्थित एचडिसिएस नमूना सामूदायिक अस्पताल भर्ना भएका छन्।
सुन्दरबजार नगरपालिकाको वडा नं. ८ स्थित क्षेत्र बहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोजको आयोजना गरिएको थियो। भोज खाने ३५ जनामध्ये १८ जना फुड पोइजनका कारण अहिले अस्पताल भर्ना भइसकेको एचडिसिएस नमूना सामूदायिक अस्पतालले जनाएको छ।
शुक्रबार सामूहिक भोज खाएर घर गएका वडा नं. ८ र ९ का व्यक्तिहरु शनिबारदेखि बिरामी पर्न थालेका थिए। घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरु शनिबार बेलुका अस्पताल पुगेका थिए। भोजमा सहभागी व्यक्तिहरु आइतबार बिहानसम्म अस्पताल आइरहेका छन्।
अस्पताल आएका बिरामीहरुमा ज्वरो र झाडापखालाको समस्या देखिएको छ। भोजमा सहभागीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन्।