अर्जुनधाराले उचाल्यो झापा लिगको उपाधि
झापा : अर्जुनधारा नगरपालिकाले प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। भद्रपुर झापा गोल्डकपको आयोजनामा भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको फाइनल खेलमा उपाधिका दाबेदार मानिएका बद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो।
उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। उपविजेतामा सीमित बुद्धशान्तिले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। रंगशालामा भरिभराउ दर्शकबीच सम्पन्न खेलमा अर्जुनधाराले बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराएको हो।
खेल अवधिभर अर्जुनधाराले बुद्धशान्तिलाई दबाबमा राख्दै चल्न दिएको थिएन। अर्जुनधाराका लागि खेलको १५ औँ मिनेटमा शान्तिराम बस्नेत, ३० औँ मिनेटमा निखिल तामाङ र ५८ औँ मिनेटमा बादल तामाङले गोल गरेका थिए। फाइनल खेलको प्लेयर अफ द म्याच अर्जुनधाराका बादल तामाङ घोषित भए। उनले नगद २ हजार रुपैयाँ र ट्रफी पाए।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किपर अर्जुनधाराका अनुप तामाङ, उत्कृष्ट प्रशिक्षक अर्जुनधाराका पुष्प मादेन, उच्च गोलकर्ता बुद्धशान्तिका बबिन बाहोरा र उदीयमान खेलाडी भद्रपुर ब्लेजर्सका मौसम लिम्बू भए। उनीहरूले नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरे। प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी अर्जुनधाराका निखिल तामाङ भए। उनले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गरे।
फुटबलको उर्वर भूमि झापा जिल्ला पालिकाहरूबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको थियो।