मिसन ८४ देश बर्बादी हुनबाट जोगाउने महाअभियान हो : अध्यक्ष ओली
काभ्रे : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ मा देश बर्बाद हुन नदिन एमालेले महाअभियानको यात्रा सुरु गरेको बताएका छन्।
आइतबार काभ्रेको कुन्तावेशीमा आयोजित कार्यक्रममा ओलीले एमाले सरकार बाहिर गएपछि देश अस्थिरता र अराजकतातर्फ धकेलिएको आरोप लगाए। उनले युवाहरू स्वदेशमा बस्ने वातावरण नहुनुमा वर्तमान सरकारको गतिविधिको कारण भएको जिकिर गरे।
देशमा युवाशक्तिलाई टिकाउन उद्यमशीलता उन्नत कृषि, व्यवसायीकरण, विकासमुखी र प्रविधिको उच्चत्तम प्रविधिको प्रयोगले मात्रै सम्भव हुने बताए। ओलीले संकल्पको यात्रामा आएको स्थानीय जनसमुदायको मागपत्रमार्फत् आएको सबै कुरालाई बृहत् ढंगले छलफल गरी पूरा गर्नेतर्फ पार्टीपंक्ति लाग्ने बताए।
उनले एमालेसँग एक्लै लड्ने आँट भएको दल नरहेको र मिसन ८४ ले देश बर्बादीको दिशाबाट फर्किने विश्वास राख्न सबैलाई अपिल गरे। अभियानले सिंगै पार्टी परिचालित भएको र यसबाट राजनीतिप्रति जनताको वितृष्णा र विश्वास कम भएको उनको भनाइ छ।