सतबिउको धर्मशास्त्रीय महत्त्व

सतबिउको धर्मशास्त्रीय महत्त्व

पाशुपत क्षेत्रमा गरिने धेरै कार्यमध्ये सतबिउ छर्नु पनि एक प्रमुख हो। दिव्यलोकमा पितृको बास र उज्यालो होस् भनी सतबिउ छर्नुभन्दा अघिल्लो रात महादीप बाल्ने चलन छ। पशुपति आउन नसक्नेले सिन्धुलीको कुशेश्वर मन्दिरसहित १० जिल्लामा रहेका ६४ शिव ज्योतिर्लिंग वा अन्यान्य शिवालय, देवालय तथा शक्तिपीठमा पितृका नाममा बत्ती बाल्ने गर्छन्। जाग्राम बसी भोलिपल्ट बत्ती सेलाएर सतबिउ छर्ने गर्छन्। 

पुनर्जन्ममा विश्वास राख्ने पूर्वीय धर्म, संस्कृति प्राचीन, अर्वाचीन छ। हिन्दु संस्कृति र सभ्यताले दिवंगत पितृको अक्षय पुण्य प्राप्त गराउने विशेष पर्वअन्तर्गत बालाचतुर्दशी एक हो। सतबिउ र बालाचतुर्दशीबारे शास्त्रीय मान्यता यस्तो छ :
सुवर्णरतिकातुल्यं ब्रिहीमेकं परिक्षिपेत्। मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते।।

पुजयेत्पशुपं देवं गुह्येशीं परमेश्वरिम्। बासुकीं नागराजन्च तद्दिने परिपूजयेत्।।

अर्थात् पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै सतबिउ छर्नाले प्रत्येक दानामा एकरति सुवर्ण दानसरह हुनेछ। दिवंगत पितृले संसारमा भट्किनु नपर्ने हुन्छ। पशुपति, गुह्येश्वरीका साथै बासुकी नागको पूजा एवं दर्शन गर्नुपर्ने र यसो गर्नाले समस्त लोककै कल्याण हुने हुन्छ।

पाशुपत क्षेत्रस्थित लप्सीका रुख भएको श्लेष्मान्तक वनलाई पहिला बाला वन भनिन्थ्यो। जहाँ शैव धर्मावलम्बी अघोरी बाबाहरू बस्दथे। भनिन्छ कि त्रेता युगमा पुलस्त्य ब्राह्मणकुलका रावण, कुम्भकर्ण, शुर्पणखा पनि यहीँ बस्थे। उनीहरूले वाग्मती तट गोकर्ण क्षेत्रमा कडा तप गरे। पशुपतिनाथको ज्योतिर्लिंग उदय भएपछि शैवमार्गीहरू यस क्षेत्रमा धेरै भए। तीमध्ये एक नायक थिए बालानन्द। त्यतिबेला मसानघाटमा भोजभतेर खाने चलन रहेछ। एकदिन खानेकुरा खाँदाखाँदै घाटमा जलाउँदै गरेको एउटा लासको टाउको फुटेर गिदी उछिट्टिएछ। त्यो वस्तु बालानन्दको खानामा पर्न गएछ। तर, त्यो थाहा नपाई खाना खाएपछि उनको फूर्ति धेरै बढेको कथन पाइन्छ। 

उनले त्यसपछि घाटमा जलाउन ल्याएका सबैजसो लास तान्दै वनमा लग्दै खाँदै गर्न थालेछन्। यसो हुँदा हिन्दु धर्म परम्पराअनुसार काजक्रिया गर्न नपाउँदा सर्वसाधारणले ठूलै समस्या भोग्नु परेछ। अन्ततः त्यतिबेलाका राजा भुवनकेशरकहाँ जाहेरी परेछ। आसुरी प्रवृत्ति बढ्दै गएपछि त्यो बालानन्दको नाम बालासुर हुन पुगेछ। त्यहाँको वनलाई पनि बाला वन भनिन थालेछ। 

राजाले बालासुरलाई वध गर्न आदेश दिएछन्। तर, जो कोहीले उनलाई वध गर्न सक्ने थिएन। तसर्थ बालासुरकै पत्यारिलो साथी खोजी गर्दा वृषसिंह फेला परेछन्। वृषसिंहलाई बालासुरको वध गर्न भनिएछ। तर, उनी आफूमा सामथ्र्य नभएपछि शिवजीको कठोर तप गर्न लागेछन्। घुम्न आएका शिव दम्पतीले उनको कठोर तपबाट खुसी भई वरदान माग्न भनेछन्। उनले बालासुरलाई मार्न सक्ने वरदान मागेछन्। शिवजीले हुन्छ भने। तर, बालासुरलाई मारेपछि उनको शिर भने आफूलाई दिनुपर्ने सर्त राखे। 

वृषसिंह शक्ति सम्पन्न त भए। तर, मनमनै खिन्न थिए। साथीको हत्या ठूलो अपराध थियो। तैपनि बालासुरलाई नमारी नहुने भो भनेर उनले योजना बनाए। वृषसिंह एकदिन साथीलाई चिउरा, मदिरा, मासुका परिकार मनपर्ने ठानी भरियाका साथ घाटतिर जाँदै थिए। बालासुरले घाटमा लास जलाउन ल्याएको भन्ने ठानी लास खोस्न लागे। उनले त्यसबेला वृषसिंहलाई देखे। वृषसिंहले भने, ‘लामो समयपछि तपाईंलाई भेट्न आएको। खाली हात कसरी आऊँ भनेर केही खानेकुरा उपहार ल्याएको छु।’ 

बालासुर खानामा लोभी थियो। अघाउन्जेल उपहार खाना खायो। केही बेरपछि मदिराले मात्तिएर ढलपल गर्न लाग्यो। त्यही मौकामा वृषसिंहका भरियाले उनलाई डोरीले बाँधेर गहिरो इनारमा खसाले। त्यहीँ नै ढुंगामुढा गरेर मारिदिए। वृषसिंह साथीको टाउको लिएर राजाकहाँ पुगे। र, उनले भने, ‘यो टाउको शिवजीलाई नै अर्पण गर्नुपर्छ।’ राजाले हुन्छ भने। वृषसिंह टाउको लिएर पशुपति गए। शिवजी खुसी भएर वरदान माग भने। वृषसिंहले पछुतो मान्दै मित्रहत्याको अपराध नलागोस् भनी वरदान  मागे। शिवजीले भने, ‘त्यसो भए एउटा काम गर। यसको टाउको चाँदीको बनाऊ र उसलाई मारेको दिन पारेर मेरो शिरमा मुकुटको रूपमा राख।’

बालासुरलाई मारेको दिन मार्गकृष्ण चतुर्दशी रहेछ। त्यसैदिन पारेर पशुपतिमा चाँदीको मुकुट लगाइदिने चलन चल्यो। जुन अद्यापि छ। यस दिन चाँदीको मुकुट लगाइदिँदा र श्लेष्मान्तक क्षेत्र भ्रमण गर्दा सम्पूर्ण दिवंगत पितृको उद्धार हुन्छ भन्ने वरदान पनि मिल्यो। बाला वन जसलाई श्लेष्मान्तक वन भनिन्छ। त्यहाँ बालाकै नामबाट रहेको तिथि बाला चतुर्दशीमा जसले सतबिउ छर्छन् तिनका पितृको मुक्ति मिल्छ भन्ने तारतम्य मिलाइयो। सात पुस्तासम्मका पितृको मुक्तिका लागि आजसम्म पनि पशुपतिलाई चाँदीको मुकुट लगाइदिने चलन छ। 

मार्गकृष्ण चतुर्दशीमा ठूलो मेला लाग्ने र पशुपतिको विशेष दर्शन गर्ने चलन छ। सके सयथरी अन्नको बिउ, नसके सात थरी (धान, गहुँ, मकै, जौ, मुंगी, भटमास, बोडी) एकै ठाउँमा मिलाएर सतबिउ बनाउने÷छर्ने चलन छ। खासगरी उम्रने वस्तु आवश्यक हो। अहिले फलपूmल, उखुलगायत वस्तुका टुक्रा पनि राख्ने गरेको देखिन्छ। सतबिउलाई सद्मी भन्ने गरिन्छ। चतुर्दशीका दिन सतबिउ छर्दा र पशुपति, गुह्येश्वरी, बासुकी, मृगस्थली भ्रमण मात्र गर्दा पनि मानव जन्ममा जन्म–मरणको चक्र दूर हुन्छ भनी स्कन्द पुराण हिमवत् खण्ड मृगस्थली माहात्म्य एवं हेमाद्री संहिताहरूमा उल्लेख छ। सद्मी छर्ने प्रमुख स्थानमा विश्वरूप, किरातेश्वर, चौसठी क्षेत्र आदि मुख्य हुन्।

मृगस्थली नजिकै विश्वरूपा अगाडि बहिरा गणेश छन्। सद्मी छर्न जानेले तिनको मूर्ति हल्लाउँदै मूर्तिको कानमा ठूलो स्वरले कराउनुपर्छ। यसो गर्दा यमलोकमा रहेका मृतकका आफन्त सद्मी छर्न आएका छन् भनी ती गणेशले आफन्तका मृतकलाई खबर पुर्‍याइदिन्छन् भन्ने विश्वास छ। सद्मी छरेको अभिलेख राख्ने काम यी गणेशले गर्ने विश्वास छ। बाला चतुर्दशीकै दिन शिवले एकसिंगे मृग रूप लिएकाले यस दिन मृगस्थली पुग्ने र सतबिउ छर्नेहरू दीर्घजीवी र पुण्यात्मा हुने विश्वास गरिन्छ। 

पशुपति क्षेत्रमा हिजोआज हरेक दिन शारीरिक अभ्यास, योग, प्राणायाम र दिल बहलाउने काम भएको देखिन्छ। बन बुटेन, ताजा हावा, सफा वातावरणको कारणले पनि ज्येष्ठ नागरिक, रोगीसमेत त्यहाँ आवतजावत गर्ने गर्छन्। सँगै रहेको बागमतीको सफाइ, सतबिउपछिको फोहोर व्यवस्थापन भने चुनौतीको विषय बनेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.