लुम्बिनी प्रदेश सरकारको बेथितिविरुद्ध एमालेको ध्यानाकर्षण
बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई विभिन्न बेथितिको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएको छ।
सोमबार संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीको नेतृत्वमा पुगेको टोलीले मुख्यमन्त्रीलाई विभिन्न १३ वटा आरोपहरू लगाउँदै ध्यानाकर्षण गराएको हो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आरोपत्र बुझाइएको छ।
प्रदेशमा कांग्रेस–माओवादी गठबन्धन सरकारका कारण बेथिति, विसंगति र मनपरि बढेको भन्दै गम्भीर ध्यानाकर्षण जनाउँदै सरकारलाई प्रश्न सोधेर जवाफ माग गरेको एमालेले जनाएको छ।
वर्तमान सरकारका काम गराई र शैली अपारदर्शी र असन्तुलित रहेको भन्दै सर्बत्र गुनासो चुलिएको, प्रदेश मातहतका सेवा प्रवाह प्रभावकारी नहुँदा जनतामा निराशा र आक्रोस बढिरहेको, संघीयताको कार्यान्वयन भएसँगै गठन भएको लुम्बिनी प्रदेश सरकारले २०७४ सालमै लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन सकिने आधारहरु तय गर्दै तिनलाई कार्यान्वयन गर्ने चरण सुरु भइसकेको तर, सत्ता गठबन्धन फेरिएसंगै महत्वपूर्ण योजनाहरुलाई अलपत्र पार्ने काम भएको लगाएत आरोप एमालेले लगाएको छ।