सुन्तलामा औंसाको प्रकोप
बागलुङ : बागलुङका किसानले लगाएको सुन्तलामा औंसा किराको प्रकोप कारण उत्पादन घटेकोे छ । पाकेर टिप्ने बेला भएका सुन्तलामा औंसा किराले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् ।
सुन्तलाको पकेट क्षेत्र मानिएको बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकाको बिहुँ र जैमिनी नगरपालिकाको सर्कुवामा औंसा किराको संक्रमण बढ्दै गएको छ । पाक्नै लागेका र बजार पठाउन तयारीका सुन्तला बोटमै औंसा किराको संक्रमणले कुहिएर झर्न थालेपछि बागलुङका कृषकहरू समस्यामा परेका हुन् ।
बजेट अभावमा औंसा किराको संक्रमणलाई न्यूनीकरण गर्न नसक्दा पछिल्लो समय सुन्तला उत्पादनमा कमी आएको बागलुङ नगरपालिका–८ सिगानाका कृषक रामबहादुर खड्काले बताए । उनले यसपटक बिक्रीका लागि तयारी गरिरहँदा बगानमा मात्रै नौ प्लास्टिक सुन्तला औंसा किराको संक्रमणबाट झरेर संकलन गरकोे बताए । पछिल्लो समय बर्सेनि सुन्तला उत्पादनमा कमी आइरहेको कृषक खड्काले बताए ।
रोगले उत्पादन घट्दै गइरहेका बेला स्थानीय पालिकाले भने सुन्तला किसानलाई प्रदान गर्दै आएको अनुदान काटेको खड्काले बताए । ‘बर्सेनि सुन्तलामा औंसा किराको संक्रमण बढ्दै गइरहेको छ,’ कृषक खड्काले भने, ‘रोगको समस्या समाधान गर्नुपर्नेमा स्थानीय सरकारले कुनै चासो दिएको छैन । बागलुङ नगरपालिकाले सुन्तला किसानलाई प्रदान गर्दै आएको अनुदानसमेत काटेको छ ।’
कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जिल्लामा धेरै सुन्तला उत्पादन हुने क्षेत्रमा औंसा किराले समस्या दिन थालेको बताए । उनले यस वर्षदेखि औंसा किरा नियन्त्रणका लागि कार्यालयले बजेट विनियोजित गरेको बताए । ‘गत वर्ष बजेट अभावमा उपचार गर्न सम्भव भएन,’ अधिकृत पुनले भने, ‘चालू आर्थिक वर्षमा नियन्त्रणका लागि ६ लाख रुपैयाँ बजेट विनियोजित गरेका छौं ।’