पर्यटकले भरिभराउ होमस्टे

पर्यटकले भरिभराउ होमस्टे
होमस्टे सञ्चालन भएका घरहरू। तस्बिर : हरिबहादुर लम्जेल।
सुन्नुहोस्

धनकुटा : घुम्न आउने आन्तरिक पर्यटक बढेसँगै साँगुरीगढी गाउँपालिका– ५ डाँडाबजारमा सञ्चालित होमस्टे भरिभराउ भएका छन्। त्यस क्षेत्रबाट देखिने प्राकृतिक दृश्य तथा त्यहाँ रहेका रमणीय स्थानहरूका कारण आन्तरिक पर्यटकका लागि रोजाइको गन्तव्य बन्न थालेको हो। 

पछिल्लो समय डाँडाबजार क्षेत्रमा पर्यटकको चहलपहल बढ्दो छ। जसको कारण यहाँका होमस्टे आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको होमस्टे सञ्चालकहरूको संस्था डाँडाबजार सामुदायिक होमस्टेकी सचिव सुनिता लिम्बूले बताइन्। डाँडाबजार र यसको शिरमा रहेको ध्वजेडाँडामा गरी अहिले १३ घरपरिवारले होमस्टे सेवा सञ्चालन गरेका छन्। ती होमस्टेले एकै पटक एक सय जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता रहेको सचिव लिम्बूले बताइन्। उनका अनुसार डाँडाबजारमा सञ्चालित होमस्टे सेवा कतिपय घरपरिवारका लागि जीवन निर्वाहको माध्यम बनेको छ। यो सिजन होमस्टे सञ्चालन भएका घरहरू प्रायः खाली भएका छैनन्।   

वर्षभरिमा आन्तरिक पर्यटक दुई सिजन डाँडाबजारका होमस्टेमा आउने गर्छन्। पहिलो सिजन भनेको असोजदेखि मंसिर महिना हो। यो सिजनमा मौसम सफा र खुल्ला हुने गर्छ। अर्को सिजन भनेको चैत्रदेखि वैशाख महिना हो। यो सिजन तराई क्षेत्रमा गर्मी हुने भएकाले गर्मी छल्न आउने गर्छन्। डाँडाबजारको मौसम बाह्रैमास चिसो हुन्छ। चिसो मौसम डाँडाबजारको सम्पत्ति रहेको साँगुरीगढी गाउँपालिका– ५ का वडाध्यक्ष खड्ग लिम्बूको भनाइ छ। उनका अनुसार आसपासमा घुम्न लायक धेरै ठाउँ छन्। ध्वजेडाँडाबाट कुम्भकर्ण, मकालु हिमालजस्ता हिमशृंखला देख्न सकिन्छ। मौसम खुलेका वेला विश्वको सर्वोच्च हिमाल सगरमाथासमेत प्रस्ट देखिने स्थानीय छत्र याखा बताउँछन्। ध्वजेडाँडाबाट देखिने पूर्वी तराईका रमणीय फाँट पनि यो क्षेत्रको विशेषता हो। मौसम खुलेका बेला पूर्वी नेपालको १४ जिल्ला देख्न सकिने भनाइ छ। ध्वजेडाँडामा विभिन्न २२ देशको झण्डा राखिएका छन्। झण्डाले पनि पर्यटकलाई आकर्षित गराएको छ। 

त्यसैगरी, यो क्षेत्रबाट श्रीअन्तुको जस्तै सूर्याेदयको दृश्य अवलोकन गर्न सकिन्छ। ध्वजेडाँडामा हाइकिङ गर्नका लागि पनि पर्यटक आउने गर्छन्। लाप्चेटारमा रहेको अजंग वरको रुखले पनि डाँडाबजार घुम्न आउने पर्यटकलाई लोभ्याउने गरेको छ। यो रुखलाई दक्षिण एसियाको दोस्रो ठूलो रुख भनेर दाबी गरिएको छ। 

होमस्टेमा आउने पाहुनालाई स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुबाट तयार हुने परिकार बनाएर खुवाउने गरिएको छ। साँगुरीगढी गाउँपालिकाको सहयोगमा डाँडाबजारका होमस्टे सञ्चालकलाई छिमेकी देश भारतको सिक्किमका होमस्टेको अवलोकन भ्रमण गराएको थियो। उक्त अवलोकन भ्रमणले होमस्टे सञ्चालनको अनुभव आदानप्रदान भएको वडाध्यक्ष लिम्बूले बताए। सिक्किमका होमस्टेको अवलोकनपश्चात डाँडाबजारमा सञ्चालित होमस्टेमा धेरै परिवर्तन तथा सुधार भएको उनले बताए। विशेषगरी पाहुनालाई सत्कार गर्ने तरिका अन्य व्यवस्थापनमा परिवर्तन भएको उनी सुनाउँछन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.