काठमाडौं :भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाएको अभियोगमा नेपाल एयरलाइन्सका कर्मचारी र अध्यागमन कार्यालयका कर्मचारी पक्राउ परेका छन्। सर्वसाधारणलाई भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने गिरोहमा संलग्न भएको आरोपमा पाँचौं तहका अरबिन्द यादवलाई आज बिहान पक्राउ पक्राउ हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मिनभवनमा पत्रकार सम्मेलन गर्दै विमानस्थलमा कार्यरत छैटौं तहका होमनाथ पोखरेललाई हिजो र यादवलाई नियन्त्रणमा लिएको जानकारी गराएको छ। यसैगरी प्रहरीले अध्यागमन विभागका अधिकृत नरवीर खड्कालाई एजेन्टको सेटिङमार्फत पैसा लिदा लिदै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले जानकारी दिए।
भिजिट भिसामार्फत अन्य देश जान कम्तीमा १२ कक्षा उतिर्ण भएको प्रमाणपत्र र बैंकमा दुई लाख रुपैयाँ देखाउनुपर्ने भएकाले सोहि अनुसारको नक्कली कागजपत्र बनाउने गरेको पाइएको उनले बताए।
अध्यामन र नेपाल एयरलाइन्सका कर्मचारी पक्राउपरेसंगै अन्य केहि एयरलाइन्समाथि पनि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी ट्राभल्सका भक्तबहादुर थापा, एसिई कन्सल्टेन्सीका सञ्चालक अनिष अमात्य, प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक पशुपति मैनाली, एस. टु अबरोड कन्सल्टेन्सीका सञ्चालक सागर चापागाईं, एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई समेत यस अगाडि पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। उक्त प्रकरणमा हालसम्म ३२ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ
मानव तस्करीमा संलग्न भएको अभियोगमा उनीहरुमाथि अनुसन्धान जारी रहेको छ। भिजिट भिसामा प्रयोग भएका कागपत्र तथा भिसासमेत नक्कली रहेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शङ्कास्पद कागजपत्र र पासपोर्ट बरामद गरी अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेपछि प्रहरी टोलीले विशेष अप्रेसन अगाडि बढाएको हो ।