डेंगुको आक्रामक फैलावट

डेंगुको आक्रामक फैलावट

उच्च ज्वरो आउनु, टाउको र आँखाको गेडी दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, खान मन नलाग्नु तथा बान्ता हुनु, शरीरमा ससाना राता बिमिरा देखिनु यसका प्रारम्भिक र क्लासिकल लक्षण हुन्।

चिसो सुरु भइसकेको छ। तर, केही दिनअघिसम्म पनि डेंगु संक्रमित बिरामी अस्पताल आउने क्रम जारी थियो। यो रोगले गत वर्ष काठमाडौंमा महामारीको रूप लिएको थियो। यो वर्ष धरानलाई एपिसेन्टर बनाउँदै हजारौंलाई संक्रमित र कैयनलाई मृत्युवरण गर्नुपर्ने अवस्था निम्त्यायो। यी दुई फरक सहर तर एकपछि अर्को वर्ष देखिएको महामारी १९ वर्षे डेंगु इतिहासमा कडा स्वरूपमा प्रस्तुत भएको थियो।

सुरुमा केही वर्ष अन्तरालमा देखिने डेंगु पछि २–३ वर्षको अन्तराल हुँदै हाल बर्सेनिजसो देखिन थालेको छ। यति मात्र होइन जटिल स्वरूपमा परिवर्तित हुँदै आइरहेको देखिन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार पहिला केही जिल्लामा सीमित डेंगु भाइरस हाल लगभग सबै जिल्लामा पुष्टि भइसकेको छ। अर्थात् आगामी वर्षहरूमा थप विस्तारित, आक्रामक र निर्दयी बन्दै जाने निश्चितप्रायः देखिएको छ। 

भारतको चेन्नाईमा सन् १७८० मा डेंगुजस्तो लक्षण भएका बिरामी देखिएको भन्ने अनुसन्धान लेखहरूमा उल्लेख पाइन्छ। तर, डेंगु पुष्टि भने सन् १९६३–६४ मा भएको देखिन्छ। नेपाल–भारत लामो र खुला सिमाना भए पनि नेपालमा डेंगीजस्तो लक्षण भएका बिरामी सो समयतिर (सन् १७८० वा सन् १९६३–६४) देखिएका थिए÷थिएन भनेर कहीँ कतै उल्लेख पाइँदैन। तर, नेपालमा कार्यरत अनुसन्धानकर्तासँग भएको व्यक्तिगत कुराकानीका अनुसार सन् २००० अघि नै यो रोग देखिएको भन्ने बुझिन्छ। यद्यपि, त्यो बेला स्वास्थ्य मन्त्रालयका कर्मचारी भने विश्वस्त हुन नसकेको र त्यसको स्वतन्त्र पुष्टि गर्ने जाँगर चलाएको देखिएन। यो पंक्तिकार कार्यरत अस्पतालमा मेडिकल अधिकृतका रूपमा रहँदा श्रीलंका, बंगलादेशजस्ता देशमा डेंगुको प्रकोप फैलिएको बारेमा चिकित्सकहरूबीच छलफल भने हुने गर्दथ्यो।

त्यसपछि लगभग पहिलो एक दशक केही वर्षको अन्तरालमा डेंगु केही दर्जनमा संक्रमित हुने गरेको तथ्यांक देखिन्छ। ती प्रायः संक्रमितमा जटिलता भने देखिएको थिएन। तर, सन् २०१० मा पहिलो पटक ठूलो र आक्रामक रूपमा प्रस्तुत भएको लेखकको अनुभव छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक युवा संक्रमितको मृत्युसमेत भएको थियो। अस्पताल भरिभराउ भएकोमा अधिकांश बिरामी काठमाडौं बाहिरका थिए। मैले त्यही वर्ष पहिलो पटक काठमाडौंमा स्थानीय लामखुट्टेले टोकेर डेंगु संक्रमित भएको पुष्टिसहितको अनुसन्धान लेख प्रकाशन गरेको थिएँ। यसबाट डेंगुले २०१० मै आफ्नो उपस्थिति भौगोलिक रूपमा तराईबाट पहाडतिर सिफ्ट गरेको देखिन्छ। हाल हिमालतिर पनि डेंगु पुष्टि हुन थालेका समाचार आउन थालेका छन्। यसको पुष्टि गर्न थप अनुसन्धानको आवश्यकता हुन्छ।

सन् २०१० को महामारीपछि २०१९ मा डेंगुको प्रभाव अस्वाभाविक मानिन्छ। मनसुन भित्रिनुअघि नै लामखुट्टेको सक्रियता र डेंगुको व्यापकताले अनुसन्धानकर्ता तथा चिकित्सकसमेत अचम्मित भएका थिए। धरानमा सुरु भएको महामारी फैलँदै काठमाडौंको विशेषतः नयाँबजार (खुसिबु क्षेत्र)मा प्रभावित पारेको थियो। यो पंक्तिकारको पहलमा अस्पतालको इतिहासमै पहिलो पटक ‘फिवर क्लिनिक’ स्थापना गरी उपचार सेवा सुरु गरिएको थियो। सो समय अधिकांशमा लक्षण सामान्य देखिन्थ्यो। तर, डेंगुसम्बन्धी सही जानकारी कम तर भ्रम अधिक देखिएको अनुभव छ।

सन् २०१९ को डेंगु महामारीलगत्तै कोभिड–१९ लहरको उतारचढावमा डेंगु निष्क्रियप्रायः देखियो। तर, सन् २०२२ मा डेंगु भाइरस सबैभन्दा आक्रामक र निर्दयी रूपमा प्रस्तुत भयो। लेखकले बिरामीको यस्तो चाप अस्पतालमा कोभिड–१९ को लहरमा देखेको थियो। बिरामीमा दुखाइ यति असह्य हुन्थ्यो कि शत्रुलाई समेत यो रोग (डेंगु) नलागोस् भनेर कामना गर्दथे। आकस्मिक कक्ष छेउ बिरामी हेर्दै गर्दा दैनिक औसतमा एक दर्जन हाराहारी बेहोस लड्ने गरेको देखिन्थ्यो। अधिकांशमा रक्तस्रावको समस्या पाइन्थ्यो। बिरामीमा रक्तस्राव देखिनु अर्थात् ‘डेंगी हेमोरेजिक फिवर’ हुनु भनेको डेंगु जटिल अवस्थातिर गइरहेको भनेर बुझ्नुपर्दछ। यो अवस्थामा बिरामीले उपचार नपाए मृत्युसमेत हुन्छ। काठमाडौंमा देशकै धेरै र बढी सुविधासम्पन अस्पताल हुँदाहुँदै पनि डेंगुको कारणले सयौंको मृत्युवरण हुनुले पनि यो रोग बर्सेनि थप आक्रामक, कडा र निर्दयी बन्दै गइरहेको संकेतका रूपमा लिन सकिन्छ। 

यस वर्षको मनसुन सुरु भएलगत्तै धरानमा डेंगुले महामारीको रूप लियो। सन् २०१९ को तुलनामा बढी आक्रामक र निर्दयी भएर प्रस्तुत भएको देखियो। अस्पतालले बिरामीको चाप थेग्न नसकेर शय्या थप गरी उपचार गर्नुपरेको थियो। धेरैलाई डेंगुले जटिल अवस्थासम्म पुर्‍याएको थियो।

उच्च ज्वरो आउनु, टाउको र आँखाको गेडी दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, खान मन नलाग्नु तथा बान्ता हुनु, शरीरमा ससाना राता बिमिरा देखिनु यसका प्रारम्भिक र क्लासिकल लक्षण हुन्। सामान्यतया संक्रमित भएको ४ देखि १० दिनभित्र यस्ता लक्षण देखिन्छन्। अधिकांशमा ८–१० दिनमा यस्ता लक्षण हराउने र बिरामीले स्वास्थ्यलाभ गर्दै जाने हुन्छ। तर, केहीमा भने डेंगुले जटिल अवस्था निम्त्याउने गर्दछ। निरन्तर बान्ता हुने, पेट असाध्य दुख्ने, शरीरका विभिन्न भागबाट रगत बग्ने, छिटोछिटो सास फेर्ने, थकित हुने डेंगुका संकेत हुन्।

यस्ता समस्या गत साल काठमाडौं र यो वर्ष धरानका अधिकांश संक्रमितमा देखिएको थियो। यसरी बर्सेनि जटिल डेंगुको लहर देखिँदै गर्दा आगामी वर्षहरू थप चुनौतीपूर्ण देखिएकामा सायदै दुई मत होला। कोभिड–१९ को झल्को दिने जटिल डेंगुको बर्सेनि देखिने लहरलाई अझै हामीले नजरअन्दाज गर्ने हो भने आगामी वर्षहरूमा हुन सक्ने सम्भावित मानवीय क्षति रोक्न सकिने भने छैन।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.