ककनी गाउँपालिकाद्वारा भूकम्प पीडिलाई साढे १० लाख सहयोग
नुवाकोट : भूकम्प पीडितलाई नुवाकोटको ककनी गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ। ककनी गाउँपालिकाले एक महिना अगाडि गएको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई १० लाख ५१ हजार ३ सय ३४ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जन र प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङलगायतको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
अध्यक्ष तामाङका अनुसार गापा कर्मचारीहरुको तलव सुविधाबाट सो सहयोग गरिएको छ।
ककनी गाउँपालिकाको पहलमा जनप्रतिनिधिहरुले प्राप्त गर्ने दुई दिनको सेवा सुविधा, पालिकाको अधिकृतस्तरको कर्मचारीहरुको तर्फबाट दुई दिन र अन्य कर्मचारीहरुको एक दिनको तलब प्रदान गरिएको छ। यसका साथै गाउँपालिकाको कोषबाट ५ लाख रुपैयाँसमेत गरी सो रकम सङ्कलन गरी जम्मा गरी चेक हस्तान्तरण गरिएको हो।