प्रश्नपत्रमार्फत् धर्मको प्रचार गर्ने बुटवलको कान्ति माविलाई उपमहानगरले काट्यो पत्र
बुटवल : बुटवलको कान्ति माध्यमिक विद्यालयले धर्मको प्रचार गर्ने खालको प्रश्नपत्र सोधेको छ। विद्यालयले कक्षा ७ को दोस्रो त्रैमासिक परीक्षामा क्रिश्चियन धर्मको प्रचार गर्ने खालका प्रश्न सोधेको हो।
स्थानीय पाठ्यक्रमअन्तर्गतको 'हाम्रो बुटवल' विषयमा विद्यालयले इसाई धर्मका मात्रै पाँच वटा प्रश्न सोधिएको छ। अन्य धर्मका बारेमा भने कुनै प्रश्न सोधिएको छैन। धर्मको प्रचार गर्ने खालका प्रश्न सोधिएपछि विद्यालय विवादमा मुछिएको छ। विद्यालयका अनुसार कक्षा ७ को परीक्षामा २५० जना विद्यार्थी सहभागी छन् ।
एकमात्र धर्मलाई लक्षित गरेर विद्यार्थीलाई प्रश्न सोधिएको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले स्वीकार गरेका छन्। उनले नियतवस त्यस्तो नगरेको बताए।
पाठ्यक्रम निर्माण गर्दा विभिन्न धर्मका विषय समावेश भए पनि आफूहरूले प्रश्न पत्र तयार पार्दा एउटा धर्मलाई मात्र केन्द्रित भएकाले त्रुटि हुन गएको ज्ञवालीले स्पष्ट पारे।
इसाई धर्मको प्रचार लक्षित विद्यार्थीलाई सोधिएको प्रश्नप्रति बुटवल उपमहानगरपालिकाले विद्यालयलाई लिखित स्पष्टीकरण मागेको छ। ‘पाँच दिनभित्र लिखित जवाफ पेस गर्न विद्यालयलाई पत्र काटेका छौं,' उपमहानगरपालिकाका माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले भने, 'कार्यालय प्रमुखको निर्णयअनुसार विद्यालयलाई कारबाही हुन्छ।'
विद्यार्थी संख्याको आधारमा कान्ति मावी देशकै दोस्रो उत्कृष्ट विद्यालय हो।