चलु सखी हिलीमिली जनकके आँगन, दुलहा बनल श्रीराम हे...
जनकपुरधाम :
‘चलु सखी हिलीमिली जनकके आँगन,
दुलहा बनल श्रीराम हे....’
‘हिँड साथी मिलीजुली जनकको आँगन, बेहुला बने श्रीराम,’ यही गीतले गुञ्जयमान छ, जनकपुरधाम। जहाँ भइरहेको छ– राम र सीताको विवाह। छोरीको विवाहमा माइतीलाई जति चटारो हुन्छ, त्योभन्दा कम व्यस्त छैनन्– जानकी मन्दिरका महन्थ र पुजारी। झिसमिसेदेखि मध्यरातसम्मै उनीहरू काममा खटिरहेका छन, विवाहपञ्चमी कसरी सभ्य र भव्य बनाउने भनेर। जानकी मन्दिरको सरसफाइदेखि, मण्डप बनाउने, बत्तीको बन्दोबस्त गर्ने जन्तीको व्यवस्थापनका कामले एक मिनेट पनि फुर्सद छैन, उनीहरूलाई। माइती पक्षका जनकपुरवासी सबै विवाह पञ्चमीका लागि रातदिन सक्रिय छन्। छिमेकी भारत र अरू देशबाट पाहुना आइसकेका छन्। पाहुनाले घरघर भरिइसकेका छन्। आइतबार वैवाहिक कार्यक्रम सम्पन्न गरेर पाहुनालाई बिदाइ गर्नुपर्ने चटारो छ।
भ्गवान्लाई नै ज्वाइँ बनाएको धार्मिक नगरी जनकपुरधाममा रामसीताको वैवाहिक वर्षगाँठ अर्थात् रामजानकी विवाहपञ्चमी महोत्सवको भव्य तयारी भइरहेको छ।
झिलीमिली बत्ती, सुन्दर फूल र आकर्षक सजावटले दुलहीझैं बनेको जानकी मन्दिरको प्रांगणमा भव्य पण्डाल.... लगाई विवाहको मण्डप बनाउने काम भइरहेको छ। त्रेतायुगमा भगवान् राम र सीताको विवाहलाई स्मरण गर्दै वैवाहिक कार्यक्रम आइतबार हुँदैछ।
नेपालकी राजकुमारी सीता र भारतको अयोध्याका राजकुमार रामबीच त्रेता युगमा भएको उक्त विवाह नेपाल–भारतबीचको सांस्कृतिक सेतुको पर्याय बनेको छ।
यस सम्बन्धको साक्षी बन्न प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा सहभागी हुन लाखौं भारतीय तथा विदेशी पर्यटकहरू जनकपुर आइपुग्छन्। पाहुनाहरूको स्वागत– सत्कारका लागि सम्पूर्ण जनकपुरवासीहरू उत्तिकै खटेका छन्।
त्रेता युगदेखिको सांस्कृतिक सम्बन्ध
त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो। त्यसैको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन वैवाहिक वर्षगाँठ मनाइन्छ। पाँच सय वर्षदेखि यो परम्पराले निरन्तरता पाइरहेको जानकारहरू बताउँछन्।
त्रेतायुगमा सीता र रामको विवाह जानकी मन्दिरमा भएको थियो। त्यही पर्वको परम्पराले निरन्तरता पाइरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास बताउँछन्। छोरी सीताको विवाहका लागि पिता जनकले शिवको धनुषमा ताँदो चढाउने प्रतिस्पर्धासहितको स्वयंवर आयोजना गरेका थिए। अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको थियो। रामले विवाहको सर्त जितेको हुनाले उनलाई सीताले वरमाला लगाइदिएकी थिइन्।
‘पाँच सय वर्ष पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौं’ महन्थ रामरोशनदास भन्छन्– पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रूपमा आउनेहरूलाई जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे। २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो।,’ अयोध्याबाट जन्ती ल्याउनका लागि दुई देशका सरकार र तत्कालीन विश्व हिन्दु परिषद्का अशोक सिंघलले पहल गरेको महन्थ बताउँछन्। पहिलो पटक चार–पाँच सय जन्ती गाडीमा आएका थिए। रामायणमा जुन बाटोबाट जन्ती गएको उल्लेख थियो, त्यही बाटो भएर जनकपुरबाट जन्ती आएका थिए। त्यसयता हरेक पाँच वर्षमा औपचारिक रूपमा जन्ती ल्याउने गरिएको छ।
मैथिल समुदायमा विवाहमा हुने विधिविधान विवाहपञ्चमी महोत्सवअन्तर्गत गरिन्छ। सोही कारणले यो महोत्सवलाई साताव्यापी मनाइन्छ।
पहिलो दिन
मंसिर २६ गते यस वर्ष महोत्सव सुरु भयो। पहिलो दिन नगर दर्शन कार्यक्रम गरिएको थियो। त्रेता युगमा भगवान् राम आफ्ना भाइहरूका साथ जनकपुर आउँदा नगर क्षेत्रको अवलोकन गरेका थिए। रामायणमा उल्लेखित सोही क्षणहरूको स्मरण गर्दै विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन झाँकीको आयोजना गर्ने गरिन्छ। जसमा राम, लक्ष्मण र उनका भाइहरूको प्रतीकस्वरूप स–साना बालबालिकालाई सजाएर नगरमा घुमाउने गरिन्छ।
दोस्रो दिन
महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाइएको थियो। भगवान् राम जनकपुरमा घुम्ने क्रममा पुष्प वाटिकामा छिरेका थिए, जहाँ सीता पनि आफ्नी बहिनी र साथीहरूसँग घुम्न निस्केकी थिइन्। राम र सीताको पहिलो भेट सोही वाटिकामा भएको स्मरणमा फूलबारी लीला मनाउने गरिन्छ।
तेस्रो दिन
महोत्सवको तेस्रो दिन बिहीबार धनुष यज्ञको आयोजना गरियो। सीताको विवाहका लागि बुवा जनकले सर्त राखेका थिए। उनले भगवान् शिवको धनुष जसले उचालेर त्यसमा प्रत्यन्चा चढाउन सक्छ, उसैसँग छोरी सीताको विवाह गरिदिने सर्त राखेका थिए। उक्त सर्तसहित जनकले धनुष यज्ञको आयोजना गरे। सो यज्ञमा ठूलठूला पराक्रमी राजा, महाराजा र वीर पुरुषहरू सहभागी भए। तर, कसैले पनि जनकको सर्त पूरा गर्न सकेनन्। शिवको धनुष उचाल्न त परै जाओस्, हल्लाउन पनि सकेनन्। तर, रामले भने सहजै धनुषलाई उचाले र भाँचिदिए। जनकको सर्त पूरा गरेपछि सीताको पतिका रूपमा चुनिए, राम। सोही प्रसंगलाई जीवन्त बनाउन धनुष यज्ञको आयोजना गर्ने गरिन्छ।
चौथो दिन
महोत्सवको चौथो दिनमा विशेष कार्यक्रम हुन्छ– तिलकोत्सव। रामले स्वयंम्बरको सर्त पूरा गरेपछि राजा जनक र अयोध्याका राजा दशरथबीच छोराछोरीको विवाहको मिति तय गर्न भेटघाट गरिन्छ। जसलाई तिलकोत्सव समारोह भनिन्छ। यस समारोहमा सीताको अभिभावकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र रामको अभिभावकको रूपमा राम मन्दिरका महन्थ राम गिरीको सहभागिता भव्य समारोहबीच हुन्छ। तिलकोत्सव कार्यक्रमका लागि जानकी मन्दिरबाट राम मन्दिरमा थरीथरीका मिठाई, फलफूल र कोसेलीहरू (भार) पठाउने चलन छ। तिलकोत्सव कार्यक्रममै सम्धी भेटघाट हुने गर्छ। यो कार्यक्रमलाई स्थानीय युवा क्लबहरूले विशेष रूपमा आयोजन गरी भव्य बनाउने गर्छन्।
पाँचौं दिन
महोत्सवको पाँचौं दिन मटकोर हुन्छ। पवित्र गंगासागर पोखरीबाट माटो खनेर ल्याएपछि सोही माटोले विवाहको मडवा (मण्डप) लिप्ने विधिलाई मटकोर भनिन्छ। मटकोर कार्यक्रम गर्न जानकी मन्दिरबाट सीताको सवारी निस्केपछि त्यसलाई लाखौं श्रद्धालुहरूले गीत गाउँदै र नृत्य गर्दै आशीर्वाद दिने गर्छन्।
छैटौं दिन
साताव्यापी मनाइने विवाह पञ्चमीको छैटौं दिन विशेष हुन्छ। आइतबार जानकी मन्दिरबाट निस्कने माता सीताको डोली र राममन्दिरबाट निस्कने भगवान् रामको डोली ऐतिहासिक बाह्बिघा मैदानमा परिक्रमा गराएर लाखौं श्रद्धालुहरू र अयोध्याबाट आएका साधुसन्तको जन्तीको अगाडि स्वयम्बर गराइन्छ। स्वयम्बरपश्चात् डोलीहरू मन्दिर फर्किन्छन् र साँझबाट जानकी मन्दिरको परिसरमा बनाइएको भव्य मडवामा वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ।
सातौं दिन
महोत्सवको अन्तिम दिन रामकलेवा हुन्छ। रामकलेवामा अयोध्याबाट विवाहमा सहभागी हुन आएका साधुसन्तहरू र सहभागी सबै श्रद्धालुहरूलाई जानकी मन्दिरको तर्फबाट भोजको आयोजना गरिन्छ। भोजपछि साधुसन्तलाई कोसेली दिँदै बिदाइ गरिन्छ। यसरी विवाहपञ्चमी सम्पन्न हुन्छ।
सुरक्षाका लागि विशेष बन्दोबस्त
लाखौं श्रद्धालुहरूको सहभागिता रहने महोत्सवमा शान्ति सुरक्षाको व्यवस्थापनलाई पनि विशेष ध्यान दिइएको छ। महोत्सव अवधिभरि सुरक्षा व्यवस्था सुदृढ बनाउन सीसीटीभी र ड्रोन क्यामराहरूबाट सहरका विभिन्न क्षेत्रहरूमा निगरानी गरिने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख मित्रबन्धु शर्माले बताएका छन्। विगतका वर्षहरूमा महोत्सवमा भीडभाडको मौका पारेर लुटपाट र चोरीका घटनाहरू हुँदै आएकोले यस वर्ष त्यस्ता आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न सक्दो लागिपरेको शर्माले बताए।
अत्यधिक संख्यामा श्रद्धालुहरूको भीड लाग्ने र यस्तोमा चोरी र पकेटमारका घटनाहरूको बढ्दो सम्भावना रहेकाले जानकी मन्दिरदेखि बाह्बिघा मैदानसम्म सीसीटीभी जडान गरी निगरानी थालिएको छ। बाह्विघा मैदानमा ड्रोनको निगरानी रहने प्रहरी प्रमुख शर्माले जानकारी दिए। सादा पोसाकमा महिला र पुरुष प्रहरीहरू अत्यधिक संख्यामा परिचालन गरिएको पनि उनले बताए। त्यसैगरी शिवचोक, गंगासागर, जनकचोक, जानकीचोक, रामचोक, जानकी मन्दिर, सोरनपट्टी, महावीरचोक, रामानन्दचोक अस्पताल रोड, यात्री निवास, संकटमोचनलगायतका बढी भीडभाड हुने स्थानहरूमा प्रहरीको निगरानी थप गरिएको छ। त्यसैगरी सुरक्षालाई ध्यानमा राख्दै मेलामा आउने भक्तजनहरूलाई गरगहना र नगद बोकेर नआउनसमेत प्रहरी प्रशासनले अपिल गरेको छ।
महोत्सव अवधिभर मासु मदिरा निषेध
विवाहपञ्चमी महोत्सव धार्मिक र सांस्कृतिक परम्परा भएकाले अधिकांश साधुसन्तहरू यो महोत्सवमा आउने गर्छन्। महोत्सवका बेला स्थानीय प्रशासनले जनकपुरसहित सीमा क्षेत्रमा पशुंपक्षी काट्न, माछा, मासु बिक्रीवितरण तथा मदिरा बेचबिखनमा निषेध गरेको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारीले अपिल जारी गर्दै महोत्सव अवधिभर (२८ मंसिरदेखि पुस १ गते) सम्म नगर क्षेत्रमा माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको जनाएका छन्। कसैले निषेधित गतिविधि गरे कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
मेला व्यवस्थापनमा चुकेको प्रदेश र स्थानीय सरकार
जनकपुरमा हुने सम्पूर्ण धार्मिक महोत्सवहरूमध्ये सबैभन्दा बढी श्रद्धालु आउने र निकै बढी भीडभाड हुने विवाहपञ्चमी महोत्सवको व्यवस्थापनमा मधेस प्रदेश र स्थानीय तहका सरकार चुकेको स्थानीयवासीहरूको आरोप छ।
‘यस महोत्सवले जनकपुरलाई विश्वमाझ चिनाउन सक्छ। यो धार्मिक मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि निकै महŒवपूर्ण छ तर, यसमा जुन किसिमको व्यवस्थापन हुनुपथ्र्यो त्यो गर्न स्थानीय र प्रदेश सरकारले ध्यान दिन सकेका छैनन,’ जनकपुरका युवा अगुवा अरुण झा भन्छन्, ‘लाखौं श्रद्धालुहरू आउने भएपछि उनीहरूका लागि बासस्थान, खानेपानी र शौचालयको पर्याप्त व्यवस्थापन हुनु आवश्यक हुन्छ। नगर क्षेत्रमा ठाउँठाउँमा त्यस्तो व्यवस्थापन हुनुपथ्र्यो तर, त्यो हुन सकेको छैन। नगर प्रमुख भने अन्य कार्यहरूमा व्यस्त छन्। प्रत्येक वर्ष शौचालय र खानेपानीको समस्याले श्रद्धालुहरूलाई पिरोल्ने गरे पनि यसको उचित व्यवस्थापनतर्फ कसैको ध्यान जान सकेको छैन।’
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह भने आफूले मेलामा आउने श्रद्धालुहरूको लागि खानेपानी र शौचालयको सक्दो व्यवस्थापन गर्न प्रयास गरेको दाबी गर्छन्। ‘जानकी मन्दिरको प्रांगणमा आएर यदि कोही सुत्छ र फोटो खिचेर सामाजिक सञ्जालमा राखेर बासको व्यवस्थापन छैन भनी आरोप लगाउँछ भने त्यसको जिम्मेवार म होइन,’ उनी भन्छन्, ‘नगर क्षेत्रका विभिन्न सामुदायिक र निजी विद्यालयसँग समन्वय गरी विद्यालयमा बासको बन्दोबस्त गरेका छौं। शौचालय, बिजुली र खानेपानीको पनि पर्याप्त व्यवस्था गरेका छौं।’ यसका लागि २५ वटा संघसंस्थाहरूसँग समन्वय भइरहेको जानकारी दिँदै उनले भने, ‘भक्तजनहरूका लागि खाना र बासको व्यवस्था गर्ने प्रतिबद्धता विभिन्न संघसंस्थाले गरेका छन्। सक्दो व्यवस्थापनको प्रयास भइरहेको छ।’
वैवाहिक संस्कारको प्रसार
सांस्कृतिक रूपमा निकै समृद्ध रहेको मिथिलामा वैवाहिक संस्कारलाई प्रसार गर्न यो महोत्सव निकै महŒवपूर्ण रहेको संस्कृतिविद् धीरेन्द्र प्रेमर्षि बताउँछन्। ‘रामजानकीको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने यस महोत्सवले मैथिल विवाह परम्परालाई विश्वमाझ प्रसार गर्छ। हुन त पछिल्लो समय मैथिल विवाह परम्परा न्यूनीकरण हँुदै गइरहेको छ। यसमा अन्य सभ्यताहरू हाबी भइरहेका छन्। तर, यस महोत्सवको माध्यमबाट मिथिलाको परम्परालाई जोगाउने जुन प्रयास हुन्छ त्यो निकैै महŒवपूर्ण हो’, प्रेमर्षि भन्छन्, ‘आयातित संस्कृतिलाई टक्कर दिने अर्थमा पनि यो समारोहलाई लिन सकिन्छ।
पारम्परिक संस्कृतिको निवर्हन र प्रदर्शन गरिने हुनाले यो महोत्सवले निकै ठूलो सन्देशको प्रसार गर्छ। त्यसैगरी यस क्षेत्रको पर्यटनका लागि पनि विवाहपञ्चमी महोत्सव निकै ठूलो अवसर बनेको छ। भारतको अयोध्या र सम्पूर्ण भारतबाट नै श्रद्धालुहरू निकै बढी संख्यामा नेपाल आउनु र नेपालकै घरेलु पर्यटकहरू पनि जनकपुर पुगेपछि यसले एउटा धार्मिक पर्यटनको अवसर सिर्जना गर्छ। जनकपुरको विकास र आर्थिक समृद्धिका लागि यो महŒवपूर्ण पक्ष हो। तर, जुन हिसाबले यसलाई प्रवद्र्धन गर्नुपथ्र्याे र जसरी यस महोत्सवलाई अझ बढी भव्यता प्रदान गर्न अहिलेका स्थानीय सरकार र प्रदेश सरकारहरूले तदारुकता देखाउनु पथ्र्यो त्यो देखाउन सकेका छैनन् जस्तो मलाई लाग्छ।’
जनसम्बन्धको प्रतीक पनि हो यो। त्यसैले त जनकपुर अहिले झकिझकाउ छ, लाखौं मानिसले भरिभराउ छ।