गर्भमा गर्व गर्ने उत्कृष्ट उपाय
मातृमृत्यु किन हुन्छ र आङ किन खस्छ आदिजस्ता महिलाका विभिन्न प्रकारका समस्यालाई डा. बालकृष्ण साहले कथामार्फत सम्बोधन गरेका छन्। चिकित्सक उनले पहिलो साहित्यिक कृति लेख्दा पनि कथा यो विधामा चेतना, शिक्षा र ज्ञानको अभिवृद्धिमा समेत यथेष्ट ध्यान दिएको पाइन्छ।
महिला यसै पनि अन्तर्मुखी स्वभावका हुन्छन्। प्रजनन अंगको समस्या भेगिरहेका उनीहरू खुलेर आफ्ना प्रजनन अंगसँग सम्बन्धित समस्याहरू अरूलाई भन्न सक्दैनन्। बरु समस्या लुकाएर छटपटीमा बाँचिरहन्छन्। पूर्वीय दर्शनबाट दीक्षित नेपाली समाजमा यौनका कुरा गर्न हिच्किचाउनु स्वाभाविक लाग्छ पनि। सहरमै यो अवस्था अझै धेरैमा छ भने दूरदराजमा बस्ने महिलाको अवस्था कस्तो होला ? सहरदेखि गाउँसम्म प्रजनन स्वास्थ्यसेवा प्रदान गर्दै आएका डा. बालकृष्ण साहले यस्तै अवस्थालाई चिर्न लेखेको पुस्तक हो, ‘गर्भको गर्व’।
प्राचीनकालमा युरोपका ग्रिसको एथेन्स, स्पार्टा, रोम र इजिप्टलगायत देशमा पुरुष र महिलाले अनिवार्य रूपमा सैनिक तालिम लिनुपथ्र्यो। त्यसपछि पुरुष सैंनिकमा भर्ती हुने र महिला घर फर्किएर सन्तान उत्पादन गर्ने काममा लाग्थे। महिलालाई अनिवार्य सैनिक तालिम दिनुको एकमात्र उद्देश्य थियो, स्वस्थ्य बच्चाको जन्म। स्वस्थ्य आमाबाट मात्र स्वस्थ्य बच्चाको जन्म हुन्छ भन्ने बुझाइ यसको आधार थियो। यदि अपांगता वा अशक्तता भएको अस्वस्थ्य बच्चा जन्मियो भने राज्य र परिवारका लागि बोझ हुन्छ भन्ने तिनको धारणा थियो। त्यसैले उनीहरूले रोग लाग्नुअघि उपचार खोज्थे। नेपालमा यो अवस्था छैन र हरेक परिवारले सानो–ठूलो दुःखझमेला व्यहोरेकै छन्। सम्भवतः यसतर्फ डा. साहको ध्यान पुगेको हुनुपर्छ।
मानवको उत्पत्ति भएको लामो समय भयो। तर विवाहको प्रचलन करिब साढे आठ हजार वर्ष अघिमात्र भएको पाइन्छ। विवाहपछि मात्र सन्तानको जन्म हुनुपर्छ भन्ने मान्यता पुरानै हो। सन्तानलाई जन्म दिँदा लाखौं आमाले अकालमा मृत्युवरण गर्नु परेको छ। अझ नेपाल जस्तो भौगोलिक विकटता, स्वास्थ्य सेवाको पहुँचमा कमी, चेतनाको अभाव आदिजस्ता कुराले धेरै आमा र नवजात शिशुले ज्यान गुमाउनु परिरहेकै छ। यी सबै सन्दर्भ विविध कारणले भए पनि गर्भ बोक्ने कुरा महिलाका लागि गौरवको विषय हो। पुनरुत्पादन क्षमता महिलामा मात्र हुन्छ। अर्थात् सन्तान जन्माउने क्षमता प्रकृतिले मात्र महिलालाई दिएको छ। नौ महिनासम्म महिलाले पेटमा बच्चा बोक्नु पर्छ। अनेक प्रकारका स्वास्थ्य जटिलता सामना गर्नुपर्छ। कैयौं पीडा र बेदना सहँदै शिशुलाई जन्म दिनुपर्छ। जस्तोसुकै ठूलो ओहोदा र पद प्रतिष्ठा प्राप्त गरे पनि उनले बच्चा जन्माउनै पर्छ। त्यसैले यी सबैका लागि डा. साहको ‘गर्भको गर्व’ पुस्तक सान्दर्भिक छ।
रजस्वलादेखि गर्भधारण हुँदै सन्तान जन्माउने अवस्थासम्मका चरणहरूमा आइपर्ने स्वास्थ्य जटिलताबाट जोगिने उपाय पुस्तकमा छन्। हो, महिलाजन्य विविध समस्याको व्यावहारिक र वस्तुपरक यथार्थमा आधारिक कथाहरूको संग्रह नै ‘गर्भको गर्व’ हो। लामो समय स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुनुको नाताले बालकृष्ण साहले दैनिक व्यावसायिक जीवनमा देखे, भोगेका र समाधान गरेका कैयौं वास्तविकतालाई कलात्मक रूपमा कथानक बनाई जनसमक्ष कथाका माध्यमले प्रस्तुत गरेका छन्। सम्भवतः यस्तो विषयमा साहित्यिक विधा प्रयोग गरेर लेखिएको यो पहिलो प्रयोग हो। महिला हुनुको नाताले जीवनभर के कस्ता समस्यासँग जुध्नुपर्छ भन्ने यावत् यथार्थ चिकित्सक कथाकार बनेर उनेको माला हो, गर्भको गर्व। जसमा ९ वटा कथा समेटिएका छन्। हरेक कथामा बेग्लाबेग्लै सन्दर्भ, भोगाइ र सन्देश पाइन्छ। कथा पढ्दा भावुक अनि उत्साहित दुवै हुन्छ पाठक। कहिले त कुव्यवस्थाका कारण महिलाले भोगेका पीडाबोधले आक्रोशित पनि बनाउँछ। यस अर्थले चिकित्सकमा कथाकारको क्षमता स्पष्ट देखिन्छ।
विदेशबाट पाँच वर्षपछि बुवा आउँदा काखमा लुटपुटिने विनिताको चाहना पहिलोपटक भएको रजस्वलाले चौपट बनाएको मार्मिक प्रसंगदेखि पहिलो रजस्वलामा हुने मानसिक विचलन र शारीरिक पीडासमेतलाई कथाले समेटेको छ। ‘चेलीको पीडा’ अहिले धेरै युवतीले सामना गरिरहेको विषय हो। असावधानीपूर्वक गरिएको यौन सम्बन्धले जीवनमा आइपर्ने समस्याको उठान यसमा छ। कथाले अन्तिममा अमृता र कमलको मिलन गराइदिएर ‘सेफ ल्यान्डिङ’ दिएको छ। महिला निःसन्तान भए उसलाई समाज र परिवारमा कति पीडाबोध हुन्छ, त्यो महिलालाई मात्र थाहा हुन्छ। बारम्वारको सन्तानप्राप्तिको चाहना तुहिँदै जाँदा पुनः गर्भ बस्छ। सन्तान जन्माउन परिवार र समाजको थामिनसक्नु दबाबबीच पुनः गर्भवती भई जुल्याहा सन्तान पेटमा हुर्कंदै जाँदा शिशुको पेटमै मृत्यु हुन्छ भने अर्को शिशुलाई सफतलापूर्वक डाक्टरले बचाएर प्रीतिको चाहना पूरा गरिदिएको सुखद कथा हो, ‘प्रीतिको जित’।
सावित्री मगरलाई आइपरेको गर्भसँग सम्बन्धित जटिलता र निजलाई तुरुन्त अप्रेसन गर्नुपर्दा आवश्यक परेको रगत आनन्द मण्डलले दिएको कुरा ‘रगतको जात’ कथामा छ। जहाँ कथाकारले मानिस सबै एकै हुन्, जात र भूगोल अनि धर्मले कसैलाई रोक्न सक्दैन र रोक्नु पनि हँुदैन भन्ने मार्मिक सन्देश कथाकार साहले दिएका छन्। मुटुको समस्या भएकी मनिताले सन्तान प्राप्तिका लागि गर्भधारण गर्नुपर्दा अन्तमा ईहलीला नै समाप्त गर्नु परेको कथा पनि यसमा छ। महिलाको अर्को मूल समस्या हो, आङ खस्ने। आङ खस्ने समस्यालगायत महिनावारी भएदेखि पाठेघर फाल्नु परेको पीडासम्म संग्रहका कथामा छन्। यी कथाहरूले ‘गर्भको गर्भ’ कृति एक उत्कृष्ट चेतना र सूचनामूलक बनेको प्रमाणित हुन्छ।
‘गर्भको गर्व’ले कथाहरूमा महिनावारी, सुरक्षित गर्भपतन सेवा, निःसन्तानको समस्या, इक्टोपिक प्रिग्नेन्सी, जेस्टेनल डायबेटिज, जन्मान्त्तर, गर्भ र प्रसवलाई कसरी व्यवस्थित गर्ने, मातृमृत्यु किन हुन्छ र आङ किन खस्छ आदिजस्ता महिलाका विभिन्न प्रकारका समस्यालाई साहले कथामार्फत सम्बोधन गरेका छन्। चेतना, शिक्षा र ज्ञानको अभिवृद्धिमा यथेष्ट ध्यान दिएको पाइन्छ। महिला प्रजननसँग सम्बन्धित जटिलता र समस्याहरूको पूर्वज्ञान,
पहिचान, निराकरण र व्यवस्थापनका लागि प्रस्तुत कथा संग्रहले उल्लेखनीय भूमिका निर्वाह गरेको छ। थपमा पारिवारिक मिलन, खुसी र आनन्द प्राप्तिका लागि ‘गर्भको गर्व’ पुस्तक सबैका लागि सहयोगी बन्नेमा पनि विश्वास गर्न सकिन्छ।
सहरमै यो अवस्था अझै धेरैमा छ भने दूरदराजमा बस्ने महिलाको अवस्था कस्तो होला ? सहरदेखि गाउँसम्म प्रजनन स्वास्थ्यसेवा प्रदान गर्दै आएका डा. साहले यस्तै अवस्थालाई चिर्न लेखेको पुस्तक हो, ‘गर्भको गर्व’।