गोविन्द केसीको अनसनको विरोध

गोविन्द केसीको अनसनको विरोध
सुन्नुहोस्

धनगढी : कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रक्रिया अगाडि बढिरहेका बेला डाक्टर गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गर्नुपर्ने माग राख्नै अनसन थालेपछि विवाद भएको छ।

 
स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डाक्टर केसीलाई भवन निर्माणस्थलमा अनसन बस्न दिएनन् भने डाक्टर केसीले अनसन बसेको धनगढीको राधाकृष्ण मन्दिरको बाहिर पनि नाराबाजीसहित प्रदर्शन गरिएको छ। कैलालीको गोदावरी नगरपालिकाको गेटामा पर्ने निर्माणस्थलमै डाक्टर केसीले तीन दिने अनसनको योजना बनाएर शुक्रबार आएका थिए। उनले शुक्रबार बेलुकीदेखि अनसन बस्ने कार्यक्रम थियो।

तर, स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डाक्टर केसीले विश्वविद्यालयको प्रक्रिया अगाडि बढिरहेका बेला फेरि प्रतिष्ठानको मुद्दा उठाएको भन्दै अनसनमा बस्न दिएनन्। ‘हामीहरूले डाक्टर केसीको अनसनको ब्यानरमा गेटामा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय लेखिदिनुस् भनेर अनुरोध गर्‍यौं। उहाँलाई मेडिकल विश्वविद्यालयको स्थापनाको नेतृत्व गरिदिनुस् पनि भन्यौं। तर, उहाँले हाम्रो कुरा सुन्दै सुन्नु भएन। हामीले विश्वविद्यालयको कुरा अघि बढिरहेका बेला प्रतिष्ठान स्वीकार्य हुँदैन भनेर उहाँलाई अनसन बस्न दिएनौं,' संघर्ष समितिका संयोजक लोकराज पाण्डेले भने।

गेटामा डाक्टर केसी र संघर्ष समितिका पदाधीकारीबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एउटा मेडिकल कलेज पनि छैन। २०६६ सालदेखि कैलालीको गोदावरी नगरपालिकाको गेटामा सरकारी लगानीमा पूर्वाधार बने पनि सञ्चालनमा आउन सकेको छैन।
 
६ अर्ब लगानीका ती पूर्वाधारमा मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के सञ्चालन गर्ने? भन्ने कुराको अझै टुंगो लागेको छैन। तर यस क्षेत्रका जनताको संघर्षपछि २०७९ को माघमा मन्त्रिपरिषदको बैठकले गेटामा मेडिकल विश्वविद्यालय नै सञ्चालन गर्ने निर्णय गरेको थियो। मेडिकल विश्वविद्यालयको विधेयक राष्ट्रिय सभाको विधायन समितिमा छलफलका क्रममा रहेका बेला डाक्टर गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन हुनुपर्ने भन्दै अनसन सुरु गरेपछि विवाद आएको हो।

‘गेटामा दुई-दुई पटक संसदीय समितिहरू आएर विश्वविद्यालय सम्भव छ भनेर प्रतिवेदन बुझाएका छन्। मन्त्रिपरिषदको बैठकले विश्वविद्यालयको निर्णय गरेको छ। विश्वविद्यायको विधेयक राष्ट्रिय सभाको विधायन समितिमा दफावार छलफलमा छ। तर, डाक्टर केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर अनसन बस्न आएपछि फेरि षड्यन्त्र भयो कि भन्ने भान भएको छ,' संघर्ष समितिका सह-संयोजक आनन्द भट्टले भने।

उनले डाक्टर केसीको मेडिकल शिक्षा प्रतिको योगदान अतुलनीय रहे पनि उनले सुदूरपश्चिमेली जनताको भावना विपरीत प्रतिष्ठानको योजनासहित अनसनमा आएकाले विरोध गरिएको बताए। गेटामा अहिले ६ सय शय्याको अस्पताल भवन, एमबीबीएसका लागि कलेज भवन, चिकित्सक र नर्सिङ आवासहरू, विद्युतको सवस्टेशन, सडक, घेरबार, प्रशासनीक भवनहरू बनिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.