पर्यटकको रोजाइमा च्छोरोल्पा हिमताल

पर्यटकको रोजाइमा च्छोरोल्पा हिमताल
सुन्नुहोस्

दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका– ९ गौरीशंकरमा रहेको नेपालको सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल पर्यटकको रोजाइको केन्द्र बनेको छ। च्छोरोल्पा हिमतालको दृश्यावलोकनका लागि प्रत्येक वर्ष आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दो छ।  

गौरीशंकर गाउँपालिकाको रोल्वालिङ उपत्यकामा रहेको च्छोरोल्पा पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चक स्थलको रूपमा रहेकाले पर्यटक आउने क्रम बढेको हो। काठमाडौंबाट छोटो दूरीमा पर्ने र पदमार्ग सजिला भएकाले पनि पर्यटकहरू बढी च्छोरोल्पा मन पराउन थालेको गौरीशंकर गाउँपालिका– ९ का वडाध्यक्ष ङिमागेली शेर्पाले बताए। चरीकोटबाट छ्योत्छ्योतसम्म गाडीमा र त्यहाँबाट हिँडेर सिमीगाउँ हुँदै च्छोरोल्पा पुगेर चार दिनमै फर्किन सकिन्छ। वर्षात्को समयमा आवत्जावत करिब बन्द हुने च्छोरोल्पा हिमतालमा असोज महिनादेखि पदयात्रुुको संख्यामा वृद्धि हुन्छ। यो वर्षको असोज कात्तिक महिनामा मात्रै १ हजार ७ सय ७९ पुरुष र २ सय १६ महिलाले च्छोरोल्पा हिमतालको भ्रमण गरेको गौरीशंकर संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसी दाहालले बताए।

समुद्री सतहबाट ४ हजार ५ सय ८० मिटरको उचाइमा रहेको १ सय ३५ मिटर गहिरो र अनुमानित १० करोड घनमिटर पानी रहेको च्छोरोल्पा हिमतालसम्म पुुग्ने पदमार्ग २०७२ सालको भूकम्पपछि स्विस सरकारले पक्की र आकर्षक बाटो बनाइदिएको छ। अन्य गन्तव्यभन्दा यस क्षेत्रमा रहेका होटलको मेनु सस्तो रहेकाले पनि पर्यटकको संख्यामा वृद्धि आउन सक्ने हिमताल भ्रमण गर्ने यात्रुहरू बताउँछन्। 

स्थानीयका अनुसार कोरोना महामारीअघि बाह्य पर्यटकले खचाखच हुने च्छोरोल्पा अहिले महामारी सकिए पनि फाटफुटबाहेक खासै बाह्य पर्यटक आएका छैनन्। तर आन्तरिक पर्यटकको भने भीड लाग्ने गरेकोे छ। आन्तरिक पर्यटकको भीडले होटल व्यवसायीलाई धान्न हम्मेहम्मे परेको होटल व्यवसायी थुल्डु शेर्पाले बताए। हिमतालको भ्रमण गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। सिमीगाउँबाट सुर्मुचे, डोङाङ, वेदिङ, नागाउँहुँदै च्छोरोल्पा तालसम्म पुग्न सकिन्छ। साहसिक पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चकस्थलका रूपमा प्रख्यात मानिने रोल्वालिङ उपत्यकाको च्छोरोल्पा पुग्दा संसार जितेको महसुस हुने र भ्रमणको क्रममा च्छोरोल्पा भ्रमण नगरे भ्रमण पूरा नहुने त्यहाँ पुुगेर आउने आन्तरिक पर्यटकको भनाइ छ।

बेदिङसम्म राष्ट्रिय प्रसारणको विद्युत् लाइनको व्यवस्था भएको र अप्टिकल फाइबर भएका कारण इन्टरनेटको पनि सुविधा हुँदा पर्यटकहरू  रमाउँदै यात्रा गर्छन्। च्छोरोल्पा जाने बाटो हुँदै सगरमाथाको आधार शिविरसम्म पुुग्ने पर्यटकहरू हुँदा पनि यात्रामा अझ रमाइलो हुने च्छोराल्पा पुुगेर आउने पर्यटकहरू सुनाउँछन्। 

काठमाडौंबाट छोटो दूरीमा पर्ने रमणीय स्थान र पदमार्ग सजिला भएकाले पर्यटक बढी च्छोरोल्पा मन पराउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.