त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज , १२ हजार ३१५ विद्यार्थी दीक्षित हुँदै
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ ।
समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिएका छन्। । समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने उनले बताए । यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन्।
विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने उनले राससलाई बताए। गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।
स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुने बताइएको छ । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिनेछ।