ब्याजदर घट्दो क्रममा, कति होला कर्जा ब्याज ?

ब्याजदर घट्दो क्रममा, कति होला कर्जा ब्याज ?

काठमाडौं : बैंक तथा वित्तीय संस्थाको ब्याजदर महिनैपिच्छे घट्दै गएको छ। बैंकमा पैसा बचतमा राख्ने निक्षेपकर्ताका लागि यो खुसीको खबर नहोला तर बैंकबाट कर्जा लिनेलाई यो समाचारले पक्कै खुसी दिन्छ। निक्षेपको ब्याजदर घटिरहँदा कर्जाको लागत पनि कम हुने भएकाले यसले अन्ततः कर्जाको ब्याजदर घटाउन टेवा पुर्‍याउँछ।

यसकारण ब्याजदर घटाउन दबाब

गत मंसिर २२ गते नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक दर, नीतिगत दरलाई साबिकको तुलनामा घटाएपछि अहिले ब्याजदर घटाउन दबाब परेको हो। उक्त नीतिले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरेको छ।

यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरिएको छ।  केन्द्रीय बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी उक्त दर घटाएको थियो। केन्द्रीय बैंकले घटाएको नीतिगत दरहरू कायम भएसँगै ब्याजदरमा सहज भएको हो। अहिले बैंकमा लगानीयोग्य पुँजी (तरलता) बढी भएकाले अन्तरबैंक ब्याजदर धेरै तल गइरहेको कारणले प्रणालीबाट कर्जा प्रवाह बढोस् भनेर यस्ता दरहरू घटाउने निर्णय केन्द्रीय बैंकले गरेको थियो।

राष्ट्र बैंकले नीतिगत दर घटाएपछि ब्याजदर घटाउनै दबाब परेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी बताउँछन्। ‘उक्त दरले गर्दा अन्तरबैंक दर पनि घट्यो। पुसको निक्षेपको ब्याजदर घटेपछि अब कर्जाको ब्याजदर पनि घट्छ। कात्तिक, मंसिर र पुस यी तीन महिनाको औसत सबै गणना गर्दा अब आधार दर पनि घट्ला,’ उनले भने, ‘आधार दर पनि एकल अंकमा आइसकेको छ। झन् घट्छ र निक्षेपको लागत एक प्रतिशत बिन्दुले घट्ने देखिन्छ।

बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड दर) पनि ४ प्रतिशतभन्दा बढी गर्न नपाइने कार्यान्वयनमा आएको छ।’ सबै कारणले अब कर्जाको ब्याजदर घट्ने उनले बताए। ‘यसपछि अब विस्तारै कारोबार बढ्ने अपेक्षा गरेका छौं। व्यवसायी, लगानीकर्ताले थप लगानी जुटाउन कर्जा लिन सक्लान्,’ केसीले थपे।

औसत ब्याजदर ९ प्रतिशतभन्दा कम
पुस लागेसँगै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर अघिल्लो महिनाको भन्दा औसत ०.६२ प्रतिशत बिन्दुले घटेको छ। वाणिज्य बैंकहरूले प्रकाशन गरेअनुसार दुई बाहेक सबै बैंकहरूको पुसको ब्याजदर मंसिर महिनाको भन्दा कम छ।

प्रभु र सानिमा बैंकले भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। प्राइम कमर्सियलबाहेक बैंकहरूको निक्षेपको नयाँ ब्याजदर एकल अंकमा कायम भएको छ। गत असोजमा दोहोरो अंकमा रहेको निक्षेपको ब्याजदर यसपछिका महिनामा क्रमशः घट्दै गएको छ। सो महिना औसत ब्याजदर नै १० प्रतिशत माथि थियो। जुन पुस महिनासम्म आइपुग्दा घटेर ८.९९ प्रतिशतमा सीमित भएको छ। मंसिर महिनामा यस्तो दर ९.६१ प्रतिशत थियो।

पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ९ प्रतिशतको निक्षेपको ब्याजदरलाई नै कायम राखेका छन्। सबैभन्दा बढी ब्याजदर निर्धारण गरेको प्राइम बैंकले अधिकतम १० प्रतिशतसम्म ब्याज दिने भएको छ। ब्याजदर घटाउनेमा एभरेस्ट र हिमालयन बैंक अगाडि छन्। मंसिरमा ९ प्रतिशत ब्याज दिएको एभरेस्टले घटाएर ८ प्रतिशतमा सीमित राखेको छ।

बैंकहरूले ब्याजदर घटाउने भन्दैमा ह्वारह्वार्ती घटाउन वा बढाउन मिल्दैन। यसका लागि नेपाल राष्ट्र बैंकले तोकेको परिधिभित्र रहनुपर्ने हुन्छ। केन्द्रीय बैंकका अनुसार ब्याजदर घटाउँदा पनि अघिल्लो महिनाको औसतमा बढीमा १० प्रतिशतले बिन्दुले मात्र परिवर्तन गर्न पाइन्छ। उदाहरणको लागि, मंसिर महिनाको औसत ब्याजदर ९.६१ प्रतिशत रहेकामा बैंकहरूले अधिकतम ०.९६ प्रतिशत बिन्दुले मात्र ब्याजदर घटबढ गर्न पाउँछन्।

विकास बैंकको ब्याजदर ९.३ प्रतिशत

सञ्चालनमा रहेका राष्ट्रियस्तरका सबै विकास बैंकहरूको ब्याजदर भने घटाएर बराबर बनाएका छन्। उनीहरूले निक्षेपमा अधिकतम ९.२५ प्रतिशत ब्याज दिने भएका हुन्। यसअघि मंसिरमा ५ बैंकहरूले ९.४ प्रतिशत लुम्बिनी र सांग्रिलाले १०.६ प्रतिशत र गरिमाले ९.७५ प्रतिशत ब्याज दिएका थिए। सो महिना साइन रेसुंगा, कामना सेवा, मुक्तिनाथ, महालक्ष्मी र ज्योति विकास बैंकको ब्याजदर ९.४ प्रतिशत थियो।

घटेको ब्याजदरले मार्जिन प्रकृतिको कर्जामा यसरी सहज

महिनैपिच्छे निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्ने भएपछि ऋणीहरूलाई सहज हुने भएको छ। पछिल्लो समय पर्याप्त लगानीयोग्य पुँजी भइरहेको तर कर्जाको माग अपेक्षाअनुसार हुन नसकेको बैंकरहरूले बताउँदै आएका छन्। निक्षेपको ब्याजदर महिनैपिच्छे परिवर्तन गरे पनि कर्जाको ब्याजदर भने त्रैमासिक रूपमा मात्रै निर्धारण हुन्छ। चालू आवको पहिलो त्रैमासमा सार्वजनिक आधार दर (बेस रेट)मा आधारित भएर बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गरेका छन्। आधार दर घट्दै जाँदा ऋणको ब्याजदर पनि घट्दै जान्छ।

वाणिज्य बैंकहरूको औसत आधार दर (बेस रेट) गत असारको तुलनामा थोरै मात्रामा घटेको छ। अझ यसपछिका महिनामा निक्षेपको ब्याजदर क्रमशः घटिरहेकाले यसको लागत कटाउँदा आगामी त्रैमासिक प्रतिवेदनमा आधार दर पनि घट्ने र यसले कर्जामा भार कम पर्नेै भएको नेपाल बैंकर्स संघका अध्यक्ष केसी बताउँछन्। यसलै अब सेयर मार्जिन प्रकृतिको धितोकर्जा होस् वा घरजग्गा कर्जा, गाडी, आवासीयलगायतका कर्जाहरू लिने ऋणीलाई केही सस्तो पर्नेछ।

बैंकको जति कम आधार दर हुन्छ त्यसको ब्याजदर प्रायः कम हुने भएकाले ती बैंक ग्राहकको छनोटमा पर्छन्। तर, कर्जाको ब्याजदर बढी र कम कत्ति छ भन्नेबारे आधार दरसँगै स्प्रेड दर (कर्जा– निक्षेपको ब्याजदर अन्तर), प्रिमियम दरले निर्धारण गर्छ। बैंकहरूले आधार दरमा जोड्ने प्रिमियम दर पनि ऋणीलाई तोकिने ब्याजदरका लागि महत्वपूर्ण बन्छ।

बैंकहरूले आधार दरमा २ देखि ५ सम्म प्रिमियम जोडेर ऋणीका लागि ब्याजदर तोक्ने गरेको देखिन्छ। यद्यपि प्रिमियममा मनोपोली भएको भन्दै केन्द्रीय बैंकले यसलाई कडाइ पनि गरेको छ। यससँगै वाणिज्य बैंकहरूले निक्षेपमा दिएको कर्जाभन्दा ४ प्रतिशतभन्दा बढी कर्जाको ब्याजदर लिन पाउँदैनन्। किनभने राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जा तथा सापटमा लिने ब्याजदरबीचको औसत ब्याजदर अन्तर अर्थात् स्प्रेड दरको पनि सीमा ४ प्रतिशत तोकेको छ। यो गत साउनदेखि लागू भएको छ तर मर्जरमा गएका बैंकलाई भने अहिले बाध्यकारी नबनाएकाले केही बढी देखिन्छ। साथै विकास बैंक र वित्त कम्पनीहरूले पनि निक्षेप र कर्जाको ब्याजदर अन्तर ४.६ प्रतिशतभन्दा बढी गर्न पाइँदैन।

बैंकमा थुप्रियो पैसा

बैंकमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त छ। बैंकहरूलाई कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९० प्रतिशत अधिकतम तोकिएको छ। तर बैंकहरूको सीडी रेसियो ८०.३६ प्रतिशत रहेकोले कुसन ९.६४ प्रतिशत छ। बैंकहरूले १०० रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँसम्म लगानी गर्न पाउँछन्। तर, बैंकसँग यतिबेला अतिरिक्त पैसा छ। दिनप्रतिदिन निक्षेप बढेको तर कर्जाको माग  कम भएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी बताउँछन्। उनी भन्छन्, ‘बैंकमा तरलता अधिक भयो।

यतिबेला बैंकसँग ६०–७० अर्ब अधिक तरलता छ।’ यसैले नेपाल राष्ट्र बैंकले पनि दिनैपिच्छे निक्षेप संकलनबाट अर्बौं रुपैयाँ प्रशोचन गरिरहेको छ। एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका केसीका अनुसार पछिल्ला महिनामा कर्जाको ब्याजदर पनि क्रमशः घटिरहेको छ तर कर्जा प्रवाह हुन सकेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.