१२,४१५ विद्यार्थी दीक्षित
काठमाडौंं : त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा सोमबार विभिन्न संकाय र तहमा उपाधि प्राप्त १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट विद्यार्थीहरू दीक्षित भएका हुन्।
त्रिविको ६१औं ग्रेसलिस्टमा परेका ७४ हजार ७ सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार ४ सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। जोशीका अनुसार गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको थियो।
दीक्षान्त समारोहका लागि निवेदन दिएकामध्ये स्नातक तहतर्फ ८ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ ४ हजार १ सय ४, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ १ सय १२ विद्यार्थी दीक्षित भएका हुन्।
विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राडा शिवलाल भुसालले २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए। गत वर्ष १० हजार ३ सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए। त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र चार संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको हो। दीक्षित हुने विद्यार्थीहरू कालो गाउनमा सजिएर अभिभावक र आफन्तसँगै उक्त समारोहमा आएका थिए।
उपकुलपति भुसालले त्रिविले अब विश्वका प्रचलित विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक कार्यक्रम अघि बढाउने बताए। विश्वविद्यालयले छिट्टै साइबर सेक्युरिटी, योग विज्ञान, आयुर्वेद विज्ञान, ‘माउन्टेन टुरिजम’ र ‘माउन्टेन साइन्स’जस्ता विषयमा नयाँ कार्यक्रम सुरु गर्ने पनि जानकारी दिए। कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा नीति समाज सापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन्। उनले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताए।
शिक्षा विकासमा सरकारले ठूलो लगानी गरे पनि पर्याप्त नभएको भन्दै उनले, ‘सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेछ।’ ‘भोलि देशलाई कुन दिशामा लैजाने हो। त्यो तपाईंंहरूकै हातमा छ’ उनले भने।
देशबाट मैले के पाएँ भन्दा पनि देशलाई मैले के दिए, के दिँदै छु र भविष्यमा के योगदान गर्न सक्छु भन्ने तर्फ एक पटक सबैले सोच्ने बेला आएको भन्दै उनले भने, ‘आजको यस प्रतिस्पर्धात्मक वातावरणमा तपाईंहरूले बेहोर्नु परेको चुनौतीप्रति पनि राष्ट्र अनिभज्ञ छैन। एकातिर पढाइमा अब्बल बन्नुपर्ने दबाबमा अभिभावक र समाजबाट हुन्छ भन्ने अर्कोतर्फ आकर्षक रोजगारी पाइन्छ कि पाइन्न भन्ने चिन्ता पनि रहिरहन्छ।’
प्रधानमन्त्री दाहालले विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकाय हुनुपर्ने बताएका छन्। दाहालले विश्वविद्यालय राजनीतिक भागबन्डा र दाउपेचबाट अलग हुन नसकेको भन्दै यसको गम्भीर छलफल र समीक्षा हुन आवश्यक रहेको बताए।
प्रधानमन्त्री दाहालले विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा गर्नु हुँदैन भन्ने राजनीतिक दलहरू नै भागबन्डा खोज्दै हिँड्नु विडम्बना भएको बताए।
प्रधानमन्त्री दाहालले भने, ‘एकातर्फ हामी विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनु हुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौं, अर्कोतर्फ हामी आफैं राजनीतिक भागबन्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौं। यस्ता चुनौती र प्रश्नहरूबारे पनि हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ।’
दाहालले विश्वविद्यालयहरूको वर्तमान अवस्थामा रूपान्तरण गर्न सरकार र राजनीतिक नेतृत्वको पनि महत्त्वपूर्ण भूमिका रहेको बताए। प्राज्ञिक संस्थाहरूलाई आवश्यक साधनस्रोत र पर्याप्त प्राज्ञिक जनशक्तिको व्यवस्थामा राज्यले पनि आफ्नो भूमिका बढाउनुपर्ने उल्लेख गरे।
दीक्षित विद्यार्थीलाई बधार्ई दिँदै प्रधानमन्त्री दाहालले आफूलाई सचेत र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्यलाई जिम्मेवारीका साथ निभाउन आग्रह गरेका थिए।
उनले मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्त्वपूर्ण योगदान हुने बताए। त्रिभुवन विश्वविद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै उच्चस्तरीय जनशक्ति उत्पादन गरी देश विकासमा अग्रणी भूमिका खेलेको र आगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिका बढाउँदै लैजाने बताए।
उक्त समारोह दीक्षित भएका एक विद्यार्थी सुष्मा चौधरी भने अब मास्टर्स विदेश पढ्न जाने ढोका खुलेको भन्दै उत्साहित देखिन्थिन्। ‘नेपालको पढाइ सकियो। अब मास्टर्स पढ्न विदेश जान पाइयो भनेर निकै खुसी लाग्या छ। प्लस टु सकेरै जान खोजेकी थिएँ।’ उनले भनिन्।
यद्यपि ठूलो संख्यामा विद्यार्थी दीक्षित भएको विषयमा भने स्वयम् प्राध्यापकहरू नै असन्तुष्टि व्यक्त गर्छन्। पूर्वप्राध्यापक डा.राजकुमार पोख्रेल भन्छन्, ‘दीक्षान्त समारोहमा विद्यार्थीको उपस्थिति भए पनि कलेजहरूमा विद्यार्थीको उपस्थिति छैन। एकदमै समस्या देखिएको छ। कसरी हुन्छ प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिन आवश्यक छ।’
शिक्षाविद् डा. विद्यानाथ कोइराला भने शिक्षा र दीक्षा फरक कुरा भएको बताउँछन्। कोइराला भन्छन्, ‘दीक्षित हुने पहिलेको सिस्टम बिगार्यौं। विद्यार्थीलाई शिक्षा दिए पछि खुसी हुने हो। यहाँँ दीक्षान्तमा उपस्थिति भएको संख्या गनिन्छ। एकातिर क्याम्पसमा विद्यार्थी रित्तिँदै छन्। अर्कोतिर विश्वविद्यालयले दीक्षान्तको विश्व रेकर्ड बनाउँदैछन्। बाबुआमा एउटा बच्चामा सीमित हुँदैछन्। अब नितान्त व्यावहारिक शिक्षामा जाने बेला भएको छ। अनलाई्न र अफलाई्न दुई माध्यमबाट समाजका सबै पाटो र सबै क्षेत्रलाई शिक्षित गराउने समय आएको छ।’