नेपालमै उन्नत जीवन बाँच्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन एमालेको समृद्धिका लागि संकल्प यात्रा सफल देखिन्छ।
नेकपा एमालेको जारी समृद्धिका लागि संकल्प यात्रा अहिले देशमा चर्चाको शिखरमा छ। सुदूरपश्चिम बैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन भएको यात्रा पूर्वी नेपालको पाँचथरस्थित चिवाभन्ज्याङ पुगी समापन भइसकेको छ। पछिल्लो समयमा राजनीतिक दलप्रति आमनागरिकको चासो कम हुँदै गएको भाष्य बनेका बेला एमालेले गरेको संकल्प यात्रा आममनोवैज्ञानिक चुनौती थियो।
पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासका बासिन्दाको चासोको विषय बन्छ कि बन्दैन भन्ने सबैको मनमा प्रश्न थियो। १ हजार ८ सय ७९ किलोमिटर लामो यात्रामा राजनीतिक विषय कम, विकास निर्माण र समाज रूपान्तरणका विषयमा धेरै केन्द्रित थियो। नेपालको इतिहासमा एमालेबाट भएको यस्तो यात्रा पहिलो हो। प्रायः आरोप–प्रत्यारोपमा चलिरहने नेपाली राजनीतिमा यो यात्राले नेपालको राजनीतिक विकास, समृद्धि, सुशासन र सामाजिक सद्भावको नयाँ कोर्स थपेको छ।
नेपालको राजनीतिले छिचोल्न नसकेका र केन्द्रभागमा राख्न नसकेका दलीय विकास अनि समृद्धिका मुद्दा यो यात्राले छिचोल्न सकेको छ। चुनावदेखि चुनावसम्म, नेतादेखि कार्यकर्तासम्म हुने नेपालको राजनीतिलाई यसले नयाँपन दिएको छ। यात्राले आमनागरिकमा समृद्धिका लागि रसायनको काम गर्ने देखिन्छ। राजनीतिक अस्थिरताका कारण आत्मविश्वास गुमाउँदै गरेका नागरिकमा यो यात्रा गुमेको आत्मविश्वाससमेत फर्काउन सफल भएको छ। यात्रामा अध्यक्ष ओलीको सक्रियतामा भएका नागरिकसँगको भेटघाट, छलफलदेखि सबै दलका नेतासँगको संवादले दल र जनताको बीचको दूरी कम भएको छ।
हालका प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सञ्चालित १० वर्षे सशस्त्र द्वन्द्वका कारण पहाडी लोकमार्ग आसपास सबैभन्दा धेरै प्रभावित क्षेत्र हो। जहाँका नागरिकका द्वन्द्वका घाउ अझै ताजै छन्। तत्कालीन सशस्त्र द्वन्द्वका कारण भौतिक संरचनामात्र होइनन्, यो क्षेत्रका धेरै चेलीका सिन्दूर पनि पुछिए। धेरै बालबालिका टुहुरा भए। सशस्त्र द्वन्द्वका कारण नै सामाजिक रूपमा विक्षिप्त भएको यो क्षेत्र राजनीतिक रूपले पनि खण्डित छ।
फरक दलमा आस्था राखेकै कारण धेरै नागरिकले ज्यान गुमाउनु परेको थियो। प्राकृतिक सम्भाव्यताका दृष्टिले अथाह सम्भावना बोकेको मध्य पहाडी भूभाग राजनीतिक उथलपुथलका कारण तीन दशकयता गरिब मात्र बस्ने भूभागको रूपमा परिचित छ। पछिल्लो समयमा गाउँ छाड्ने र धेरै पैसा कमाए थातथलो नै छाड्ने गरेका छन्।
प्राकृतिक स्रोत र सम्भावनाका हिसाबले समृद्धिको मुहान बन्नपर्ने क्षेत्र सशस्त्र द्वन्द्व र राजनीति अस्थिस्ताका कारण नागरिकका निम्ति यो क्षेत्र अरुचिको विषय बनेको छ। महाकाली, सेती, कर्णाली, भेरी, राप्ती, गण्डकी, नारायणी र कोशीजस्ता जलाधार भएका नदी यही मध्यपहाडी क्षेत्रकै आँगनबाट यात्रा गर्छन्। विकसित देशमा यस्ता नदी भएका भए यी बहुपयोगी हुन्थे सायद। देश समृद्धिका प्रमुख आधार यी नदी हुन्थे होलान्। लाखौं नागरिकलाई यी नदीले रोजगारी दिएका हुन्थे होलान्। तिनै नदीमा काम गर्न आउन विदेशी नागरिक लालायित हुन्थे होलान्। तर नेपालमा भने यी नदी वर्षात्मा बाढीपहिरोका कारक र हिउँदमा कहिलेकाहीँ माछा मार्ने कामका लागि मात्र उपयोगमा आउने गरेका छन्। यी भीमकाय विशाल नदी शदियौंदेखि राज्य व्यवस्थाको नपुंसकता गिज्याउँदै अविरल यात्रामा छन्। विडम्बना, यी नदीहरूलाई चिता जलाउने घाटबाहेक केही भएनन्।
नेपालको राजनीति परिवर्तन गर्न जनतालाई बलिदान दिने संस्कार सिकायौं तर प्राप्त उपलब्धिलाई दिगो बनाउने आधार देशको समृद्धि हो भन्ने सिकाएनौं। खाडी मुलुकको समृद्धिको आधार तेल खानी हुन् भन्यौं। स्विट्जरल्यान्ड समृद्धिको आधार पर्यटन व्यवसाय हो भन्यौं। जापानको समृद्धिको आधार प्रविधि हो भन्यौं। सबै देशका समृद्धिका आधार भन्यौं तर नेपालको समृद्धिको आधार के हो ? कहिल्यै भनेनौं। जे भन्यौं त्यो पनि व्यवहारमा लागू गरेनौं। परिणामस्वरूप आजका नेपाली युवा हामीले भनेकै देशमा गएर निजी जीवनको समृद्धिको आधार खोज्न गए र उतै रमाउन थाले। कुनैबेला हिमाल केही हुँदैन भन्दै पहाडतिर बसाइँसराइ गर्ने चलन थियो। आज सहरमा केही हुँदैन भन्दै नेपालमा केही गर्न सकिँदैन भन्दैछन्। वर्तमान नेपालीको आम मनोविज्ञान अध्ययन गर्दा विदेश जान नसक्ने मात्र नेपाल बस्ने सक्ने भन्ने देखिन्छ।
नेपालमा केही गर्न सकिन्छ, नेपालकै माटोमा मेहनत गरे उन्नत जीवन बाँच्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन नेकपा एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रा यो क्षेत्रका बासिन्दाका निम्ति ओखती हुने देखिन्छ। यात्राका क्रममा भएका संवाद, छलफल र अन्तक्र्रियामा स्थानीय नागरिकले खुलेर भाग लिएका छन्। यो संकल्प यात्राले स्थानीय जनताका समस्या के हुन् र समाधानका उपाय के हुन्, सबैमा दोहोरो संवाद गरेको छ। जनताका आमसमस्या र विकासका निम्ति बाधक तत्त्वसँग जानकार राजनीतिक दलले मात्र जनताका सबालको नेतृत्व गर्न सक्छ भन्ने मान्यता यो यात्राले स्थापित गरेको छ। आम नागरिकमा आत्मविश्वास जगाउँदै जनजनसँग जोडिँदै अगाडि बढेको यात्राले समग्र यो क्षेत्रको अध्ययन गर्न सफल भएको छ।
नागरिकदेखि नागरिकसम्म र गाउँदेखि गाउँहुँदै आधारभूत समाजको जगबाट फक्रिएमात्र नेतृत्वले अवसर पाउँदा जनताप्रति जवाफदेही हुन्छ। आलोचना र गालीले स्थापित भएको नेतृत्व क्षणिकका निम्ति चर्चा परिचर्चाको विषय त बन्ला तर जनताका समस्याको नेतृत्व गर्न सक्दैन भन्ने कुरा यो यात्राले स्पष्ट पारेको छ।
वास्तवमा यो यात्राको क्रममा आमजनताको सहभागिताले नेपालको दलीय राजनीतिप्रति आकर्षण पैदा गरेको छ। समृद्धिका लागि संकल्प यात्रामा एमाले पार्टीपंक्तिको उपस्थिति मात्र थिएन, त्यसमा अन्य दलका आस्था राख्ने नेता, कार्यकर्ता र जनताले समेत यो यात्राको स्वागत गरेका थिए। छलफलमा पनि सहभागी भएका थिए। यो यात्रामा देखिएको जनताको सहभागिताले एमालेका अध्यक्ष केपी ओलीलाई सिंगो देशको नेतामा स्थापित गरेको छ भने एमालेलाई समृद्धिको एजेन्डा बोक्ने पार्टी बनाएको छ।