अर्थतन्त्रमा अबको बाटो
अर्थतन्त्रको ट्रकमा हामी सबै छौं। अब सबै नजागे दुर्घटनाको क्षति उत्तिकै भोग्नुपर्छ। जागे देशमा विकास हुन्छ, हामी समृद्ध बन्छौं, बन्छौं।
चल्तीको भनाइ छ, ‘सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ।’ अहिले मुलुकको अवस्था ठ्याक्कै यस्तै छ। भूगोलमा अन्य मुलुकभन्दा सानो छ। अझै दुई ठूला मुलुकको बीचमा रहेपछि त आकार सानो देखिन्छ नै। त्यसमा पनि आर्थिक र समृद्धिको पाटोबाट हेर्दा पनि चेपुवामै छ नेपाल। यो त, अन्य मुलुकसँग तुलना गर्दाको दुःख हो। तर, एक पटक मुलुकभित्रै आँखा डुलाउँ त, सम्भावनाका बाटा कति छन् ? विश्वले चिन्ने हिमाल हाम्रै मुलुकमा छ। पानी र नदीमा धनी मुलुकमा नै दाँजिन्छ। अनि, चिसो हिमालदेखि गर्मी भू–भाग हाम्रै देशमा छ। खोज्दै जाँदा नदीमा सुन भेटिन्छ, र पूजा गर्ने शालिग्राम पनि। संस्कार संस्कृतिको व्याख्या त नेपालीले मात्रै होइन, विदेशीले पनि गरिरहेका छन्। कोही विदेशी त भन्छन्, ‘नेपालीको मुस्कान नै अमूल्य छ। पैसाको कुरा पर छाडौं।’
यी त भए केही क्षण गम्दा नै पाइने नेपालका गर्वलाग्दा विषय। तर, बुझ्नुपर्ने कुरा के छ भने– भएका चिज चिन्न सकिएन भने समृद्धि आउँदैन। त्यसैले त भनिएको हो– ‘कस्तुरी मृग आफ्नै बिनाबाट निस्किएको सुगन्ध कहाँबाट आयो भन्दै जंगल–जंगल डुल्छ, तड्पिन्छ।’ हामी अहिले यस्तै अवस्थामा छौं। समृद्धि मुलुकभित्रैबाट पाइन्छ भन्ने भाषणमात्रै भए, काम भएनन्। अझै पनि बाहिरी मुलुकबाट आउने पेट्रोलियम पदार्थ, सवारी र मुलुकमा सर्वसाधारणले सबैभन्दा धेरै प्रयोग गर्ने वस्तुमा कर लगाएर अर्थ (राजस्व) संकलन गरिरहेका छौं। निर्यातभन्दा आयातमा रमाइरहेका छौं। किसानका दुःख सुन्दैनौं, बिचौललियालाई किसान देख्छौं। र त मुलुक सिँगार्नेकर्मीहरू बाहिरी देश पलायन भइरहेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल युवाका लागि मुलुकमा टेक्ने अन्तिम पाइला बन्दैछ। बिदेसिनु रहर नभई बाध्यता उनीहरूको हो।
अब गर्ने के त ? प्रश्न सबैको छ। जवाफ केही देश हाँक्छौं भन्नेहरूको भाषणमा भेटिन छाडेका छन्। यति त जनताले पनि थाहा पाइसके। तर, अर्थतन्त्र उक्सन सकेन भन्ने चिन्ता मुख्य कुरो हो। पछिल्लो समय अर्थतन्त्रको चुक्कुल कहाँ फुस्कियो सबैको खोजीको विषय बनेको छ। तर, जुनै मुलुकमा पनि अर्थतन्त्र बलियो बनाउन सही नीति आवश्यक पर्छ र दोस्रोमा त्यसको कार्यान्वयन पक्ष मुख्य पाटो बन्छ। अहिले हामी यसमा नै चुकेका छौं। नीति तथा कार्यक्रम बनाउँदादेखि बजेट सार्वजनिक गर्दासम्म अर्थतन्त्रलाई मजबुत रूपमा उक्लने बाटो तयार पार्नुपर्छ। अघिल्ला वर्षमा चिप्लिएका अर्थतन्त्रका बुँदा र सफल नबनेका पाटोलाई त्यसै समय सँगाल्नुपर्छ। र, विज्ञको सुझाव र मुलुकको आवश्यकतालाई एकै ठाउँ राखेर मजबुत आर्थिक नीति खडा गर्नुपर्छ। अनि मात्रै अर्थतन्त्रमा बजारिएको मुलुक तंग्रन्छ र बौरिएर समृद्धिमा अघि बढ्छ। नत्र, अवस्था झनै दयनीय बन्दै जान्छ। जनता गरिबबाट झनै गरिब बन्छन्, भोकमरी र पलायन बढ्दै जान्छ।
सपना विपना बन्न सपना देख्न जरुरी नै हुन्छ। ‘कि आफैं जान्नु, कि भनेको मान्नु’ भन्ने उखान नै छ। गर्न जानिएन भने कि सिक्नुपर्छ, कि सुझाव लिनुपर्छ। मुलुकभित्रै अर्थिक क्षेत्र बुझेका विज्ञ छन्। विश्वका विभिन्न देशमा पुगेर अनुभव लिँदै नेपालको अवस्थामा के गर्न सकिन्छ भनेर अध्ययन गरेर फर्किएकाहरू छन्। अर्थ मजबुत बनाउने सूत्र खर्लप्प खाएर त्यसको बल कता लगाउँ भनेर पाखुरा सुर्किएकाहरू छन्। शैक्षिक बेरोजगारहरू काम देऊ भनेर आन्दोलन गरिरहेका छन् सडक र सामाजिक सञ्जालमा। कामका बाँझा विषय श्रमिक पर्खिरहेछन्। अनि अब के चाहियो ? त्यही काम लगाउने र आफैं खटिने सफल नेतृत्व र आयोजना होइन र ? हो अहिलेलाई यति मात्रै गरेर हेरौं त नतिजा कस्तो आउँछ। म त भन्छु यसो गरे मुलुकले कोल्टे फेर्छ। अहिलेका अभावका दिन इतिहास बन्छन्। अनि उदाहरणीय मुलुक भनेर विश्वले चिन्छ।
नेपालका जनताले होइन, यहाँको उत्पादन र ज्ञान विश्वले किन्छ। श्रम बेच्न विश्वका श्रमिक नेपाल आउँछन् र आज विदेशमा पसिना बगाइरहेकाहरू यहाँका उद्यमी र मालिक बन्छन्। सरकारको नेतृत्व तहमा बसेकाको जय जयकार हुन्छ, सडकमा सुरक्षा उनीहरूलाई सुरक्षाकर्मीले होइन, जनता आफैंले दिनेछन्। अनि यति भएपछि के चाहियो र ? अझै पनि गर्ने समय भीरको टुप्पोमा पुगेको छैन, डाँडामाथिको जून बनेको छैन। अर्थतन्त्रमा देखिएको संकुचन मन्दी या आर्थिक शिथिलता केले गर्दा हो ? समीक्षा गरौं। समस्या केलाऔं र समाधानको ‘गियर’ बढाऔं। इतिहासको कालखण्डमा विश्वबजारमा धेरै मन्दीका धर्सा देखापरेका थिए। सन् १९३० को ‘ग्रेट डिप्रेसन’लाई मुख्य उदाहरणका रूपमा विश्वले लिन्छ। जसपछि विश्व अर्थव्यवस्था सुधार्न धेरै सिद्धान्त प्रतिपादन र मेहेनत गरिएका थिए। हामी पनि अहिले यसकै एउटा झिल्कोको चोटमा छौं।
मन्दीका लागि केनेसियन एउटा धारणा छ– ‘कुनै विनाशकारी घटनाले अर्थतन्त्रलाई मन्दी ल्याउने कुनै संकेत नदिँदासम्म अर्थतन्त्रले सामान्य सन्तुलनमा काम गर्छ। मन्दीका रूपमा आउने बाहिरी झट्काले उत्पादक र उपभोक्ता उपर समान डर पैदा गर्छ।’ यो धारणाले अहिले पनि काम गरिरहेको छ। हाम्रा अघि चुनौती मात्रै छैनन्, अर्थतन्त्र सुधार्ने सैयौं ढोका खुलिरहेका छन्। तिनै ढोकातर्फ हेरौं र अघि बढौं। नागरिक अझै पनि आशाको नजरले हेरिरहेका छन्। विज्ञ चुप नबसौं। नीतिनिर्माता अल्छि नबनौं। अर्थतन्त्रको ट्रकमा हामी सबै छौं। अब सबै नजागे दुर्घटनाको क्षति उत्तिकै भोग्नुपर्छ। जागे देशमा विकास हुन्छ, हामी समृद्ध बन्छौं, बन्छौं।