सामाजिक सञ्जालमार्फत् महिलामाथि दुर्व्यवहार गर्ने फरार व्यक्ति पक्राउ
काठमाडौं : सामाजिक सञ्जालमार्फत् महिलामाथि दुर्व्यवहार गर्ने फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मी सत्यवति गाउँपालिका-७ का ४४ वर्षीय डिलबहादुर गलामी रहेको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए।
म्यासेजिङ एपमा साथी बनी कुराकानी हुने क्रममा भएका वार्तालापको स्क्रिनको रेकर्ड गरी राखेको तथा उक्त स्क्रिन सट सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देशसहित पोष्ट गरी चरित्र हत्या गरेको भन्दै पीडित महिलाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा गलामीले सामाजिक सञ्जालमार्फत पीडित महिलाको चरित्र हत्या गर्नेजस्ता क्रियाकलाप गरेको खुल्न आएपछि विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तरगतको कसूरमा गत भदौ २६ गते मुद्दा दर्ता गरेको थियो।
फरार रहेका गलामीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा सोमबार बाँकेबाट पक्राउ गरी आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।