चोरडाँकाले असुरक्षित मधेसका गाउँघर

चोरडाँकाले असुरक्षित मधेसका गाउँघर
घरमा लुटपाट भएको देखाउँदै स्थानीयवासी।
सुन्नुहोस्

जनकपुरधाम : पछिल्लो समय मधेसका गाउँहरूमा चोरी, डकैतीसहित आपराधिक गतिविधि बढेपछि स्थानीय आतंकित बनेका छन्। अधिकांश घटनाहरूमा डाका र चोरहरूको समूहले घरेलु हतियारका साथै पेस्तोल समेत बोकेर आउने र घरमा पसेर बन्धक बनाएरै डकैती गर्ने गरे पनि प्रहरी प्रशासन बेखबर बनेको छ। 

शुक्रबार अबेर राति महोत्तरीको जलेश्वर—९ फूलहट्टाका अमरप्रसाद सिंहको घरमा एक्कासी कोलाहल भयो। घरको मुख्य ढोका खोलेर व्यक्तिहरू भित्र पसे। आफ्नो कोठामा सुतिरहेका सिंहले घरभित्र हलचल सुनेर ब्युझिदैं ढोकातिर हानिए तर, उनले बुद्धि पुर्‍याएर आफ्नो कोठाको ढोका नखोली भित्रै बसे। त्यक्तिकैमा झ्यालमा जोर जोरले हान्दै, ‘कोठा खोल’ भन्ने आवाज आयो।

सिंह चूपचाप झ्यालको छेऊमा उभिए। झ्यालबाट एक युवकले पेस्तोल छिराउँदै फेरी धम्क्याए। तर, सिंहले हिम्मत गर्दै झ्याल बन्द गरिदिए। तीनचार जनाको संख्यामा रहेका हतियारधारीहरू सिंहको बुहारी सुतेकी कोठातिर हानिए र कोठा ढकढक्याउँदै खोल नत्र ज्यानले मार्छौं भन्ने धम्की पनि दिइरहेका थिए। सिंह हिम्मत गरी जोरजोरले हल्ला गर्न थाले। घरका सबै सदस्यहरू सहयोगको लागि हल्ला गर्न थालेपछि छरछिमेकी पनि उठे। जाग्राम भयो र गाउँलेहरू जुट्ने थाहा पाएपछि हतियारधारीहरू फरार भए। 

त्यो भन्दा एकदिन अगाडि मात्रै सोही ठाउँका सुजित सिंहलाई हतियारधारी डाँकाहरूको समूहले बन्दुक देखाई बन्धक बनाएर घरबाट सरसामानहरू लुटेर लग्यो। प्रहरी प्रशासनलाई यस विषयमा खबर गर्दा पनि कतैबाट कुनै सुनवाई वा अनुसन्धान भएन। 

सोमबार राति महोत्तरीकै जलेश्वर नगरपालिका —७, बखरी भाटमा डाँकाहरूले स्थानीय ललन प्रसाद शर्माको घरमा कोठाको ताल्चा फुटाई सरसामान लुटे। घरमा कोही नभएको मौका छोपी घटना घटाइएको थियो। गाउँघरका अधिकांश युवाहरू पढाइलेखाइ र रोजगारीका लागि सहरमा बस्न थालेपछि गाउँहरूमा वृद्ध र महिलाहरूनै बढी बस्ने गरेका छन्। यस्तोमा डाँकाहरूलाई प्रतिकार गर्ने वा सुरक्षाको लागि बोल्नेहरू समेत घरमा नहुँदा आपराधिक गतिविधि सहजै हुने गरेको नेपाली कांग्रेस मधेस प्रदेश सदस्य कृष्णा सिंह बताउँछन्। 

‘हतियारसहित नै आउने चोरडाँकाहरूको प्रतिकार गर्न युवाहरूको समूह पनि गाउँघरमा छैन, प्रहरी प्रशासनलाई शान्ति सुरक्षाबाट मतलबनै नभएको जस्तोदेखिन्छ। गाउँघरमा प्रतिदिन आपराधिक गतिवीधि भईराखेको छ र हामीले पटक–पटक प्रहरीलाई सुरक्षा गस्ती बढाउन आग्रह गरे पनि आश्वासन बाहेक केही पाएका छैनौं,’ कृष्णाले बताए। 

भारतीय सीमाक्षेत्रसँग जोडिएका गाउँहरूमा आपराधिक गतिविधि गरेपछि अपराधीहरू भारततर्फ भाग्ने गरेको स्थानीयहरू बताउँछन्। यता, सीमा सुरक्षाको जिम्मेवारी बोकेर सीमा क्षेत्रमा तैनात सशस्त्र प्रहरी बलले पनि यस्ता घटनाहरू नियन्त्रण गर्न खासै पहल गरेको देखिँदैन। मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआईजी दिपेन्द्र साह आफूहरूलाई यस्ता घटनाहरूको विषयमा वा गाउँघरमा हुने गरेको शंकास्पद गतिविधिका सन्दर्भमा सहि समयमा सूचना नै नआउने हुनाले शान्ति सूरक्षाको सवालमा सकेजति योगदान पुर्‍याउन नसकेको स्वीकार गर्छन्। 

उनी भन्छन्, ‘हाम्रा बोर्डर आउट पोस्टहरू सीमामै अवस्थित भए पनि हामी जनतासँग धेरै घुलमिल हुन सकेका छैनौं। हाम्रो काम गर्ने प्रवृत्ति पनि अलि फरक भएर होला जनताले हामीसँग समन्वय खासै गर्दैनन्। जनता र सशस्त्र प्रहरी बीचको दूरी कम गर्न भर्खरै हामीले सीमावासीसँग कार्यक्रम पनि गर्‍यौं यदि हामीलाई सही समयमा सूचना प्राप्त भयो भने यस्ता आपराधिक गतिविधिहरूलाई सकेसम्म नियन्त्रण गर्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.