मोरङको बूढीगंगामा अढाई अर्ब लगानी गरेर अस्पताल बनाइँदै

मोरङको बूढीगंगामा अढाई अर्ब लगानी गरेर अस्पताल बनाइँदै
सुन्नुहोस्

विराटनगर : मोरङको बूढीगंगामा अढाई अर्ब (२ अर्ब ५० करोड) रूपैयाँको लगानीमा नयाँ अस्पताल निर्माण गरिने भएको छ।

 
उद्योग, वाणिज्य र निर्माणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको औद्योगिक एवं व्यापारिक घरना शिवम् अर्गनाइजेसनले बूढीगंगा गाउँपालिका-१ टंकीसिनवारीमा आरआर अन्तर्राष्ट्रिय अस्पताल बनाउने भएको हो। मुटु रोगको उपचारलाई प्राथमिकतामा राखेर अर्गनाइजेसनको परिसरमै १८ कट्ठा क्षेत्रफलमा अस्पताल निर्माण गरिने भएको छ। अर्गनाइजेसनका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले बुधबार अस्पतालको शिलान्यास गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षसमेत रहेका राउत आफैं निर्माणाधीन अस्पताल सञ्चालक समितिका अध्यक्ष हुन्। छोराहरू प्रतीक र प्रत्यूष राउत सञ्चालक समिति सदस्य छन्। नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य राउतले बर्सेनि हजारौंको संख्यामा बिरामीहरू उपचारका लागि काठमाडौं र भारतसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले नयाँ र सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारी गरिएको जानकारी दिए।
 
उनका अनुसार सुरुवातमा अस्पताल २ सय शय्याको हुने छ। त्यसमध्ये सय शय्याको ‘मल्टी स्पेशलिटी अस्पताल’ सञ्चालन गर्ने र क्रमस ३ सय शैयासम्म विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ। शिलान्यासपछि आयोजित पत्रकार सम्मेलनमा राउतले नेपाल सरकारबाट निर्धारित कानुनी प्रक्रिया पूरा गरेर बनाउन लागिएको अस्पताल २ वर्षभित्रमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए। उनले उद्योग, वाणिज्य र निर्माण क्षेत्रसँगै मानवीय भावनाले गुणस्तरीय स्वास्थ्य सेवामा योगदान दिनका लागि नयाँ अस्पताल निर्माण गर्न लागिएको बताए। 

‘नाफामूलक क्षेत्रपछि अब हामी सेवामूलक स्वास्थ्य क्षेत्रमा अघि बढ्न लागेका हौं। चुनौती र अवसरलाई आत्मसात गर्दै सेवा प्रवाह गर्नतर्फ ध्यान दिने छौं,’ राउतले भने, ‘उपचारका लागि विदेशसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्य छ। आगामी दिनमा पारामेडिकल, मेडिकल, नर्सिङ कलेजसमेत सञ्चालनमा ल्याउने लक्ष्य छ।’ बूढीगंगामै विराट शिक्षण अस्पताल र नजिकै विराटनगरमा नोबेल शिक्षण अस्पताल छन्।  

null

राउतले अस्पतालबाट मुटु रोगको उपचारलाई प्राथमिकतामा राखेर २४ घण्टा नै आकस्मिक तथा क्याथ ल्याबजस्ता विशिष्टिकृत उपचार सुविधा प्रदान गरिने बताए। साथै, जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, प्रसूति तथा स्त्रीरोग, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ। सबै किसिमका शल्यक्रियामा आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको प्रयोग गर्ने योजना छ। 

‘स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकाले ‘डाइग्नोस्टिक डिपार्टमेन्ट’लाई अन्तर्राष्ट्रिय स्तरको बनाइने छ,’ राउतले भने, ‘देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तरबीचको खाडल कम गर्न खुला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ।’ आरआर अस्पताललाई एउटा व्यवसायिक घरानाको मात्र नभएर कोशी प्रदेशकै सम्पत्ति र सेवाग्राहीको विश्वासको केन्द्रका रूपमा स्थापित गराउने उदेश्य रहेको उनको भनाइ छ। 

लामो समयदेखि उद्योग व्यवसायका क्षेत्रमा आवद्ध राउतले गार्मेन्ट निर्यात उद्योगबाट आफ्नो व्यवसायिक एवं औद्योगिक यात्राको सुरुवात गरेका हुन्। हालः चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका उनले पछिल्लो समय सिमेन्ट, पेट्रोलियम, जुत्ता चप्पल, ट्रेडिङ कारोबारजस्ता उत्पादनमूलक उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका छन्। 

राउतले केही समयमै काठमाडौंमा ५ तारे होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। विराटनगरमा हाउजिङ कम्पनी र ५ तारे होटल सञ्चालन तथा स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.