मोरङमा राजावादीको एकीकृत संघर्ष समिति घोषणा
विराटनगर : मोरङमा बुधबार राजावादीहरु सम्मिलित एकीकृत राष्ट्रिय संघर्ष समिति घोषणा गरिएको छ।
नेपाल विद्वत परिषद् र नेपाल सद्भावना मञ्चबीचको छलफलपछि एकीकृत संघर्ष समिति गठन गरेर विराटनगरमा पत्रकार सम्मेलनमार्फत् घोषणा गरिएको हो। परिषद्का केन्द्रीय अध्यक्ष एवं पूर्वराज परिषद्का स्थायी समिति सदस्य जीतबहादुर अर्जेल र नेपाल सद्भावना मञ्चका राष्ट्रिय अध्यक्ष तथा पूर्वउपप्रधान एवं गृहमन्त्री बद्रीप्रसाद मण्डलबीचको छलफलपछि एकीकृत राष्ट्रिय संघर्ष समिति बनाइएको छ।
त्यस्तै नगेन्द्रकुमार माझी, नारायण लुइँटेल, महमुद अन्सारी, कपिल पोखरेल, रामाशिष कामत, मुन्नाला माझी, राजकुमार राजवंशी, लक्ष्मण राय अमात, नन्दलाल मुखिया, म. सैनुल मिया, गणेशकुमार मोदी, डा. श्रीकान्त साह, तेजनारायण राजवंशी, धीरेन कार्की, रामदयाल विश्वास, कालुराम माझी, अवु गुरुङ, अशोक मुखिया र सन्तोष पोखरेल सदस्य छन्।
समितिको अगुवाईमा राजसंस्था पुर्नस्थापना र गणतन्त्रविरुद्ध आन्दोलन हुने अध्यक्ष दाहालले बताए। ‘अहिले नेपाल र नेपालीको अवस्था अत्यन्तै नाजुक छ। २००७ सालदेखिको प्रजातन्त्रको रटानले नेपाल र नेपालीको अस्तित्व समाप्त हुँदै गएको छ,’ उनले भने, ‘केवल नेता र उनीहरुले अँगालेका व्यक्ति तथा आफन्तको मात्रै उन्नती–प्रगति भएको छ । भ्रष्टाचार र मनपर्दी शासन व्यवस्थाका कारण मुलुकको अवस्था ओरालो लाग्दै छ।’