घरेलु मदिरा ब्राण्डिङ एवं लेबलिङको तयारीमा वालिङ
स्याङ्जा : स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै उत्पादित घरेलु मदिरालाई ब्राण्डिङ गरिने भएको छ। वालिङ नगरपालिकाले जिल्लामै पहिलो पटक घरमा उत्पादित मदिरालाई ब्राण्डिङ गर्ने भएको हो।
पालिकाले स्वरोजगार कार्यक्रमसँग जोड्दै स्थानीय उत्पादनमा जोड दिनका लागि घरेलु मदिरालाई ब्राण्डिङ गर्ने तयारीमा जुटेको नगरप्रमुख कृष्ण खाँणले बताए। उनले खाँणले भने, ‘यहाँ उत्पादित मदिराको ब्राण्डिङ/लेबलिङ गरी घरेलु मदिराबाट जिविकोपार्जन गर्न सहज बनाउन र उत्पादकलाई करका दायरामा ल्याउनेछौं।’
घरेलु मदिरा ब्राण्डिङ गर्दा १ हजार ५ सय परिवारले प्रतिमहिना १५ देखि १८ हजारसम्म आय गर्न सक्ने उपप्रमुख कविता तिवारीले बताइन्। आँप, सुन्तला, लिची, चिउरी, बेलाउती लगायतका अन्न र फलफूलको उपयोग गरी मदिरा उत्पादन गर्ने तयारीमा जुटिरहेको पालिकाले जनाएको छ।