डोल्पाको विकास र समृद्धिको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डोल्पा : हिमाली जिल्ला डोल्पाको विकास र समृद्धिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ध्यानाकर्षण गराइएको छ। बिहीबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र डोल्पाका नेताहरूले बालुवाटार पुगेर माग पत्र बुझाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
दुनै-ल्यासीक्याप हुँदै धोसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन, मुगु-डोल्पा हुँदै मुस्ताङ जोड्ने हिमाली लोकमार्गको काम अघि बडाउन, उपल्लो डोल्पाका तीनवटा स्थानीय तहलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय स्थापना गर्न माग गरिएको छ।
त्यसैगरि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन, डोल्पोबुद्व गाउँपालिकाको धोलाई हिमाली सहर निर्माण गर्न, मोरिम्ला र क्याटो नाकामा भन्सार कार्यालय सञ्चालन गर्न लगायतका १० बुँदे माग राखिएको छ।
विशेष रूपान्तरणअन्तर्गत तीन महिने अभियानका डोल्पा जिल्ला इन्चार्ज नरबहादुर बिष्टको नेतृत्वमा गएको टोलीमा कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीलगायतका सहभागी थिए।