ब्राउन सुगरसहित दुईजना पक्राउ
गोरखा : इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध प्रयोग तथा ओसारपोसार अन्त्य गर्ने अभियान सञ्चालन गरिरहेको सो इप्रकाले पृथ्वीराजमार्गको मुग्लिनतर्फबाट आँबुखैरेनीतर्फ आइरहेको सवारी चेकजाँच गर्दा खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।
‘हाइवेमा सवारी चेकजाँचका क्रममा बसमा सवार झापा कन्काई नगरपालिका-३ का ३३ वर्षीय अनिरुद्ध मिश्रलाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ’, प्रहरी निरीक्षक शिव थापाले भने, ‘सोही घटनाको अनुसन्धान गर्दै जाँदा पोखरा महानगरपालिका-१४ का ३९ वर्षीय यमबहादुर विकलाई पनि पक्राउ गरिएको छ।’
उनीहरूलाई बिहीबार नै तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको उनले बताए। पक्राउ परेका मिश्रको शरीरमा खान्तलासी गर्दा उनको शरीरमा लगाएको जिन्स पाइन्टको अगाडि दाहिने तर्फको गोजीमा कालो रङको पोलिथिन झोलाभित्र लुकाई छिपाइ राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको उनले बताए।
मिश्रबाट २४ ग्राम ५७० मिलिग्राम खैरो हिरोइन(ब्राउन सुगर) पदार्थ बराम गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।