पदमार्गमा खुसी चुम्चेतवासी

पदमार्गमा खुसी चुम्चेतवासी
सुन्नुहोस्

गोरखा : चुमनुब्री गाउँपालिका–६ चुम्चेतको सर्दीभीरमा कुनै बेला डोरीमा झुन्डिएर भीरको बाटो वारपार गर्नुपर्ने अवस्था थियो। स्थानीयवासीले ज्यानको बाजी राखेर भीरको बाटो हिँड्नुपर्ने भएपछि २०७३ सालमा ९० मिटर लामो क्यान्टिलिभर पुल(भित्तामा टाँसिएको पुल) निर्माण गरियो। डिएफआईडीको आर्थिक सहायतामा सामर्थ नामक गैरसरकारी संस्थाले क्यान्टिलिभर पुल निर्माण गरेको थियो भने सो पुलसम्म पुग्ने सिँडी बाटो मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले निर्माण गरेको थियो।

एक ठाउँको समस्या समाधान भएपछि पनि अन्य विभिन्न खण्डमा बाटो पहिरिएर जाने तथा माथिबाट आएको पहिरोले बाटोमा क्षति पुर्‍याउने क्रम चलिरह्यो। पदमार्ग जोखिमपूर्ण भएपछि चुम उपत्यकाअन्तर्गत वडा नं. ६ र वडा नं. ७ का करिब ७ सय घरधुरीका बासिन्दा आवतजावत गर्न कठिनाइ भोग्नु परेको थियो।

स्थानीयवासी र पर्यटक हिँड्ने तथा खाद्यान्नलगायतका अत्यावश्यकीय सामग्री बोकेर खच्चड हिँड्ने बाटो सुरक्षित बनाउन केही वर्षयता गण्डकी प्रदेश सरकार, गाउँपालिका कार्यालय, वडा कार्यालय तथा डब्लूडब्लूएफले पदमार्ग स्तरोन्नति गरेका छन्। 

‘पदमार्ग स्तरोन्नति हुन थालेको पाँच वर्ष भयो’, स्थानीय सेराप गुरुङ भन्छन्, ‘गण्डकी प्रदेशको ५० लाख, गाउँपालिकाको १५ लाख र डब्लूएफपीको सहयोगमा पदमार्ग स्तरोन्नति भएको हो। लोक्पानेरको दुइटा पहिरोचाहिँ ठूलै समस्याका रूपमा  छन्। त्यसबाहेक अरू बाटो त अहिले एकदम सुरक्षित छ।’ चुम्चेत खण्डको पदमार्ग स्तरोन्नति हुनु भनेको दुई वडाका बासिन्दाका लागि ठूलो खुसीको कुरा भएको उनको भनाइ छ।

आर्थिक वर्ष २०७९-०८० को कार्यक्रमबाट १५ लाख खर्चेर पदमार्ग स्तरोन्नति गरिएको गाउँपालिकाका योजना शाखाका वेदप्रकाश ढकालको भनाइ छ। ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पनि त्यहाँ काम भएको हो। पालिकाको १५ लाख रुपैयाँ बजेटबाट वडा नं. ३ को सीमानादेखि गुम्लुङ पुलसम्म विभिन्न नौवटा खण्डमा पिसिसी गरेर सिँडी बनाएका छौं। ठाउँ–ठाउँमा खानेपानीको व्यवस्था पनि भएको छ। चौतारा, डम्पिङ साइट पनि बनाएका छौं’, ढकालले भने, ‘त्योभन्दा अघिल्लो वर्ष गण्डकी प्रदेशको ५० लाख रुपैयाँ बजेटबाट क्यान्टिलिभर पुलको आसपासको क्षेत्रमा रेलिङसहितको पिसिसी सिँडी बनाउने काम भएको छ।’ पुलतरेपछि चुम्लिङसम्म डब्लूडब्लूएफको सहयोगमा सिँडी, चौतारा तथा विभिन्न संरचनासहित पदमार्ग स्तरोन्नति गरिएको उनले बताए।

सर्दीभीरलगायतका विभिन्न जोखिम ठाउँमा पदमार्ग स्तरोन्नति भएपछि गाउँले धेरै खुसी भएको चुम्लिङका तेञ्जिन हिसे लामाको भनाइ छ। ‘त्यो बाटो हिँड्दा मरिन्छ कि बाँचिन्छ भन्नुपर्ने अवस्था थियो। अहिले त फराकिलो बाटो बनेको छ। हामी गाउँले अति धेरै खुसी छौं। हाम्रो कुनै गुनासो छैन’, उनले भने, ‘अब डुयुखोलाको पुल र लोक्पानेरको अर्को पहिरोको समस्या समाधान गर्नुपर्ने छ। त्यहाँ ठूलो समस्या छ।’

चुमभ्याली प्रवेश गर्ने मुख्य पदमार्ग भएकाले त्यसको स्तरोन्नति गर्नु गाउँपालिकाको प्राथमिकताको कार्यक्रम भएको पालिकाका अध्यक्ष निमा लामाको भनाइ छ। ‘त्यो पदमार्ग दुइटा वडा प्रवेश गर्ने मुख्य बाटो हो’, उनी भन्छन्, ‘त्यसलाई स्तरोन्नति गर्ने विषयमा गाउँपालिका धेरै संवेदनशील छ। अहिले अलिअली स्तरोन्नति गरेका छौं। त्यस कार्यक्रम अझै पनि हाम्रो प्राथमिकतामा छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.