वैद्यनाथ गुठी जग्गा विवाद : मन्दिरमा अनिश्चितकालीन तालाबन्दी
अछाम : अछामको वैद्यनाथ मन्दिरमा स्थानीयले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । गुठीको जग्गाको विवादको विषयलाई लिएर वैद्यनाथ गुठी जग्गा पीडित सरोकार समितिले शुक्रबार मन्दिरको मूल ढोकामा तालाबन्दी गरेका हुन् ।
बिहीबार मन्दिरमा तीन घण्टासम्म लगाइएको ताला खोलिए पनि आजदेखि भने माग सुनुवाइ नभएसम्म ताला नखोलिने समितिका सचिव प्रेमनाथ योगीले बताए । आफूहरूले शान्तिपूर्ण विरोधका कार्यक्रमहरु गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको योगीले बताए ।
उनले भने, ‘हामीले शान्तीपूर्ण तरिकाले विरोध जनाएरहेका छौं,सरकारकाले हामीलाई कडा खालका कार्यक्रम गर्न बाध्य बनाएको छ ,हामीले बनाएको,संरक्षण र रेखदेख गर्दै आइरहेको मन्दिर हो,यो मन्दिरको राम्रो चाहेका छौं हामीले,मन्दिरलाई अशान्त बनाउने स्थिति सरकारबाट हुँदैछ ।’
वर्षौदेखि नेताहरुबाट पनि आश्वाशन मात्र पाउने गरेको उनीहरुले गुनासो गरे । पीडितहरूले फेरि दोस्रो चरणको विभिन्न सघंर्षको कार्यक्रम समेत अगाडि सारेका छन् । उनीहरुले गत भदौ १७ गते पहिलो चरणको संर्घषका कार्यक्रम गरेका थिए ।
आफ्नो व्यक्तिगत जग्गा गुठीमा परेको भन्दै स्थानीय पटक–पटक गुठी संस्थान काठमाडौं र नेता मन्त्रीकोमा धाउने गरेका छन् । गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंले गत वर्ष पुष १२ गते विभिन्न व्यक्तिले आफ्नो भनि दाबी गर्दै आइरहेको जग्गा गुठीको रहेको फैसला गरिसकेको थियो ।
उक्त फैसलाका विरुद्ध स्थानीयहरु विरोधमा उत्रिएका छन् । पीडित १ सय ७१ परिवारले गुठी संस्थानको विरुद्ध काठमाडौं जिल्ला अदालतमा गत भदौमा मुद्दा दायर गरेका कृष्ण विकले जानकारी दिए । उनले भने, ‘हामी मन्दिरमा अनिश्चितकालका लागि तालाबन्दी गर्न बाध्य भयौं,हाम्रो मागको कुनै पनि सुनुवाइ नभए । हामीजस्तो गरिबलाई जबरजस्ती सुकुमबासी बनाउने षडयन्त्र भइरहेको छ,हाम्रो जग्गा हामीलाई दिनु पर्यो । गुठीको जग्गा त पहिले नै टाठाबाठाले मिलेर आफ्नो नाममा गरिसके अहिले व्यक्तिगत जग्गा गुठीमा पारिएको छ ।’
सरकारले हेरफेर नै नगरी रैकर जग्गालाई समेत गुठीमा राखेपछि कतिपयको उठिबास लाग्ने अवस्था रहेको विकले बताए । साँफेबगर नगरपालिका १ वैद्यनाथ, वडा नम्बर २ श्रीकोट,वडा नम्बर ९ बुढाकोट र चौरपाटी गाउँपालिका ४ को मदने क्षेत्रका स्थानीयले आफूहरूलाई अन्याय परेको भन्दै विरोधमा उत्रिएका छन् ।
उनीहरुले मन्दिर परिसरमा नाराबाजीसहित धर्ना दिएका छन् ।