गुल्मी अस्पतालमा पनि डायलासिस सेवा
गुल्मी : गुल्मी अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आउने भएको छ। जिल्लामा डायलासिस सेवा नहुँदा मृगौला पीडितका बिरामी पाल्पा, बुटवल लगायतका सहरमा जानुपर्ने बाध्यता थियो।
गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु हुने भएपछि उपचारका लागि सर्वसाधारण तथा मृगौलाका बिरामी बाहिर जानुपर्ने बाध्यता हट्ने छ। हाल जिल्लामा ठेगाना भएर विभिन्न ठाउँमा १ सय ३७ जना मृगौला पीडित बिरामी उपचारत रहेको गुल्मी अस्पतालको तथ्यांकमा उल्लेख छ। अस्पतालले एक सूचना जारी गर्दै डायलासिस सेवा लिन इच्छुक सेवाग्राहीहरूले अस्पतालको प्रशासनमा सम्पर्क राख्न आग्रह गरेको छ।
सेवा सुरु भएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने रेसुंगा नगरपालिका नगरप्रमुख खिलधवज पन्थीले बताए। अहिले अस्पतालले बिरामीहरूको नाम दर्ता गर्न सुरु गरेको छ। अस्पतालमा मृगौला पीडितहरूका लागि डायलाइसिस सेवा विस्तार गर्न रेसुंगा नगरपालिकाले पाँचवटा मेसिन संघीय सरकारको सहयोगमा नगरपालिकाले खरिद गरेर उपलब्ध गराएको थियो।