चितवन : ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको वाल्मीकि आश्रम संरक्षणको अभावमा बेवारिसे जस्तै बनेको छ। सरकारी बेवास्ताका कारण उक्त क्षेत्रको अवस्था कन्तबिजोग मात्र होइन बेवारिसे जस्तै बनेको हो। चितवनको माडी नगरपालिका–१ मा पर्ने यो आश्रममा पुग्न चितवनकै भूमि भएर जान पनि सकिँदैन। चितवन राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र भएकाले त्यहाँ बाटो छैन। यहाँ पुग्ने अधिकांशले भारतीय भूमि प्रयोग गर्छन्।
यो आश्रम ऋषि वाल्मीकिले रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ। त्रेता युगमा रामले सीतालाई त्याग गरेपछि वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमुनि विलिन) गरेको स्थानका रूपमा पनि यो स्थल रहेको धार्मिक मान्यता छ।
धार्मिक र पर्यटकीय क्षेत्रको ठूलो सम्भावना बोकेको स्थल भए पनि सरकारी उदासीनता र प्रचारप्रसारका कारण यो क्षेत्र ओझेलमा मात्र परेको छैन, यहाँ रहेका रामायणकालीन पुराना सामग्रीहरूसमेत लथालिंग अवस्थामा रहेका छन्। आश्रममा रहेका सामग्रीहरू जंगलभित्र यत्रतत्र छरिएका छन्। सुरक्षाका लागि केही वर्षअघिदेखि सशस्त्र र नेपाल प्रहरीको पोस्ट राखिएको छ।
आश्रम क्षेत्रमा रहेका लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तध्र्यान भएको स्थल, अठासी हजार ऋषिद्वारा वाल्मीकि ऋषिले हवन गरेको कुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत रामायणकालीन सामग्रीहरू खुलारूपमा रहेका छन्।
पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण रहे पनि ती सामग्रीहरूलाई सामान्य तारबार गरेर समेत राखिएको छैन। पुरानो मन्दिरलाई केही वर्षअघि जीर्णोद्धार गरी नयाँ बनाइएको छ। मन्दिरभित्र सीता पाताल प्रवेश गरेको स्थल रहेको छ। पुरातात्त्विक महत्त्व बोकेका सामग्रीको संरक्षण त छैन नै वाल्मीकि आश्रम हो भनेर जानकारी दिनका लागि त्यहाँ कुनै पनि रामायणकालीन व्यक्तिहरूका मूर्तिसमेत छैनन्।
खुलारूपमा बेवारिसेजस्तै रहेका सामग्रीलाई हेर्दा त्यहाँ पुग्ने जो कोहीले पनि सरकारको आलोचना गर्ने गरेका छन्। नेपालदेखि भारतका टाढाटाढाबाट आश्रम अवलोकनका लागि आउने गरेका छन्। आश्रम हेर्न जाने पर्यटकहरूका खानेपानीको व्यवस्था, शौचालय, प्रतीक्षालयलगायतका सामान्य सुविधा पनि बनाइएको छैन। आश्रम हेर्न आएका एक भारतीय नागरिकले भने, ‘यति ठूलो धार्मिक महत्त्व बोकेको स्थान हाम्रो देशमा भएको भए सुन जस्तो बनाई दिन्थ्यो। नेपाल सरकारले माल पाएर पनि चाल नपाएजस्तो बेवारिसे छाडेको छ।’
त्यस्तै पोखराबाट आश्रम पुगेका रमेश रेग्मीले पुराना सामग्री लथालिंग देख्दा उदेक लागेको बताए। ‘अहिलेका प्रधानमन्त्री प्रचण्डकै गृह जिल्लामा रहेको आश्रमको संरक्षण हुन नसक्नु दुःखद् हो, केही गर्न नसके पनि पुराना सामग्रीलाई तारबार गरेर त राख्न सकिन्थ्यो ?’ उनले भने। यहाँ माघेऔंसी र रामनवमीमा रामायण प्रवचनसहित ठूलो मेला लाग्ने गर्छ।
समितिको भरमा आश्रम
सरकारले बेवास्ता गरेपछि एक धार्मिक संस्था गठन गरी आश्रमको संरक्षण गरिएको छ। २०५४ सालमा ‘विश्व सनातन धर्म स्थापनार्थ मूल समिति’ गठन गरी संरक्षण थालिएको हो। समिति गठन भएपछि २०५६ साल चैत ३० गते राम नवमीको अवसर पारेर सीता मन्दिर शिलान्यास गरी धार्मिक विधिअनुसार प्राण प्रतिष्ठान गरिएको थियो। आश्रम सञ्चालनका लागि सरकारी स्तरबाट अहिलेसम्म कुनै सहयोग नपाएको समितिका अध्यक्ष दीपकजंग रायमाझीले बताए।
समितिमा रहेका २५ जना सदस्यहरूले मासिक एक हजारका दरले रकम उठाएर आश्रममा रहेका पुजारी र चौकीदारको खर्च व्यहोर्दै आइएको छ। ‘२५ जना सदस्य भए पनि १२ जना जतिको मासिक रकम आउँछ। कहिलेकाहीँ त्योभन्दा पनि कम उठ्छ, रकमका लागि सधैं कति सम्झाइरहनु भनेर अहिले अपुग रकम आफैंले राखेर आश्रममा पठाउने गरेका छौं।’ अध्यक्ष रायमाझीले भने। रकम अपुग भएपछि आफू, आफ्नी श्रीमती र जेठानले पाउँदै आएको वृद्ध भत्तासमेत आश्रमको खर्चमा लगाउँदै आएको अध्यक्ष रायमाझीले बताए।
सरकारसँग पटकपटक यसको संरक्षण गर्न माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ। आश्रम निर्माणका लागि कोभिड अघि भवन विभागबाट आएको ९० लाख रुपैयाँ निकुञ्जले काम गर्न नदिएपछि फिर्ता गएको उनले बताए। ‘अहिले बागमती प्रदेशको सहरी विकासले झोलुंगे पुल हुँदै निकुञ्ज भएर आउने बाटो निर्माणका लागि १५ लाख छुट्ट्याएको छ। तर निकुञ्जले अनुमति नदिँदा काम गर्न सकिएको छैन।’ अध्यक्ष रायमाझीले भने।
आश्रममा भारत उत्तर प्रदेश र बिहारका मुख्यमन्त्रीदेखि उच्च ओहोदाका व्यक्तित्वहरूसमेत आएका छन्। उनीहरूले त्यहाँ आउँदा नेपाल सरकारले वास्ता नगरेको भन्दै चिन्ता गर्ने गरेको अध्यक्ष रायमाझीले बताए। ‘धार्मिक दृष्टिकोणले विश्वकै ऐतिहासिक स्थल रहेकाले यसको संरक्षण र विकास हुन सके विदेशका पर्यटकहरूको आगमनसँगै देशको आर्थिक क्षेत्रमा ठूलो टेवा पुग्ने देखिन्छ। वाल्मीकि आश्रम राष्ट्रिय सम्पत्तिसँगै धर्म धरोहर रहेकाले यसको संरक्षणमा सरकार नै लाग्नुपर्छ,’ अध्यक्ष रायमाझीले भने।
गुरुयोजना कागजमै सीमित
वाल्मीकि आश्रमको विकासका लागि समितिले गुरुयोजना बनाइएको छ। तर त्यो भने लागू हुन सकेको छैन। २५ वर्षअघि बनाइएको गुरुयोजना कागजमै सीमित भएको छ। २०५८ सालमा गुरुयोजना बनाइएको हो। त्यसबेला पाँच करोडको गुरुयोजना बनाइएको अध्यक्ष रायमाझीले बताए। ‘गुरुयोजना बनेपश्चात् त्यसलाई कार्यान्वयन गर्नका लागि तत्कालीन राजा वीरेन्द्रदेखि तत्कालीन प्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइरालालगायत समक्ष पुग्यौं तर कसैले वास्ता गरेनन्।’ अध्यक्ष रायमाझीले भने। अहिले पनि सरकारका विभिन्न निकायमा गए पनि सुनुवाइ नभएको उनको गुनासो छ।
गुरुयोजनामा धर्मशाला, शौचालय निर्माण, चमेना र आवासगृह निर्माण, मूल प्रवेशद्वारमा मण्डल आकारको सिँढी निर्माणलगायतका कार्य समेटिएको छ। त्यस्तै पुस्तकालय, हवन कुण्ड, प्रवचनस्थल, वाल्मीकि ऋषि बसेको मूर्ति निर्माण, लवकुशको जन्मस्थललगायत त्यहाँ रहेका पुरातात्त्विक सामग्रीलाई पर्खाल लगाएर संरक्षण गर्ने कार्य गुरुयोजनामा समेटिएका छन्। एक पटक आश्रमको अवस्थाका बारेमा बुझ्नका लागि सरकार प्रमुखदेखि सरोकारवालाहरूलाई आउन समितिले आग्रह गरेको छ। अहिलेसम्म त्यस क्षेत्रको उत्खनन गरिएको छैन। वाल्मीकि आश्रमलाई उत्खनन गरी पुरातात्त्विक सामग्रीको संरक्षण गर्न र वाल्मीकि आश्रमलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्न सरकारसँग समितिले माग गरेको छ।
भारतीय बाटो भएर जानुपर्ने बाध्यता
आफ्नै देशमा रहेको बाल्मीकि आश्रम पुग्नसमेत नेपालीहरूलाई भारतको भूमि भएर जानुपर्ने बाध्यता छ। चारैतिर राष्ट्रिय निकुञ्जको जंगलले घेरेरको आश्रमको दक्षिणतर्फ तम्रभद्र, सोनभद्र नदी र भारतीय जंगल रहेको छ भने पश्चिमतर्फ नारायणी नदी रहेको छ।
यहाँ पुग्नका लागि चितवनको नारायणगढ हुँदै पश्चिम नवलपरासीको बर्दघाटदेखि त्रिवेणीधाम पुग्नुपर्छ। आफ्नै देशबाट जानु परे त्रिवेणीधामबाट डुंगाको सहायतामा नारायणी नदी तरेर जानुपर्छ। तर वर्षायाममा नदी बढेपछि डुंगा नचल्दा भारतको बिहार प्रदेशमा पर्ने भैंसालोटनको जंगलहुँदै करिब ५ किलोमिटरको दूरी तय गरेर त्यहाँ पुग्न सकिन्छ। हिउँदमा भने त्रिवेणीबाट डुंगाबाट जान सकिन्छ। डुंगाबाट जाँदा करिब १ घण्टा पैदल हिँड्नुपर्ने भएकाले यहाँ जाने सबैजसो भारतकै भूमि भएर जाने गरेका छन्।
आफ्नै देशको धार्मिकस्थलमा पुग्न पनि भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यता भएपछि नारायणी नदीमा झोलुंगे पुल निर्माण गरिएको छ। दुई वर्षअघि बनेको पुलबाट आश्रम आउनका लागि चितवन राष्ट्रिय निकुञ्जले रोक लगाएको छ। जंगल क्षेत्र भन्दै आश्रम आउनका लागि चाहिने बाटो बनाउन राष्ट्रिय निकुञ्जले दिएको छैन। जसका कारण त्यस क्षेत्रमा पुग्नका लागि भारतीय बाटो नै प्रयोग गर्नुपर्ने बाध्यता छ।
पुल तरेर चितवन राष्ट्रिय निकुञ्जको जंगल हुँदै करिब ४० मिनेटमा आश्रम पुग्न सकिन्छ। निकुञ्जले जंगलबाट बाटो निकाल्नका लागि अनुमति नदिँदा पुल प्रयोगविहीन बन्न पुगेको छ। पुरातात्त्विक सामग्रीको संरक्षण त छैन नै त्यहाँ दैनिक पूजा गर्ने पुजारीका लागि पनि राम्रो आवास छैन। विगत लामो समयदेखि पूजाआजा गर्दै आएका शेखर सुवेदी जीर्ण रहेको गोदाम घरमा बस्दै आएका छन्।
स्थानीयको बसोबास कष्टकर
वाल्मीकि आश्रम वरपर क्षेत्रमा करिब १२ घरधुरीको बसोबास छ। उनीहरूको बसोबास कष्टकर रहेको छ। मगर, गुरुङ, कुमाल र राई समुदायको बसोबास रहेको आश्रम क्षेत्रमा रहेका सबै घर खर र प्लास्टिकले छाएका छन्। उनीहरू २०२४ सालदेखि बसोबास गर्दै आएका हुन्। नेपालतर्फ जाने बाटो नभएकाले उनीहरू किनमेल गर्न भारतको भैंसालोटन पुग्ने गर्छन्। शिक्षा, स्वास्थ्य, बिजुलीलगायत सामान्य सेवासुविधाबाट समेत उनीहरू वञ्चित छन्। स्कुल नभएका कारण केहीले त्रिवेणीमा रहेका आफन्तकोमा लगेर बालबालिकाहरूलाई पढाउँदै आएका छन्। स्वास्थ्य उपचारका लागि पनि भारतमै जानु पर्छ।
हिउँदमा जसोजसो दैनिकी गुजारे पनि वर्षायाममा भने समस्या हुने गरेको उनीहरूको गुनासो छ। पश्चिमतर्फ नारायणी नदी र दक्षिणमा रहेका तम्रभद्र र सोनभद्र नदीमा बाढी आएपछि उनीहरू आश्रम क्षेत्रमै थुनिनुपर्ने बाध्यता छ। तम्रभद्र, सोनभद्र र नारायणी नदीको संगमबाट त्रिवेणी बनेको धार्मिक ग्रन्थमा उल्लेख छ। वर्षायाममा नदीहरू बढ्ने भएकाले हिउँदको समयमा खाद्यान्नको जोहो गर्नुपर्ने बाध्यता उनीहरूको छ। उनीहरूको आम्दानीको
स्रोत भनेको मजदुरी हो।
घरका मुलीले मजदुरी गरेर ल्याएको रकमले दैनिकी धान्दै आएका छन्। पछिल्लो पटक केही युवाहरूले आश्रम वरपर सामान्य खाजा पसल खोलेका छन्। व्यवस्थित नहुँदा पसलसमेत चल्न नसकेको उनीहरूको भनाइ छ। ‘मजदुरीले धेरै खान पुग्दैन, वर्षा लागेपछि आश्रम क्षेत्रमै थुनिएर बस्नु पर्छ। जेनतेन हिउँदमा ल्याएको खाद्यान्नले २०÷२५ दिन पुगे पनि बाँकी दिन भोकै बस्नु पर्छ,’ स्थानीय पदमबहादुर रानाले भने।
नदीमा बाढी आएपछि उपचार गर्न जान पनि समस्या हुने गरेको उनको भनाइ छ। सामान्य सेवा सुविधाबाट समेत आफूहरू बञ्चित हुँदासमेत कुनै पनि सरकारले आफूहरूको वास्ता नगरेको अर्का स्थानीय राज कुमालले बताए। केही महिना अघि खानेपानीको व्यवस्था गरे पनि धारामा पानी आउन छाडेको उनले बताए।
हिउँदमा जेनतेन पानी आए पनि वर्षामा धारामा पानी नआउँदा नदीको फोहोर पानी खानुपर्ने बाध्यता रहेको उनको गुनासो। ‘केही महिनाअघि माडी नगरपालिकाका मेयर आएर घर छाउन टिन दिन्छु भन्नुभएको थियो। अहिलेसम्म अत्तोपत्तो छैन,’ कुमालको गुनासो छ। एक वर्षअघि लगाइएको सोलार पनि बिग्रिएको स्थानीयले बताएका छन्। यहाँ आउने सबैले स्कुल, स्वास्थ्यचौकी निर्माणदेखि बिजुली बत्ती ल्याइदिने आश्वासन मात्र दिएर जाने गरेको स्थानीयको गुनासो छ।
के भन्छन् सरोकारवाला ?
आश्रमको विकास नहुनुमा चितवन राष्ट्रिय निकुञ्ज बाधक रहेको सरोकारवालाहरूले जनाएका छन्। नगरपालिकाले केही संरचना निर्माण र त्यहाँको बस्ती विकासका लागि काम गर्न खोज्दा निकुञ्जले नदिएको माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले बताइन्।
निकुञ्जले रोक लगाउने भएकाले त्यस क्षेत्रको विकासका लागि नगरपालिकाले चाहेर पनि बजेट छुट्ट्याउन नसकेको उनको भनाइ छ। ‘केही महिनापहिले त्यहाँ खानेपानी पु¥याएका छौं। त्यहाँका बासिन्दाको बसोबास कष्टकर छ, पानी चुहिने भन्दै घरलाई खरमाथि प्लास्टिकले बारेको देख्यौ। घर छाउनका लागि टिन दिन्छौं भनेको निकुञ्जले रोकेर दिन सकिएन’ मेयर महतोले भनिन्। त्यस क्षेत्रको उत्खननका लागि पुरातत्त्व विभागमा पत्राचार गरेको उनको भनाइ छ। पुल बने पनि निकुञ्जले बाटो नदिएकाले समस्या भएको उनले बताइन्। बाटो बनाउनका लागि निकुञ्जसँग छलफल भइरहेको मेयर महतोको भनाइ छ।
संवेदनशील क्षेत्र भएकाले त्यहाँ काम गर्न समस्या भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बाटोकै लागि पुल बनेको भन्दै बाटो बनाउन पहल भएको बताए। ‘बाटो बनाउनका लागि राष्ट्रिय निकुञ्ज विभागबाट सहमति लिनुपर्छ, त्यसका लागि वडाको सिफारिससहित विभागमा पत्र पठाएका छौं। सहमति आएपछि बाटो खोल्न समस्या छैन। सूचना अधिकारी तिवारीले भने।
को हुन् वाल्मीकि ?
रामायणका रचनाकार वाल्मीकि महर्षि हुनुभन्दा अगाडि खुँखार डाँकु रहेको उनीसँग सम्बन्धित विभिन्न लेखहरूमा पाइन्छ। उनको वास्तविक नाम रत्नाकर थियो। वाल्मीकि सम्बन्धीका ग्रन्थहरूमा उनलाई जंगलमा बस्ने कुनै समुदायले चोरेर लगेको थियो। त्यही समुदायमा उनको पालन पोषण भएको थियो।
डाँकुबाट महर्षि जीवनमा परिणत हुनका लागि उनलाई एउटा घटनाले अभिप्रेरित गरेको पाइन्छ। ग्रन्थअनुसार एक दिन कुनै ऋषि जंगलहुँदै कतै जाँदै थिए। उनलाई डाँकु रत्नाकर (वाल्मीकि) ले बन्धक बनाए। बन्धक बनाएका ती ऋषिले ‘मलाई बन्धक बनाएर किन पाप गर्दै छौं ? भनेर सोधे। उत्तरमा रत्नाकरले परिवारको जीवनयापनका लागि भनेर जवाफ दिए। फेरि ती ऋषिले ‘यो पाप तिम्रो परिवार र साथीहरूले स्वीकार गर्न सक्छन् ? एक पटक परिवारलाई सोध यदि परिवारले स्वीकार गरे भने म सबै धन तिमीलाई दिन्छु’ भने।
त्यसपछि रत्नाकरले सबै परिवार र साथीहरूलाई सोधे। सबैले यो पाप हामीहरूले सहँदैनौं भने। आफू खुँखार डाँकु भएर पनि परिवार र साथीहरूले साथ नदिएपछि उनको मनमा ठूलो आघात पर्यो र उनले उनै ऋषिबाट जीवन दक्षिणा ग्रहण गरी गलत बाटो छाडेर ध्यान र तपस्यातर्फ लाग्ने सोच बनाए।
गलत बाटो त्याग्नका लागि आश्रम नजिक रहेको तमशा नदीमा गएर स्नान गरेपछि उनले ध्यान र तपस्यामा लागेको ग्रन्थमा उल्लेख छ। उनले आश्रमकै जंगलमा वर्षौंसम्म समाधि लगाएर तपस्या गरे। तपस्याबाट उठ्दा चारैतिर धमिराले देवाल (खम्बा) बनाएको थियो।
धमिराको देवाललाई संस्कृतमा वाल्मीक भनिन्छ। तपस्याका क्रममा ब्रह्मदेवले महापुरुष रामसँग सम्बन्धित रहेर रामायण लेख्न निर्देशन दिए। पहिल्यै नै रामायणबारे जानकार रहेका रत्नाकरले त्यसपछि रामायण लेख्न सुरु गरेको उनीसँग सम्बन्धित जीवनी र ग्रन्थहरूमा उल्लेख छ। रामलाई नै केन्द्रित गरेर लेखिएको एक महाकाव्य नै रामायण हो।