ऊ भन्छ— सिकारी हुँ म
र, मेरो हत्केलामा कोरिएको छ
सास सहजै नफेर भन्दै उसले
मुस्किलको सनासोले हाम्रो किलकिले अठ्याउँछ
हाम्रो घाँटी खसखसाउँदा
प्रतिबन्धको सुपरमूल्य मुखमा दलिदिन्छ
अन्धकारमा आफ्नै घरमा बत्ती बाल्न
मजबुरीको कुरा गर्न
र, ढोका बाहिर अपरिचित चप्पल राख्न मनाही छ।
आफ्नै शौचालयको चुकुल पनि
सास थुनेर लगाउनुपर्छ हामीले
राती निदाएको बेला कोल्टे फेर्न पनि
कुशलताको शिल्प जान्नुपर्छ हामीले
भान्सामा हाम्रो हातबाट चिप्लिएर पन्युँ झर्दा
कुर्सीको दरबार भत्कन्छ भनेर
आशंकाको चन्द्रागिरि चढ्छ ऊ।
हाम्रै श्रमको लन्च र डिनर गर्दै ऊ
हामीतिरै सन्देहको सीसीटीभी फर्काएर
विभाजनको रेखा कोरिरहेछ
र हामीलाई एक कित्तामा उभ्याएर
ऊ सुरक्षाको जोन खोजिरहेछ।
खास यतिखेर ऊ सोचिरहेछ
एउटा सामान्य मानिस भत्काउन सके
सेलाएर जान्छ
त्यो मानिसभित्रका विद्रोही लाभाहरू
तर उसलाई थाहा छैन
संसारमा भोकापेट भएका मानिसहरू
र आधा मुठी कसिएका हातहरूसँग जिस्कनु
सबैभन्दा खरतनाक हुन्छ।
- अञ्जना इछमफूल