इँटहरू जोड्दै गँड्यौला मल बनाउने ठाउँ बनाइरहेका सुन्दरीदेवीका श्रीमान् धनीराम भन्छन्, ‘जलवायु परिवर्तनका कारण यो सब भएको हो।’
कुरा कैलाली जिल्लाको सदरमुकामबाट करिब ७५ किलोमिटर टाढा रहेको जोशीपुर गाउँपालिका वडा नं. ३ को एउटा भित्री गाउँ ‘रामनगर’को हो। करिब ४०० घरधुरी रहेको यस गाउँमा सुकुमवासी, मुक्त कमैया र विपद् प्रभावितहरूको बसोबास छ। त्यसमा पनि अधिकांश मुक्त कमैया नै छन् जो आफ्नो मुक्तिको घोषणापछि पनि लामोसमयसम्म खेतीपातीका लागि अप्ठ्यारो जमिनसँग जुझे। विपन्नतासँग पौंठेजोरी खेले र सरकारले दिएको त्यही प्रतिपरिवार पाँच कठ्ठा जमिनमा दुःख गर्दै परिवारको जीविकोपार्जनका लागि सहजताका रेखाहरू कोर्न प्रयत्नशील रहे।
उमेरले ५४ बसन्त पार गरेकी मुक्त कमैया परिवारकी सुन्दरीदेवी डंगौरा सरकारबाट पाएको पाँच कठ्ठा जमिन देखाउँदै भन्छिन्, ‘हामीले झाडी फाँडेर यसलाई आवाद गर्यौं। हेर्नुस्न, यी यस्तो, कतै खाल्टो र कतै डाँडो परेको। यो खेती गर्न लायक जमिन थिएन। खाल्टोतिर पानी जम्ने र डाँडोतिर सिँचाइ नै नहुने। त्यसमा पनि आकाशको कालो बादल बाहेक सिँचाइको स्रोत थिएन। कसरी खेती गर्ने ?’ उनी भन्दै गइन्, ‘यसबाट हुने उत्पादनले परिवारलाई तीन महिना पनि खान पुग्दैन थियो। बाँच्नका लागि बस्ती बाहिर मजदुरी गर्न जानुपथ्र्यो।’
रामनगरका बासिन्दाहरूसँग कुराकानी गरेपछि थाहा भयो, सुन्दरीदेवीले संकेत गरेको त्यो ‘आकाशको कालो बादल’ आजकल उहिले–उहिलेजस्तो अनुशासनमा चल्दैन। त्यो कहिलेकाहीँ लामो समयसम्म आकाशमा देखिँदैन र रामनगरले खडेरी सहनु पर्छ। कहिलेकाहीँ मुसलधारे ढंगले एक्कासी दर्किन्छ र रामनगर बाढी र डुबानको चपेटामा पर्छ। हिउँदे शीतलहर पनि बढी नै चल्न थालेको छ।
आलुखेतीमा यसले ठूलो नोक्सानी गर्छ। चैत–वैशाखको सुख्खा र हुरीबतासका बेला आगलागीका घटनाहरू पनि उहिले–उहिलेभन्दा बढी हुन थालेका छन्। इँटहरू जोड्दै गँड्यौला मल बनाउने ठाउँ बनाइरहेका सुन्दरीदेवीका श्रीमान् धनीराम भन्छन्, ‘जलवायु परिवर्तनका कारण यो सब भएको हो।’
धनीराम मात्र हैन, रामनगरका थुप्रै बासिन्दा ‘जलवायु परिवर्तन’ले यस्तो असर भएको भन्नसक्ने भएका रहेछन्। उनीहरूको गाउँमा २०७४ सालदेखि ‘जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)’ले सञ्चालन गरेको ‘जीविकोपार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृद्धि कार्यक्रम’को सहयोग र सहजीकरणबाट यो कुरा बुझेको थाहा भयो। कार्यक्रमले यस बस्तीमा सञ्चालन गरेको ‘कृषक पाठशाला’मा पनि यस्ता कुराहरूमा छलफल हुँदोरहेछ। जुन सहरका लागि सामान्य विषय होला तर यहाँका लागि यो पृथक परिणाम।
कैलाली रामनगरका बासिन्दासँग यसरी भलाकुसारी भइरहेका बेला संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा संयुक्त राष्ट्रसंघले आयोजना गरेको २८औं विश्व जलवायु सम्मेलन (कोप २८) चलिरहेको थियो। त्यहाँ नेपालका प्रधानमन्त्री सम्बोधन गर्दै हुनुहुन्थ्यो– ‘जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको विनाशकारी असर नेपालीले भोगिरहनु परेको छ। म यहाँ मेरा निर्दोष नागरिकको जलवायु न्यायका लागि उपस्थित भएको छु। यो अन्यायको अन्त्य हुनुपर्छ।’
रामनगरजस्ता नेपालका थुप्रै गाउँहरूले भोग्नु परिरहेको यो जलवायुजन्य अन्याय कहिले अन्त्य हुने हो, त्यो त थाहा छैन तर रामनगरका सीमान्तकृत समुदायले भने गएका केही वर्षदेखि केही फरक प्रयत्नहरू गर्दै आएका छन्। उनीहरू रामनगरलाई ‘जलवायुमैत्री गाउँ’ बनाउने प्रयासमा छन्। रामनगरतिर छिर्ने मूलबाटोमै उनीहरूले यो जलवायु–मैत्री गाउँको रूपमा अघि बढ्दै गरेको जनाउने ठूलै चित्रात्मक साइनबोर्ड राखेका छन्।
रामनगरमा पनि काम गरिरहेको ‘जीविकोपार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृद्धि कार्यक्रम’की अधिकृत समीक्षा पण्डित भन्छिन्, ‘अहिले नै यो गाउँ जलवायु–मैत्री भइसकेको त छैन तर त्यसतर्फ लम्किरहेको छ।’ कार्यक्रमका स्थानीय सहजकर्ता शक्तिराम चौधरी जो अध्ययनका हिसाबले कृषि क्षेत्रका नायब प्राविधिक सहायक पनि हुन्। उनी थप्छन्, ‘अपरिहार्य अवस्थामा बाहेक यहाँका बासिन्दाले रासायनिक मल र विषादीहरूको प्रयोग गर्न छोड्दै गएका छन्। हामीले उनीहरूलाई गँड्यौला मल, र जैविक विषादी बनाउने लगायत विभिन्न प्रांगारिक तरिकाहरू प्रयोग गर्न सिकाउने र त्यसतर्फ अभिप्रेरित गर्ने काम गरिरहेका छौं।’
यही कार्यक्रमको सहयोगमा रामनगरमा सिँचाइका लागि सौर्य ऊर्जाको प्रयोगबाट पानी तान्ने बोरिङको व्यवस्था पनि गरिएको छ। आफ्नो बारीमा लगाएको खुर्सानी गोड्दै सुन्दरीदेवी भन्छिन्, ‘अब त सिँचाइको सुविधा भएकाले हामीले यही जमिनबाट गएको वर्ष फलफूल, तरकारी र तिनका बेर्ना
उत्पादन गरेर बेच्दा करिब तीन लाख रूपैयाँ आम्दानी गर्यौं। अब चाहिँ परिवारको गुजारा चल्ने भयो।’
सुन्दरीदेवीहरूको घरभन्दा केही पर मुक्त कमैया परिवारका २७ वर्षीय रामभजन र उनकी श्रीमती आशा चौधरी आफ्नै बारीमा तरकारीका बेर्ना स्याहार्दै गरेका भेटिए। उनीहरूले ली–बर्डबाटै सिकेर आफूले गर्दै आएको च्याउ खेती पनि देखाए। सिँचाइको सुविधा र आधुनिक खेतीप्रविधिको सीप पाएपछि यो युवा जोडीलाई आजकलका आम नेपाली युवाजस्तो वैदेशिक रोजगारमा जानैपर्छ भन्ने लागेको रहेनछ। रामभजन बताउँछन्, ‘अब वैदेशिक रोजगारीमा जानुभन्दा त म यहीँ प्रांगारिक र व्यावसायिक तरकारी खेती गर्नुपर्छ भन्ने योजना पो बनाउँदैछु।’
यो समुदायले माथि उल्लिखित कार्यक्रमकै सहयोगमा आफ्नो ‘सामुदायिक विपद् तथा जलवायु उत्थानशील योजना’ पनि बनाइसकेको छ। यो बस्ती रहेको जोशीपुर गाउँपालिकाको वडा नंं. ३ का अध्यक्षले सो योजना बनाउन सहयोग गर्नेहरूप्रति कृतज्ञता व्यक्त गर्दै ‘यस योजनामा समेटिएका क्रियाकलाप कार्यान्वयनका लागि वडास्तरबाट नगरपालिकामा पैरवी गर्ने प्रतिबद्धता समेत’ जाहेर गरेका छन्।
यी मुक्त कमैयाहरू स्थानीय ‘दौना बेबरी बचत तथा ऋण सहकारी’ संस्थासँग पनि आबद्ध रहेछन्। उनीहरूले कार्यक्रमकै सहयोगमा यस सहकारीमार्फत् आफ्नो क्षमता विकास गर्दै जलवायुजन्य प्रकोपसँग जुझ्न स्थानीय बालीका बीउहरूको संरक्षण र प्रवद्र्धन तथा उन्नत जातका बीउ उत्पादन गर्न ‘जोशीपुर सामुदायिक बीउ बैंक’ समेत सञ्चालन गरेको पाइयो। कार्यक्रमका सिकाइहरूबाट क्षमता बढेसँगै यो सहकारी तथा स्थानीयहरूको पहलमा यहाँका सिमान्तकृत बासिन्दाहरूले गाउँपालिका, कृषि ज्ञान केन्द्र तथा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषिसम्बन्धी विभिन्न कार्यक्रम तथा सहयोग समेत पाउन थालेका रहेछन्।
यसरी जलवायुमैत्री ढंगले क्षमता अभिवृद्धि गर्दै परिवर्तनको दिशातर्फ अघि बढिरहेको मुक्त कमैया लगायतका सीमान्तीकृतहरूको प्रगतिशील गाउँ रामनगर घुम्दा लाग्छ, यस बस्तीमा नेपालका धेरै गाउँहरूले आपूmलाई परिवर्तन गर्न र गैरसरकारी संस्थाहरूले पनि कसरी काम गर्नु प्रभावकारी हुन्छ भन्ने कुरा सिक्न सक्ने थुप्रै कुरा छन्। वास्तवमा, सुन्दर सुदूरपश्चिमको यो रामनगर विभिन्न सिकाइहरू हासिल गर्न सकिने एउटा पाठशाला नै बनेको छ।