ईश्वरप्रति त्यति कठोर र निष्ठुर मान्छे एउटा पशुप्रति कसरी त्यति करुण भयो? त्यस्ता बलिया नित्से कसरी त्यति कमजोर भए?
ईश्वरको मत्यु! सम्भव छ ?
नित्सेले ईश्वर मृत्युको घोषणा गरेको १ सय ३१ वर्ष बित्दैछ। यद्यपि मान्छेको मगजको माकुरो भएको छ, नित्सेको घोषणा। सामूहिक टाउको दुःखाइ आजसम्म छ। ‘गे साइन्स’ अर्थात् ‘आनन्दको विज्ञान’मा पहिलो पटक लेखिएको थियो, ‘ईश्वरको मृत्यु भयो।’
ईश्वर अर्थात् भगवान् ! मान्छौ भने इमान्दार बन। इमान्दार आत्मा स्वयं ईश्वरको घर हो। आत्माको ईश्वर मर्छ कि मर्दैन ? प्रश्नको उत्तर आफ्नै
आत्माले नै दिनुपर्छ। यद्यपि आफ्नो जिम्मेवारी टाल्न मान्छे ईश्वर देखाउँदै छ। आफ्नो पाप भगवान्को भष्मले छोप्दै छ।
हामी संसारलाई आस्ती आँखा र नास्ती आँखाले हेर्छौं। आस्ती र नास्तीले विद्यमान र अविद्यमानलाई दुई कित्तामा देख्छ। के हामीले ईश्वरलाई त्यही उभ्याएका छौ ? तर संसार तदुभयम् पनि छ, अर्थात् दुवै छन्। नोनुभयम् पनि छ, अर्थात् दुवै छैनन्। ईश्वर कहाँ छ ? मान्छेको मगजको माखो भन्भनाइरहेको छ।
निर्बन्ध निजात्मक नित्सेबारे यो आलेख पनि निर्बन्ध हुनेछ। तर निजात्मक हुने छैन। नित्सेका विभिन्न पाटा र आयमका अध्यायको संक्षिप्त सम्रिश्रण हुनेछ। लेखक निर्बन्ध तब हुन्छ, जब ऊ लेखकमात्र हुन्छ र ऊसँग विचारमात्र हुन्छ। उसको कुनै वाद हुँदैन। कुनै धर्म हुँदैन। कुनै जातीयता हुँदैन। कुनै आस्था हुँदैन। कुनै पक्ष हुँदैन। कुनै नाता हुँदैन। कुनै सम्बन्ध हुँदैन। जसको कलमलाई आफ्नै आमाको अनुहारले पनि छेक्दैन त्यही लेखकमात्र, लेखक हुन्छ। त्यही लेखकमात्र निर्बन्ध लेखक हुन्छ। नित्से तिनै निर्बन्ध लेखक थिए।
हामीसँग स्वतन्त्र इच्छा छैन। हामी अन्ध इच्छाको सिकार भएका छौं। स्वतन्त्र त उही हुन्छ, जो अन्तरआत्माले उपयुक्त विकल्पको चयन गर्न सक्छ।
प्रसियाका राजा फ्रेडरिक विल्हम चौथोले हजुरबुवा र बुवा दुवैलाई पास्टर (मिनिस्टर) पद दिए। बाबुले शिशु नित्सेलाई त्यही राजाको नाउँ दिए, उनी फ्रेडरिच विल्हम नित्से भए। पछि उनले ‘विल्हम’ छोडे। फ्रेडरिच नित्से भएर चिनिए। ठाउँअनुसारको बोलीचाली। जर्मनका जिब्रामा निचा। कतैका बोलीमा निसे। कतै निचे। हाम्री नित्से भन्छौं।
ईश्वर मृत्युको घोषणा गर्दै नित्सेले भने, ‘यदि ईश्वरको अस्तित्व छ भने मान्छेको अस्तित्व रहँदैन।’ स्वैर–निजात्मक सोचका शाहाज्यादा नित्सेलाई त्यतिले चित्त बुझेन, ‘जबसम्म ईश्वर जिउँदो छ, मान्छे कुनै जिम्मेवारी लिन तयार छैन। यी मानिस जे गर्छन्, तिम्रो ईश्वर त्यही गर्छ। त्यसैले मैले त्यो ईश्वरको हत्या गरें।’ आश्चार्यजनकमात्र थिएन, अद्भुत पनि थियो ईश्वर मृत्युको घोषणा!
हुन त धेरैअघि प्रोटागोरस (ई.पू.४९०) ले ईश्वरप्रति प्रश्न गरेका थिए। ईश्वरका बारेमा संशय गर्ने पहिलो ज्ञात पश्चिमा हुन् पनि भनिन्छ। अज्ञेयवादी प्रोटागोरस पहिलो ग्रिसेली दर्शनशास्त्री पनि मानिन्छन्। त्यसपछिका सोक्रेटिज (ई.पू.४६९), जसले कहिल्यै केही लेखेनन्। हाम्रा आदिकवि भानुभक्त आचार्यका मोतीराम भट्ट भैदिए आफ्नै चेला प्लेटो। प्लेटोले नै सोक्रेटिजलाई बिलाउन दिएनन्। ईश्वरका बारेमा प्रश्न गर्ने सोक्रेटिज पनि थिए। शासकले मृत्युदण्ड तोके हेलमक विष दिएर मारे।
ईश्वर मानवीय विश्वासको साम्राज्यमा बसेको थियो। यद्यपि छ। ईश्वरप्रतिको धारणा र विश्वासलाई नाङ्गो चुनौती दिने शक्ति थिएन। कारण अनेक हुन सक्छन्। एक कारण यो पनि हुन सक्छ– ईश्वरभन्दा माथि र ठूलो सोच्ने शक्ति नै सायद थिएन। अर्को कारण यो पनि छ– ईश्वरप्रतिको विश्वाससँगै ईश्वरसँगको त्रास!
मानवीय विश्वास र त्रासमा बसेको त्यो ईश्वरलाई नित्सेले बहसमा ल्याए। विवाद र द्वन्द्वको वायु बग्न थाल्यो। आलोचना र समर्थनमा पश्चिमा वौद्धिक आकाश आवर्तित हुन थाल्यो। बहुबोलीमा नित्से अपराधी ठानिए। निन्दक र पापीमा गनिए।
हठी र जिद्दी पनि नित्सेले पाएका उपमा हुन्।
हेर्दा लाग्थ्यो, यो उपमामा अतिशयोक्ति थिएन।
बाँसका जराजस्तो डरलाग्दा जुँगा। बाघको हेराइजस्तो निर्दिष्ट आँखा।
मान्छे देखेर हैन भोगेर चिनिन्छ। हामी देखेर धारणा बनाउँछौं, भोगेर पछुताउँछौं। देख्नेले भन्थे– गम्भीर स्वभावका नित्से अहम्कारी छन्। तर
भोग्नेले भन्थे– ठट्टागिरीमा कम छैनन्, रसिक र मिजासिला पनि उत्तिकै छन्। नित्सेले ‘दस स्पोक जरथुस्त्र’भित्र ईश्वरको मृत्यु घोषणाको आगो झन् उराले। नित्सेको मस्तिष्कमा चलेको विचारको महाभारत हो, ‘दस स्पोक जरथुस्त्र!’
जरथुस्त्रभित्र अनेक प्रतीकात्मक र लाक्षणिक संवेदनशीलनता छन्। उचाइमा उड्ने चिल र सतहमा हिँड्ने सर्प। चिलका दृष्टि र सर्पको संवेदशीलता। चिल र सर्पलाई कसरी हेर्ने ? दृष्टिका द्वार कसरी खोल्ने ? काव्यिक रहस्योद्घाटन छन्। अनेक बिम्बात्मक बिम्बमा उत्रिएका छन् मान्छे चित्र–चरित्र।
‘उवरमेञ्च’जस्तो नित्सेले निर्माण गरेका पात्र हैनन् ‘जरथुस्त्र’। ‘जरोअस्टर’लाई विनिर्माण गरेर किताबमा उतारेका हुन्।
जरोअस्टर, जसले पर्सियन साम्राज्य (ई.पू. ५५०–३३०) निर्माण गरे। अद्वेतवादी जरस्थुत्रियन धर्मका जनक पनि मानिन्छन् उनी। हिन्दुत्वमा जस्तै जन्म, मृत्यु, स्वर्ग र नर्कको अवधारणाभित्र एक बुद्धिमान ईश्वर भनेर अहुरा–माज्दालाई अगाडि ल्याए। उनी आर्यन भएको विश्वास पनि गरिन्छ। उनको प्रभाव यहुदी, इसाई र इस्लाम धर्ममा पनि देख्न सकिन्छ (द हुम्यान जर्नी डट यूएस)।
बुद्धको बुद्धत्वसँग मिल्ने पात्र हो जरथुस्त्र। जरथुस्त्र, जसले ३० वर्षको उमेरमा घर छोड्छ। ज्ञान प्राप्तिका लागि १० वर्ष एकान्तबासमा जान्छ। पहाडी गुफामा बस्छ। एक बिहान ऊ ज्ञानले भरपूर भएर उठ्छ। उदाउँदो सूर्यलाई सोध्छ, ए! महान् सितारा, तिम्रो खुसी के हुन्थ्यो, आखिर तिमीसँग यदि त्यही हुँदैनथ्यो जसको लागि तिमी चम्कन्छौ ?
पश्चिममा जर्मनी नै त्यो भूमि हो जसले संस्कृत र पूर्वीय दर्शनका अध्येता र व्याख्याता पनि जन्मायो। तीमध्ये नित्से पनि एक हुन्। इच्छा र विचारका आँखाले संसार हेर्ने अर्थर सोपेनहावरको ‘मास्टर पिस’ किताब हो, ‘द वल्र्ड एज विल एन्ड आइडिया!’ गीता दर्शनमा उभिएको यो किताबप्रति नित्सेका धेरै सहमति र केही असहमति थिए।
भाषा र ज्ञानको आफ्नै आकाशमा उड्ने नित्सेले संस्कृतको अध्ययन पनि गरेका थिए। सोपनहावरलाई प्रेरणा मान्थे। प्राकृत प्रवृत्त व्यवहारमा हुन्छ मानवीय उत्कृष्टता। सहज प्रवृत्ति नै मानवीयताको सर्वश्रेष्ठता हो। प्रवृत्तिका बारेमा नित्सेले धेरै कुरा गरेका छन्। मान्छेको मूल प्रवृत्ति नै मानवता हो। उनको स्वीकार्यता थियो, ‘मानवताको महानताका लागि मेरो सूत्र ‘आमोर फाती’ हो।’
‘आमोर फाती!’ अर्थात् नियतिप्रतिको प्रेम! ल्याटिन फ्रेज हो। नियतिक घटनालाई वस्तुनिष्ठ आकारमा राख्ने अमोर फातीले जीवनमा घटित हुन सक्ने सबै कुरा स्विकार्छ। दुःख र हानीसहित प्रतिकूलतालाई पनि प्रेम गर्छ। नियतिलाई जीवन मान्छ। नियतिसँग दयामात्र हुँदैन क्रूरता पनि हुन्छ। प्रेममात्र हुँदैन घृणा पनि हुन्छ। प्रेमबाट प्रेममात्र पैदा हुँदैन, घृणाको मूल पनि प्रेमबाट नै फुट्छ। के नित्से शासक हुन चाहन्थे ? प्रश्न अनुत्तरित रह्यो।
थियोलोजीबाट फिलोलोज हुँदै फिलोसोफीमा डुबेका नित्से सेनामा भर्ती भए। त्यो पनि बिनाकारण थिएन। जर्मनीको संकुचनले नित्सेको हृदय निचोरेको थियो। छिमेकी देशले जर्मनीको धेरै हिस्सा निलेका थिए। जर्मनी एकीकरणका लागि संघर्ष गर्नुपर्ने उनको धारणा सामु त्यहाँका शासक, सामन्त, पादरी निकम्मा थिए। तर सैनिक तालिमका क्रममा घोडाबाट लडे। घाइते भए। सेनामा अयोग्य ठहरिए। लेखनमा फर्किए।
स्वयम्को जीवन, स्वयम्का लागि दर्शन बन्नु पर्छ। त्यो जीवन–दर्शनबाट प्राप्त ज्ञान नै जीवनको दिग्दर्शन बन्छ। तिनै एक दिग्दर्शन हुन् नित्से। जसले मानिसलाई आत्म–निपुणता (सेल्फ–मास्टरी)को बाटो देखाए, ‘शक्ति अरूमाथि हैन, आफैंमाथि प्रयोग गर त्यही हो आत्म–निपुणता।’
सत्य बोल्न सम्झनु पर्दैन। नायक नै बन्नु छ आफ्नै जीवनको नायक बन्न सक्नुपर्छ। आफैंसँग इमान्दारी देखाउन सक्ने मात्र सच्चा नायक बन्न सक्छ! आफ्नै आँखाले हेर्ने, आफ्नै कानले सुन्ने, आफ्नै मस्तिष्कले सोच्ने। आफ्नै मनलाई कसैको दास नबनाउने। नित्सेले भनेजस्तो ‘स्लेभ मोरालिटी’ हैन ‘मास्टर मोरालिटी’ हो नायक। नित्से आफैंमा एक नायक हुन्।
मान्छेका आयु र मित्रताको आयु पनि उस्तै हुन्छ। तालमेलको तानाबाना कतिबेला टुट्छ थाह हुँदैन। मित्रताको आयु पनि त्यस्तै भयो नित्सेको आयुजस्तै। टिकेनन् मित्रता। एक परम मित्र थिए समयका संगीतज्ञ रिचर्ड वाग्नर। उत्कृष्ट कोटीको एक रचनात्मक प्रतिभा। नित्सेका प्रेरणा पनि थिए। सोपेनहावर पछि गहिरो प्रभाव थियो वाग्नरप्रति नित्सेको। मित्र भए पनि वाग्नरलाई नित्सेले आफ्नै पिताको प्रतिस्थापन स्वरूप पनि मान्थे। उनी पिताकै उमेरका थिए।
बल्दाबल्दैको दियो झ्याप्प निभेजस्तो भो वाग्नरसँगको मित्रता पनि। केही दिनमै निभ्यो, प्रेरणाको त्यो दियो। बाग्नरको मृत्यु भएको होइन उनीप्रतिको नित्सेको मोहको मृत्यु भएको हो। कारण अरू केही थिएन। वाग्नर घोर यहुदी विरोधी। नित्से घोर इसाई विरोधी। नित्सेलाई टुटाउने एक कारण वाग्नरको अत्यधिक अहङ्कार पनि थियो। अर्को कारण भुसको आगोजस्तो थियो, वाग्नरकी पत्नीसँग नित्सेको प्रेम!
नित्सेलाई फासीवादको आरोप पनि नलागेको होइन। नाजीवादका उत्प्रेरक पनि भनियो। जर्मनीमा फासीवादलाई बढावा दिन ‘जरथुस्त्र’ सहयोगी भयो भन्ने मत पनि बाक्लो भयो। नित्सेका रचनाले सम्भ्रान्तवादको खोजी गरेको ‘बात’ पनि लाग्यो।
हिटलरको उदयसँगै नित्सेको ‘दस स्पोक जरथुस्त्र’ संसारका पाठकका लागि काव्यिक दर्शनमात्र भएन जर्मन सैनिकका लागि अनिवार्य पाठ्यक्रम पनि भयो। यथार्थतः यसलाई फासीवादी दर्शनका रूपमा व्याख्या गरियो। लाखौं प्रति छापियो। सैनिकलाई वितरण गरियो। उवरमेञ्चको ‘कन्सेप्ट’लाई नाजी पार्टीले विकृत गरिदियो। नित्सेको निधारमा आर्यनवादी र यहुदी विरोधी छाप पनि लाग्यो।
त्यो आरोपका पछाडि उनकी बहिनी एलिजावेथ फस्र्टर नित्सेलाई मुख्य दोषी मानिएको छ। भनिन्छ, उनी फासीवादको घोर समर्थक थिइन। यहुदी विरोधीसँग विवाह गरिन्। पारिवारिक घरलाई ‘नित्से अर्काइभ’ नाम दिइन्। जर्मनीलाई ‘आर्यन कोलनी’का रूपमा शुद्ध श्वेत सर्वोच्चता स्थापित गर्ने अभियानमा लागिन्। आफ्ना पति वर्नहार्ड फोस्र्टरलाई नायक बनाउने सपना देख्न थालिन्। सफल भइनन्। ठूलो वित्तीय घोटलामा आरोपित भइन्। आत्महत्या गरिन्। एडल्फ हिटलर स्वयम् पनि उनको मलामी थिए।
- ईश्वर मानवीय विश्वासको साम्राज्यमा बसेको थियो। यद्यपि छ। ईश्वरप्रतिको धारणा र विश्वासलाई नाङ्गो चुनौती दिने शक्ति थिएन। कारण अनेक हुन सक्छन्।
- लेखक निर्बन्ध तब हुन्छ, जब ऊ लेखकमात्र हुन्छ। जसको कलमलाई आफ्नै आमाको अनुहारले पनि छेक्दैन त्यही लेखकमात्र, लेखक हुन्छ। नित्से तिनै निर्बन्ध लेखक थिए।
‘द विल टु पावर’ नित्सेको मृत्युपछि छापियो। यो किताबलाई पनि नाजीवाद उन्मुख भनियो। नित्सेका रचनालाई विकृत बनाउँदै फासीवादको पक्षपाती बनाउने देन उनकै बहिनीको थियो।
एउटा असल मान्छेभित्र एउटा सुन्दर संसार पनि हुन्छ। तर देखेको मान्छे र भोगेको मान्छे फरक हुन्छ। इसाई पादरी परम्परा र परिवारका नित्से। ईश्वरप्रतिको उनको कठोरताभित्र इसाईप्रतिको वितृष्णामात्र हैन घृणा घोलिएको थियो। नित्सेले पनि देखेको इसाईत्व र भोगेको इसाईत्वमा सायद फरक पाए। मानवीय निचताको पराकाष्ठालाई धर्मको आवरणभित्र लुकाइन्थ्यो। अझै लुकाइन्छ। मान्छेको निर्वस्त्र पापलाई ईश्वरीय अभिलाषाका रूपमा बुझाइन्थ्यो र बुझिन्थ्यो। त्यो घृणित क्रियाकर्म आज पनि छ। त्यसैले नित्से त्यो ईश्वर र त्यो धर्मप्रति कठोरता देखाए। उनी भन्थे, ‘इसाई ईश्वरप्रतिको विश्वास अविश्वसनीय भइसक्यो। यो ईश्वरभन्दा अगाडि हामी बराबार थियौं।’
ईश्वरप्रति त्यति कठोर र निष्ठुर मान्छे एउटा पशुप्रति कसरी त्यति करुण भयो ? त्यस्ता बलिया नित्से कसरी त्यति कमजोर भए ? ट्युरिन (इटाली)को त्यो सुन्दर बिहानी उनका लागि कसरी एकाएक क्रूर–कुरूप भयो ? कसरी मृत्युको ढोका बन्यो ?
घटना सन् १८८९ को हो। सडकमा हिँड्दा हिँड्दैका आँखा एक्कासि रोकिए। लर्खराउँदै टाँगा तानिरहेको घोडाको शरीरबाट रगत चुहिँदै थियो। माथिबाट मालिकले कोर्रा बजाइरहेको थियो। नित्सेले आफूलाई रोक्न सकेनन्। घोडालाई अँगालो हाले, ‘म तिमीलाई बुझ्छु’ रुनथाले नित्से। करुणा शक्ति सामु सबै शक्ति कमजोर हुन्छन्।
एउटा समयभित्र मान्छेको जीवनको दुई पाटो हुन्छ। अँध्यारो र उज्यालोको योग हो समय। उनै नित्सेको ‘आमोर फाती’ले कठिन समयलाई पनि माया गर्न सिकाउँछ। अँध्यारोमा पनि बाँच्न सिकाउँछ। नित्से जीवनको लामो समय अँध्यारोमै बाँचे।
कवि हृदयका नित्से घोडालाई अँगालो हाल्दै करुणाको भासमा डुबे। त्यहीँ ढले। बेहोस भए। ‘साइकाटिक ब्रेक’को सिकार भए। करुणाको त्यो गहिरो भासबाट कहिल्यै निस्कन सकेनन्। तैरिरहेको जहाज एक्कासि सागरमा डुबे जस्तो भयो नित्सेको जीवन। दस वर्ष कोमामा बसे। मौन मुहार र खाली आँखा लिएर मृत्युको प्रतीकात्मक प्रतीक भएर बाँचे। संसारमै थिए तर संसारसँगै बेखबर।
नित्से स्वयं संगीतका साधक पनि थिए। संगीतका सुर–तालसँग खेल्थे–नाच्थेतर जीवनका सुर–तालसँग धेरै खेल्न–नाच्न पाएनन्।
घोडालाई अँगालो हाल्दा ४४ का थिए। ५४ को उमेरमा बिते। अक्टोवर १५, १८४४ मा आँखा खोलेका नित्सेले अगस्ट २५, १९०० मा आँखा चिम्लिए।
कहिलेकाहीँ आफ्नै उत्कृष्ठालाई पनि ग्लानीको नुनिलो आँसुले सडाउन बाध्य हुन्छ, मान्छे। जब मान्छेलाई मान्छे भएर बाँच्न गाह्रो हुन्छ त्यतिबेला हाम्रा महाकवि देवकोटाजस्तै हुन्छ मान्छे। देवकोटाकै बोली बोल्छ मान्छे, ‘ईश्वर, मलाई भेडा बनाइदेऊ’। नित्सेले ईश्वरसँग आस गरेनन्। आमासँग भने, ‘मटर आइच बिन डम (आमा म मूर्ख हुँ)!’ उनको अन्तिम वाक्य यही थियो।
मुक भए नित्से। संसार अमुक भयो। नित्सेका बारेमा बोल्न थाल्यो। बाँचुञ्जेल हराएका नित्सेलाई खोज्न थाल्यो। जब नित्से–जीवनको बत्ती निभ्यो तब नित्से–चेतनाको राँको बल्न थाल्यो।
आत्म–विजयभन्दा ठूलो अर्को कुनै विजय हुँदैन। मान्छे आफ्नै मूर्खतापूर्ण पीडासँग जुध्न सकेको छैन। आज पनि तर्कपूर्ण मस्तिष्कका उपजभन्दा अविश्वसनीय विश्वासका विषयहीन विषयहरू नै विषय बनेका छन्।
गहिरो आत्मविश्वासको बलियो प्रतिविम्ब नित्से, आफैंभित्र अस्तित्वको असहनीय प्रकाश थिए। दर्शनमा क्रान्तिको क्रमण थिए। एक निर्बन्ध काव्यिक दार्शनिक योद्धाको भयानक मृत्यु आफैंमा एक सूर्यको अस्तजस्तै थियो। उबेला ‘नित्से–ईश्वर युद्ध’लाई युरोपका पुस्तक प्रकाशक–बिक्रेताले अर्को नाउँ दिए– ‘युरो–नित्सेन युद्ध’। युद्ध अहिले पनि चलिरहेको छ। सडकका भित्ता–पर्खाल र इन्टरनेटमा देख्न सकिन्छ–
‘नित्से मरिसक्यो– ईश्वर।’
‘ईश्वर मरिसक्यो– नित्से।’