भद्रपुरमा आगलागी हुँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति
झापा : भद्रपुरमा आगलागी हुँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। भद्रपुर नगरपालिका-८ स्थित मेची क्याम्पस नजिकै बस्ने चूडामणि उप्रेतीको घरको माथिल्लो तलमा शनिबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उप्रेतीले घरको माथिल्लो तलामा पानीको ट्यांकी राख्नलाई फलामको रड वेल्डिङ गर्ने क्रममा आगोको झिल्को लागेर निर्माणाधीन प्यानलको फर्मबाट बनेको दुईवटा कोठा जलेर नष्ट भएको छ।
घरमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आधा घण्टाभित्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। त्यस्तै भद्रपुर-६ स्थित खुश्वु टी स्टेट नजिकै खेतमा रहेको परालको कुन्यूमा समेत आगलागी भएको छ। शनिबार दिउँसो १ बजेबाट लागेको आगो भद्रपुर र मेचीनगरको दमकलले नियन्त्रण लिएको जनाइएको छ।