बिर्तामोडमा प्रथम जुत्ता–चप्पल व्यापार महोत्सव हुँदै
झापा : झापाको बिर्तामोडमा प्रथम जुत्ता–चप्पल व्यापार महोत्सव हुने भएको छ। ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यही पुस ९ गतेदेखि एक महिने जुत्ता–चप्पल व्यापार महोत्सव आयोजना हुन लागेको हो।
नेपाली जुत्ता उद्योगी समूहको सहकार्यमा बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिद्वारा आयोजना हुने महोत्सवका बारेमा शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
बिर्तामोडस्थित सिटी सेन्टरमा हुने महोत्सवले स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उद्देश्य मुख्य राखिएको आयोजक समितिले जनाएको छ।
बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने महोत्सवमा नयाँ नयाँ डिजाइनका आकर्षक जुत्ता–चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने रन सुज इन्डष्ट्रिजका रुद्र न्यौपानेले बताए।
उनका अनुसार महोत्सवभरि २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने छ। महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डको सहभागिता रहने छ। महोत्सवमा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुनेछ।
जसमा उत्पादक कम्पनी र ब्रान्डहरूमा रोयल फटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको बीएफ डियर हिल शुज लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरीड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, स्मार्ट शुज इन्डष्ट्रिज प्रालिको स्मार्ट शुज, डीजे शुज कम्पनीको डिजे शुज, एक्सन फुटवेयर कम्पनीको टुरिस्ट शुज र रन शुज इन्डष्ट्रिज प्रालिको रन शुज रहने न्यौपाने जानकारी गराए।
महोत्सवमा करिब ३ लाखलाई अवलोकन गराउने उद्देश्य राखिएको उनको भनाइ छ। प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ। आर्थिक मन्दी र बैंकहरूमा देखिएको आर्थिक तरलताका कारण उद्योग तथा व्यवसाय धरायशी भइरहेको यस्तो विषम परिस्थितिमा उद्योगधन्दालाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनका निमित्त पनि यो महोत्सवको आयोजना गरिएको उनले बताए।
यो महोत्सव कोशी प्रदेशमै पहिलो र देशभरको सातौँ महोत्सव भएको उनको भनाइ छ।