लाभांश नदिने कम्पनीको सूची लम्बिँदै
काठमाडौं : लाभांश प्रस्ताव नगर्ने सूचीकृत कम्पनीको सूची थप लामो बनेको छ। गत आर्थिक वर्षसम्मको नाफाबाट लाभांश वितरण गर्ने मनसाय बनाउनेको सूचीमा अरू कम्पनी थपिएका हुन्।
गत बुधबार अपराह्नपछि सञ्चालक समिति बैठक बसेर लाभांश प्रस्ताव गर्ने कम्पनीमध्ये नेपाल बैंक, अरुण काबेली पावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स र पोखरा फाइनान्सले लाभांश प्रस्ताव गरेनन्। यसअघि मंगलबार अपराह्न र बुधबार बिहान सञ्चाल समिति बैठक बसेका ज्योति विकास बैंक, सीवाईसी लघुवित्त, हिमालयन बैंक, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जीले पनि लाभांश प्रस्ताव गरेका थिएनन्।
नेपाल बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो। नेपाल बैंकले गतवर्ष २ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
अरुण काबेली पावर लिमिटेडले पनि यसपालि लाभांश नदिने भएको छ। कम्पनीले लाभांश प्रस्ताव नगरी साधारणसभा बोलाएको छ। सभा पुस २६ गते मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभा प्रयोजनार्थ कम्पनीको बुक क्लोज पुस १९ गते हुँदैछ। अर्थात् तसर्थ पुस १८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्। कम्पनीको एजीएममा गत आर्थिक वर्षको नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ भने आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो। बैठकले लाभांश प्रस्ताव बिनै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरेको छ भने प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ।
लगानीकर्ताको हात रित्तो बनाउने कम्पनीको सूचीमा पोखरा फाइनान्स थपिएको छ। कम्पनीले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने घोषणा गरेको छ।
यता मेरो माइक्रोफाइनान्सको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले पनि लाभांश प्रस्ताव गरेको छैन। गत आवको नाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफामा राख्ने गरी स्वीकृतिका लागि केन्द्रिय बैंकलाई अनुरोध गर्ने निर्णय सञ्चालक समितिले गरेको हो।
लाभांश प्रस्तावबिनै एजीएम बोलाउनेहरू कुनकुन ? कहिले बस्छ सभा ?
३ लघुवित्त र ८ जलविद्युत् कम्पनीले लाभांशको प्रस्तावबिनै साधारणसभा बोलाएका छन्।
सामुदायिक लघुवित्तले पुस २७ गते तथा उपकार लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्तले पुस २८ गते वार्षिक साधारणसभा बोलाएका हुन्। उपकारको सभा होटल ट्रीटप ह्याभेन कोहलपुर–११ बाँकेमा बिहान १० बजे सुरु हुनेछ। सभा प्रयोजनार्थ कम्पनीको बुक क्लोज पुस १८ गते हुँदैछ। सामुदायिकको साधारणसभा पुस २७ गते होटल उग्रचण्डी, बनेपा–७ मा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभा प्रयोजनार्थ संस्थाको बुक क्लोज पुस १९ गते हुँदैछ। दुवै लघुवित्तले लाभांशसम्बन्धी प्रस्ताव गरेका छैनन्। उनीहरूको साधारणसभामा आर्थिक वर्ष २०७९÷८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ भने आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखिएको छ।
मिथिलाको साधारणसभा न्यू बौवा होटल एन्ड गेष्ट हाउसमाको सभा हल, मिथिला नगरपालिका–१०, लालगढ, धनुषामा बिहान ११ बजे सुरु हुनेछ। संस्थाले पनि लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन। सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र संस्थापक समूहबाट ३ जना सञ्चालक नियुक्ति गर्नेछ। त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरूसँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।
लाभांश प्रस्ताव बिनै एजीएम बोलाउने जलविद्युत कम्पनीहरू न्यादी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, इस्टर्न हाइड्रोपावर, अपि पावर कम्पनी, सान्जेन जलविद्युत्, सामलिङ पावर कम्पनी, एसियन हाइड्रोपावर र मध्यभोटेकोशी लजविद्युत् कम्पनी हुन्।
न्यादी हाइड्रोपावर लिमिटेडले पुस २७ गते साधारणसभा बोलाएको छ। सभा क्वालिटी ब्यांकेट बुद्धनगर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभा प्रयोजनार्थ कम्पनीको बुक क्लोज पुस १७ गते हुँदैछ। सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालक सहित २ जना सञ्चालक निर्वाचन गर्नेछ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एजीएम पुस २९ गते हुनेछ। कम्पनीले मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो। सभा प्रयोजनार्थ कम्पनीको बुक क्लोज पुस २० गते हुँदैछ। इस्टर्न हाइड्रोपावरले पुस २९ गते साधारणसभा बोलाएको छ। सभा होलिडेज पार्टी भेन्यू भरतपुर चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभा प्रयोजनार्थ कम्पनीको बुक क्लोज पुस १७ गते हुँदैछ।
अपी पावर कम्पनी लिमिटेडले पुस २७ गते साधारणसभा बोलाएको छ। सभा बानेश्वर ब्यांकेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभा प्रयोजनार्थ अपीको बुक क्लोज पुस १८ गते हुँदैछ। सान्जेन जलविद्युत्ले पुस २९ गते साधारणसभा बोलाएको छ। साधारणसभा कार्की पार्टी प्यालेस सुकेधारा, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ। सभा प्रयोजनार्थ कम्पनीको बुक क्लोज पुस १९ गते हुँदैछ। सभाले कम्पनीको नियमावली संशोधन सम्बन्धमा विशेष प्रस्ताव पारित गर्ने बताइएको छ।
सामलिङ पावर कम्पनी लिमिटेडले पुस २७ गते साधारणसभा डाकेको छ। सभा द इन्ट्रान्स क्याफे, ललितपुरमा बिहान साढे १० बजेबाट सुरु हुनेछ। सभा प्रयोजनार्थ कम्पनीको बुक क्लोज पुस १७ गते हुनेछ। यता एसियन हाइड्रोपावरले पनि पुस २७ गते नै सोही स्थानमा साधारणसभा बोलाएको छ। सभा दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ।
सभा प्रयोजनार्थ एसियनको बुक क्लोज पुस १७ गते हुँदैछ।
यता मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले पुस २७ गते साधारणसभा बोलाएको छ। सभा कुण्डलिनी दरबार ब्यांकेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभा प्रयोजनार्थ कम्पनीको बुक क्लोज पुस १७ गते हुँदैछ। सबै जलविद्युत् कम्पनीको वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ भने आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ।
गरिमा र एचआईडीसीएलले लाभांश दिने
गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकले ४९ करोड २८ लाख ३० हजार २७० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने २ करोड ५९ लाख ३८ हजार ४३५ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ। प्रस्तावित लाभांश नियामक राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ।
यता हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत वर्षको नाफाबाट करसहित ५.२६३ प्रतिशत नगद लाभांश घोषण गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ। सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ।
लाभांश घोषणा गर्न ३ बैंक बाँकी
नेप्सेमा सूचीकृत १९ बैंकमध्ये १६ बैंकले गत आर्थिक वर्षसम्मको खुद मुनाफाबाट लाभांश घोषणा गरेका छन्। अब लाभांश घोषणा गर्न बाँकी बैंकहरू कृषि विकास, प्रभु र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमात्र हुन्।
तीनै बैंकले लगानीकर्ताको हात रित्तो बनाउने अनुमान गरिएको छ। यसअघि कुमारी, एनएमबी, हिमालयन र प्राइम कमर्सियल बैंकले लगानीकर्ताको हात खाली बनाइसकेका छन्।