कोरला नाका जोड्ने सडकमा पाँचवटा पुल सञ्चालनमा
जोमसोम : उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकखण्डमा निर्माणधिन पुलमध्ये पाँचवटा पक्की मोटरेबल पुल सञ्चालनमा आएका छन् । बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको छाक्ताङ खोला पुल र लोमान्थाङ-कोरला सडकखण्ड अन्तर्गतका चारवटा निर्माणधिन पक्की मोटरेबल पुल सञ्चालनमा आएको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले जनाएको छ ।
राष्ट्रिय गौरवको सडकअन्तर्गत मुस्ताङको छाक्ताङ खोला पक्की पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशत रहेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिए । पुल निर्माणका लागि केही फिनिसिङका काम बाँकी रहेको भएपनि यातायात संञ्चालनका खुल्ला गरिएको सूचना अधिकारी चापागाईले उल्लेख गरे ।
पुल निर्माण अन्तिम चरणमा रहँदै गर्दा यातायातका साधन आवतजावत गर्न थालेपछि बर्खायाममा मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई निकै सहज हुँने आयोजनाका सूचना अधिकारी चापागाईको भनाई छ ।
यसैगरी जोमसोम—कोरला सडकखण्ड अन्तर्गत लोमान्थाङ—कोरला सडकमा पर्ने आयोजनाका ४ वटा पक्की मोटरेबल पुल निर्माण पनि अन्तिम चरणमा छन् । पुल निर्माण अन्तिम चरणमा रहँदै गर्दा लोमान्थाङ,किम्लिङ,नाम्डोक र भर्मा खोलामा निर्माणधिन पुलहरु यातायात आउजाउ गर्ने मिल्ने गरी संञ्चालनमा आएको आयोजनाले जनाएको छ । यि ४ वटै पुल २०७६ साल असार ३१ गते ठेक्का सम्झौता भएको थियो ।सम्झौता अवधि २०८० साल असोज ३० गते सम्म रहेको लोमान्थाङ—कोरला ४ पुलको काम म्याद सकिएको २ महिनापछि यातायात संञ्चालनका लागि योग्य भएको हो । ४ वटै पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशत भन्दा माथि रहेको आयोजनाका सूचना अधिकारी चापागाईले जानकारी दिए ।
लोमान्थाङ,किम्लिङ,नाम्डोक र भर्मा खोला पुल निर्माणको जिम्मा मुक्तिननाथ अमित जेभीले लिएको थियो । भौगोलिक विकटताका बावजुद निकै द्रुत गतिमा पुल निर्माण सुरु गरेको कम्पनीले सन्तोषजनक रुपमा भौतिक प्रगती गरेको आयोजनाको भनाइ छ ।
यातायात सञ्चालनमा आएको एक स्पान रहेको २० मिटर लामो लोमान्थाङ पुलको लागत ४ करोड ६८ लाख, २ स्पानको ५० मिटर लम्बाईको किम्लि‘ङ खोला पुलको लागत ६ करोड ३० लाख,२ स्पानकै ५० मिटर लामो नाम्डोक खोला पुलको लागत ६ करोड ३७ लाख र २ स्पानको ८० मिटर लम्बाईको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख छ ।
राष्ट्रिय गौरवको सडक अन्तर्गत उपल्लो मुस्ताङमा ४ वटा पुल एकै साथ संञ्चालनमा आएपछि बर्खायामको मौसममा कोरलानाका प्रस्थानका लागि यातायातका साधनलाई निकै सहज हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।
राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत यसअघि ५ वटा पुल निर्माण सम्पन्न भइसकेको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले बताएको छ । निर्माणको अन्तिम चरणमा रहेका ५ वटा सम्पन्न भएमा कोरला सडकमा १० वटा पक्की पुल सम्पन्न हुनेछन् । यसअघि म्याग्दीको घट्टे खोला पुल,राहुघाट खोला पुल, मुस्ताङको लेते खोला पुल, पान्डा खोला पुल र स्याङ खोला पुल आयोजनालाई हस्तान्तरण भइसकेको छ ।