मुस्ताङमा घरपालुवा तथा भुस्याहा कुकुरको बन्ध्याकरण
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा घरपालुवा तथा भुस्याहा (छाडा कुकुर)को बन्ध्याकरण गरिएको छ। जिल्लाका ५ स्थानीय तहमध्ये मुस्ताङ सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अवस्थित १६१ वटा घरपालुवा तथा छाडा भुस्याहा कुकुरहरूको बन्ध्याकरण गरिएको हो।
जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको आयोजना मुस्ताङमा पहिलो पटक घरपालुवा तथा छाडा भुस्याहा कुकुरहरूको नियन्त्रणका लागि ३ दिने कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको थियो। कुकुर बन्ध्याकरण शिविरलाई सम्बन्धित गाउँपालिकाहरूले सहकार्य गरेका थिए।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको आयोजनामा भएको कुकुर बन्ध्याकरण शिविर तथा कुकुरहरूको टोकाइबाट लाग्ने रबिज रोगबाट नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले गरिएको कार्यक्रममा केन्द्रीय रेफरल पशु चिकित्सालय काठमाडौं र भ्याली एनिमल क्लिनिक काठमाडौंले प्राविधिक सहयोग गरेका थिए।
प्राविधिक सहयोगमा करिव १० जनाको पशु विशेषज्ञ टोलीले मुस्ताङमा छाडा भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरूलाई बन्ध्याकरण गरिनुका साथै रेबिज भ्याक्सिन लगाएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी लालमणि अर्यालले जानकारी दिए।