नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ
काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने संक्रमितको नमूना संकलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ।
प्रयोगशालाले सीमा नाकामा संक्रमितबाट संकलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरेको हो। प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट) फेला नपरेको बताए।
उनले ति नमूनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताए। भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा संकलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरिएको हो।
'सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका नमूना पठाउन भनेका छौँ', उनले भने, 'डिसेम्बर महिनाका पनि हामीले जिन सिक्वेन्सिङ गर्ने छौं।' सरकारले भारतको केरला राज्यमा देखिएको संक्रमणको रोकथाम र उपचारका लागि तयारी अवस्था रहेकाले सबैलाई नडराउन आग्रह गरेको छ।
प्रयोगशालाले चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनियाको जिन सिक्वेन्सिङ गर्ने तयारी गरेको छ। प्रयोगशालाका निर्देशक डा भट्टले जिन सिक्वेन्सिङका लागि किट रहेकोले नमूना संकलन गर्ने तयारी भइरहेको जानकारी दिए।