व्यापार छोडेर किवी खेतीमा
सिन्धुपाल्चोक : २०७२ सालको भूकम्पमा सिन्धुपाल्चोकले ठूलो क्षति बेहार्नु पर्यो। यो भूकम्पले दैनिक जनजीवन, भौतिक संरचनासँगै व्यापार व्यवसायलाई धराशायी नै बनायो।
भूकम्पपछि धेरैले गरिरहेको व्यापार छाडेर पलायन भए भने कतिलाई भूकम्प नै अवसर बनिदियो। त्यसको एक उदाहरण हुन् भोटेकोशी गाउँपालिका– १ लिस्तीका अर्जुनबहादुर सापकोटा।
तातोपानी नाकाबाट व्यापार गर्दै आएका सापकोटाका लागि भूकम्प ‘टर्निङ पोइन्ट’ बन्यो। २०७२ सालअघिसम्म खासा व्यापार गरेका सापकोटाले भूकम्प र भोटेकोशी बाढीका कारण तातोपानी नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेसा सुरु गरे।
सुरुवाती समयमा २ सय ५० बोटबाट किवी खेती सुरु गरेका उनले त्यसलाई बढाएर अहिले १ हजार ५ सय बोट पुर्याएका छन्। ग्लोरियस एग्रो प्रालि नामक कम्पनी दर्ता गरेर सापकोटाले दुई सय रोपनी क्षेत्रफलमा किवी खेती गरिरहेका छन्।
भूकम्पको कारण उनले घर खेतसँगै आमालाई पनि गुमाउन पुगे। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुटको अध्यक्षसमेत रहेका सापकोटाले व्यापार छाडेर कृषि पेसाको सुरुवात गरे। लिस्तीको सेमुङमा सापकोटाले किवीसँगै आलु, लसुन र बाख्रापालन सुरु गरे। किवी खेतीमा १० स्थानीयले नियमित रोजगार पाएका छन्।
भूकम्पअघि नै किवी खेतीलाई व्यवस्थित गरेर यसको व्यवसायी खेती विस्तारमा लाग्ने सोच बनाएका सापकोटाले २०७५ सालबाट निरन्तर यही पेसालाई सम्हाल्दै आएका छन्। आफूमात्रै होइन, उनले गाउँका एक सय घरलाई पनि आधुनिक कृषि प्रणालीमा जोडेका छन्।
भोटेकोशी गाउँपालिका– १ भित्र अहिले सापकोटा जस्तै अन्य कृषकले करिब ३ हजार ७ सय किवीका बिरुवा लगाएका छन्। ‘युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ भन्दै किवी खेतीको सुरुआत गरेको हुँ’, सापकोटाले भन्छन्, ‘उत्पादन भएको कृषि उपजलाई स्थानीय सरकारले बिक्री वितरण गर्ने प्रबन्ध मिलाउने हो भने युवाहरू कृषि पेसामा आकर्षित हुन्छन्।’
सुरुसुरुमा समस्या भए पनि अहिले किवीको बोटले फल दिन थालेपछि आनन्द लागेको सापकोटाले सुनाए। एक पटकको मेहनतले लामो समय राम्रै फल दिने भएकाले सबै कृषकले यो खेती गर्दा राम्रो हुने उनको भनाइ छ।
अहिले उनी फर्ममा तयार भएको किवी टिप्ने, बजारसम्म पुर्याउने र भण्डारण गर्नमै व्यस्त छन्। सापकोटाले अहिलेसम्म पौने तीन करोड रुपैयाँ किवी खेतीमा लगानी गरिसकेका छन्।