‘सर्वसुलभ शुल्कमा बेलायतको डिग्री प्रदान गर्ने कलेज हौं’

‘सर्वसुलभ शुल्कमा बेलायतको डिग्री प्रदान गर्ने कलेज हौं’

ललितपुरको कुपडोलस्थित द वेस्टमिन्स्टर कलेज (टीडब्लूसी) ले चारवर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स तथा बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड फरेन्सिक्स विषयको पढाइ गरिरहेको छ।

बेलायतको युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्बन्धनमा सञ्चालित यस कलेज ब्रिटिस एजुकेसन ग्रुपद्वारा सञ्चालनमा रहेको छ। नेपालमा सबैभन्दा सर्वसुलभ शुल्कमा नै बेलायतको डिग्री प्रदान गरिरहेको यस कलेजका प्रिन्सिपल अरुणलाल जोशीसँग अन्नपूर्ण पोस्ट्ले गरेको कुराकानी :


विद्यार्थीले संकाय छनोट गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
विश्वविद्यालय तहमा विद्यार्थीले संकाय छनोट गर्दा +२ मा आएको नतिजालाई आधार बनाउँदा राम्रो हुन्छ। जस्तो कि विद्यार्थीमा गणितीय क्षमता छ भने उसका लागि इन्जिनियरिङ तथा आईटीजस्ता विषय प्रभावकारी हुनसक्छ।

फस्टाउँदै गएको सूचना तथा प्रविधिको क्षेत्रमा राम्रो भविष्य रहेको हुँदा आजभोलि विद्यार्थीको रोजाइ आईटी विषय पनि पर्ने गरेका छन्। यस विषय छनोट गर्नका लागि सुरुमै आईटी क्षेत्रको ज्ञान नै चाहिन्छ भन्ने छैन। तर, उनीहरूलाई यस क्षेत्रमा केही काम गर्ने रुचि भएको खण्डमा कम्प्युटर साइन्स, साइबर सेक्युरिटी एन्ड फरेन्सिक्सजस्ता विषयमा भर्ना हुन सक्छन्।

शैक्षिक गुणस्तर वृद्धिका लागि प्रणाली परिवर्तन आवश्यक छ, कि छैन ?

समयानुक्रमसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारले फरक–फरक खालका जनशक्तिको माग गर्दछ। हिजो निकै राम्रो माग भएका विषयहरू आजको बजारका लागि उपयुक्त नहुन सक्छ। त्यसैले शैक्षिक संस्थाले वर्तमान तथा भविष्यको बजारको मागलाई मध्यनजर गर्दै सोहीअनुसारका विषयको अध्यापन गराउनुपर्छ। बजारले सधैं दक्ष जनशक्तिको माग गर्ने भएकाले शैक्षिक संस्थाले पास मात्र गराउनेभन्दा पनि ग्र्याजुयट विद्यार्थीमा हुनुपर्ने सम्पूर्ण गुणहरू जस्तै ‘क्रिटिकल थिंकिङ र प्रब्लम सल्भिङ’को विकास शैक्षिक संस्थामा नै गराउनुपर्छ। 

यसका लागि सम्बन्धित विश्वविद्यालयका तर्फबाट पनि इनोभेटिभ टिचिङ मेथडलाई प्रोमोट गर्ने, रिथिंकिङ एसेस्मेन्ट स्ट्राटेजी, प्रोजेक्ट वेस्ट लर्निङ मेथड तथा शिक्षकहरूलाई पर्याप्त तालिम दिने कुराहरूमा ध्यान दिनु आवश्यक छ। एउटा शैक्षिक संस्थाले विद्यार्थीको भर्ना गरेपछि इन्टर्नसिपसम्मको अवधिसम्म आइपुग्दा उसको समग्र पक्षको विकासमा ध्यान दिनुपर्छ।

 विद्यार्थी बिदेसिनुको प्रमुख कारण के हो ?

तथ्यांकअनुसार पछिल्लो एक वर्षमा एक लाख १३ हजार जनाले उच्च शिक्षाका लागि ‘नो अब्जेक्सन लेटर’ लिएको देखिन्छ। विद्यार्थीहरू विभिन्न कारणले गर्दा बिदेसिएका छन्। विदेशी पढाइ, उतै धेरै अवसर, गुणस्तरीय जीवनयापन व्यथित गर्न पाइने कारणले विद्यार्थी पलायन भइरहेका छन्। त्यस्तै, विद्यार्थीहरू बाहिरनुको अर्को कारण नेपालमा समयसापेक्ष शिक्षा छैन भन्ने पनि हो। तर, पछिल्लो समयमा नेपालमा नै राम्रा विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेर विदेश सरह नै शिक्षा प्रदान गर्ने संस्थाहरू सञ्चालन भइरहेका छन्।

नेपालमा नै विश्वस्तरीय शिक्षा प्रदान गर्ने यस्ता शैक्षिक संस्थाहरूले गुणस्तरमा सम्झौता नगरी दक्ष जनशक्ति निर्माण गरी उद्यमी वा रोजगारीको बजारमा योगदान पुर्‍याइरहेको यथार्थ पनि हामीले भुल्नु हुँदैन। 

नेपाली र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको शैक्षिक गुणस्तरमा के–  कस्ता भिन्नता छन् ? 
पछिल्लो समय विद्यार्थीको रोजाइ विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजहरू भइरहेका छन्। विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन भइरहेका कलेजहरूले सोही विश्वविद्यालयको मापदण्डअनुसार भौतिकसँगै दक्ष जनशक्तिको परिचालन गर्नुपर्ने हुन्छ।

शैक्षिक क्यालेन्डरको पूर्ण रूपमा पालना गर्ने सबालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन भइरहका कलेजहरू अगाडि छन्। विद्यार्थीहरूको ग्र्याजुएसन समयमा नै हुने सुनिश्चित छ। साथै, व्यावहारिक शिक्षा, इन्टरनेसनल एक्सपोजर दिने, पढ्ने वातावरण राम्रो दिने, ई–लर्निङको सुविधामा यस्ता शैक्षिक संस्थाहरू अगाडि छन्। समयसापेक्ष विषयको अध्यायन पनि यिनै शैक्षिक संस्थामा हुने गरेका छन्। 

विदेशी विश्वविद्यालयको डिग्री किन लिने ?

हालको विद्यार्थीको मागअनुसारको विषय विदेशी विश्वविद्यालयले प्रदान गरिरहेका छन्। यस्ता शैक्षिक संस्थाले डिग्रीमात्र प्रदान गर्नेभन्दा पनि सफलताका लागि महत्वपूर्ण ‘लाइफ स्किल’ सिकाउँछन्। यससँगै भर्ना प्रक्रिया सहज, विश्वव्यापी भूतपूर्व विद्यार्थीसँगको समन्वय गर्ने अवसरसँगै विदेशमा नै गएर थप अध्ययन गर्न पनि सहज हुने भएकाले विदेशी विश्वविद्यालयको डिग्रीमा विद्यार्थीको माग छ।

हाम्रो शिक्षा प्रणाली व्यावहारिक छैन भनिन्छ, कारण के हो ?

नेपालको शिक्षा पद्धति सैद्धान्तिक धारमा धेरै फोकस भएको छ। सैद्धान्तिक ज्ञानमात्रै हुँदा ‘जव मार्केट’ मा कतिपय दीक्षित विद्यार्थी फिट हुन सकेका छैनन्। प्रयोगात्मक शिक्षण विधिमा बढी जोड दिन सकिएको खण्डमा राम्रो हुन्छ। पासमात्रै गर्नका लागि पढ्ने÷पढाउने, घोकन्ते शिक्षा प्रवृत्तिको परिमार्जन गर्नु आवश्यक छ। 

अर्को कुरा भनेको तीन घण्टाको अवधिमात्रै सीमित गरेर परीक्षा लिने पद्धति पनि व्यावहारिक छैन। समयानुकूल शैक्षिक संस्थाहरूमा पर्याप्त भौतिक तथा शैक्षिक पूर्वाधारहरूमा परिमार्जन हुन नसक्दा पनि यस्तो आरोप लाग्ने गरेको छ। यद्यपि, पछिल्लो समयमा विश्वस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू नेपालमा नै स्थापना भइरहेका छन्, ती संस्थाहरूले पछिल्लो समय बजारमा माग भएका विषयको अध्यापन गराएर आवश्यक जनशक्ति निर्माणमा सघाउ पुर्‍याएका छन्। ती शैक्षिक संस्थाहरूमा विदेशी विश्वविद्यालयको मापदण्डअनुसार आवश्यक पूर्वाधारसँगै दक्ष शिक्षकसमेत रहेका हुँदा गुणस्तरमा सुधार भने देखिँदै गएको छ।

अभिभावकले आफ्ना सन्तानले राम्रो अध्ययन गरून् भन्ने चाहना राख्छन्। मुलुकको स्नातक डिग्री शिक्षाको विकासक्रमलाई कसरी लिनुहुन्छ ?

शैक्षिक संस्थाहरूले मुलुकमा दक्ष जनशक्ति निर्माण गर्ने कार्यमा महŒवपूर्ण भूमिका खेल्छन्। तर, विभिन्न राजनीतिक घटनाक्रमले नेपालका विश्वविद्यालयका शैक्षिक क्यालेन्डर प्रभावित हुँदा हामी शिक्षामा चुक्दै आइरह्यौं। यद्यपि, नेपालकै विश्वविद्यालयमा अध्ययन गरेकाहरूले विदेशका उच्च तहका विश्वविद्यालयमा नै योगदान दिइरहेका छन्। 

ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने नेपालीको संख्या पनि धेरै छ। पछिल्लो समय नेपालमा नै उच्च शिक्षा अध्ययनका लागि विदेशबाट नेपाल पढ्न आउने विद्यार्थीको संख्या पनि उत्साहजनक देखिएकोले हाम्रा कमी, कमजोरीलाई सुधार गर्दै लगेको खण्डमा नेपाल शैक्षिक हब बन्न सक्छ।

मुलुकमा उत्पादित आईटी जनशक्तिका लागि हाम्रो रोजगारी बजार पर्याप्त छ कि छैन ?
नेपाल सरकार आफैंले पनि सूचना प्रविधिको क्षेत्रलाई बढावा दिने प्रयास गरिरहेको छ। त्यस्तै, निजी क्षेत्रले पनि डिजिटल सर्भिसहरू प्रदान गरिरहेकोले यस क्षेत्रमा पर्याप्त जनशक्तिको आवश्यकता छ। 

पछिल्लो समय बढ्दो मात्रामा नेपालमा आईटी कम्पनीहरू सञ्चालन भइरहेका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालले सूचना तथा प्रविधिको निर्यात गरेर ५ सय १५ मिलियन अमेरिकी डलर आर्जन गरेको छ। आईटी क्षेत्रमा थप जनशक्ति निर्माण गर्न सकिएको खण्डमा हामीले विदेशी मुद्रा नेपाल भित्र्याउन सक्छौं।

कक्षा १२ अध्ययन सकेका विद्यार्थीका लागि रोजगारीको क्षेत्रहरू के–के हुन सक्छन् ?

यस्ता विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार विभिन्न खालका कामहरू पाउन सक्छन्। सुरुमा अनुभवका लागि इन्टर्नसिप गर्ने त्यसपछि बिभिन्न खालका इन्ट्री लेभलका कामहरू गर्न सकिन्छ। जस्तो कि हस्पिटालिटी क्षेत्र, रिटेल तथा सेल्स, अनलाइनमार्फत गर्न सकिने काम, कन्टेन्ट राइटिङ, डिजाइनिङ, ट्युसन पढाउने काम गर्न सकिन्छ। यसमा अध्ययनका विषयअनुसारको क्षेत्रहरू रोज्न सकिए भविष्यमा अझै राम्रा अवसर प्राप्त गर्न सकिन्छ। 

द वेस्टमिन्स्टर कलेजमै किन पढ्ने ? 
द वेस्टमिन्स्टर कलेजका कोर्सहरू बेलायतको प्रतिष्ठित युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्बन्धनमा सञ्चालित छन्। यस विश्वविद्यालय टाइम्स हायर एजुकेसन र्‍याङ्किङमा ८००–१००० को स्थानमा रहेको छ। त्यस्तै, हामीले प्रदान गर्ने बीएससी (अनर्स) कम्प्युटर साइन्स तथा बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड फरेन्सिक्स विषय चारवर्षे डिग्री हुन्। यी विषयको डिग्री युनिभर्सिटीबाट नै प्रदान हुन्छ।

हामीले प्रदान गरिरहेका विषयहरू पनि हाल तथा भविष्यमा राम्रो माग हुने विषयहरू हुन्। त्यस्तै, हामीले सर्वसुलभ शुल्कमा डिग्री प्रदान गरिरहेका छौं भने कलेज पनि विद्यार्थीलाई पायक पर्ने स्थानमा रहेको छ। हामीले विद्यार्थीलाई बेलायतमा अध्ययन गरिरहेका विद्यार्थी सरह नै सुविधाहरू जस्तै ई–लाइब्रेरी, भर्जुअल लर्निङ इन्भारोमेन्ट, सर्पोटिभ लर्निङ इन्भारोमेन्ट, उच्च क्षमताका कम्प्युटर ल्याब, इन्टर्नसिपको सुविधा, अतिरिक्त क्रियाकलापसँगै विद्यार्थीको सर्वाङ्र्गीण विकासका लागि हाम्रो कलेज उपयुक्त गन्तव्य हो।

यस कलेजमा पढेका जनशक्तिले रोजगारीका क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
दशकभन्दा बढी लामो समयदेखि शैक्षिक क्षेत्रमा आबद्ध ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको यो कलेजमा अध्ययनरत विद्यार्थी तथा ग्र्याजुयट स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका कम्पनीमा काम गर्दै आइरहेका छन्। साथै, कतिपय विद्यार्थीहरू आफैंले पनि यस क्षेत्रमा लगानी गरी अन्यलाई रोजगारीको अवसरसमेत प्रदान गरेको उदाहरण हामीसँग छ।

अध्ययनका नाममा ठूलो धनराशि बिदेसिएकोे छ। यसलाई स्वदेशमै रोक्नका लागि के के गर्नुपर्ला ?
नेपालमा नै समयसापेक्ष शिक्षा प्रदान गर्नु आवश्यक छ। यसका लागि सबै खालका विश्वविद्यालयले समयमा नै भर्ना लिने, पठनपाठन सुरु गर्ने, परीक्षा लिने, अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकास गर्ने, नतिजा निकाल्ने मात्रै नभई उनीहरू रोजगारीको बजारमा फिट हुने गरी ग्रुम्रिङ गरेको खण्डमा उच्च शिक्षाकै लागि बिदेसिने विद्यार्थी रोक्न सकिन्छ। नेपालमा भविष्य नै छैन भन्ने भाष्यलाई परिमार्जन गर्न सबै क्षेत्र अघि सर्नुपर्छ। 

स्नातक डिग्री अध्ययनका लागि विद्यार्थीमा चाहिने न्यूनतम मापदण्ड के हो ?

स्नातक तहको अध्ययनका लागि पहिलेको कुरा त कक्षा १२ पास हुनुपर्छ। त्यसपछि भनेको आफ्नो रुचिअनुसारको विषय छनोट गर्नुपर्छ। यससँगै विश्वविद्यालयको पढाइमा सफल हुनका लागि विद्यार्थीमा प्रभावकारी सञ्चार क्षमता, समस्याको पहिचान र निराकरणको उपाय, समयको व्यवस्थापन, समन्वय र सहकार्य, नेतृत्व गर्ने क्षमतालगायतका कुरामा ध्यान दिनुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.