सवारी चेकजाँच तथा चालकको स्वास्थ्य परीक्षण अभियान सुरु
गुल्मी : गुल्मीमा सवारी चेकजाँच तथा चालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको छ। गुल्मी यातायात प्रालिको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले अभियान सुरु गरेको हो।
सवारी दुर्घटना न्यूनीकरण तथा सवारीको अवस्थाबारे चालकलाई ज्ञान दिने उद्देश्यले ग्रामीण क्षेत्रमा गुड्ने साना तथा ठूला सवारीको सडककै पुगेर चेकजाँच र चालकको स्वास्थ्य परीक्षण गरिएको हो।
आइतबारदेखि रेसुंगा नगरपालिका-४ अर्खलेबाट सुरु भएको अभियान यो महिनाभर जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।
पहिलो दिन ग्रामीण क्षेत्रमा गुड्ने ७२ वटा सवारी चेकजाँच र चालकलाई स्वास्थ्य परीक्षण गरिएको वरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिए। सडककै पुगेर स्वास्थ्यकर्मीद्वारा चालकको स्वास्थ्य परीक्षण र दक्ष प्राविधिकबाट बस, ट्रक, जीप लगायतका विभिन्न सवारी साधनहरूको चेकजाँच गरिएको थियो।