निर्माण कम्पनीहरूलाई एक साताको अल्टिमेटम
जोमसोम : राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)सडक आयोजनाले सडक तथा पुल निर्माणको कामलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई एक साताको अल्टिमेटम दिएको छ।
आयोजनाले बेनी-जोमसोम ७६ किमी सडकअन्तर्गत एक सडक र एक पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई एक हप्ते अल्टिमेटम दिएको हो। यस्तै, जोमसोम-कोरला ११० किमी सडक अन्तर्गत एक सडक र दुई पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई पनि एक हप्ते अल्टिमेटम दिएको आयोजनाले जनाएको छ।
निर्माण कम्पनीहरूले सम्झौता अनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगरेको, आयोजनाको निर्देशन पालना नगरेको र पटक पटक म्याद थप हुँदा पनि निर्माण कार्य नभएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख धुव्र झाले खरिद सम्झौताको मर्म र भावना विपरीत स्पष्ट कार्ययोजना र चित्त बुझ्दो जवाफ नआएको खण्डमा निर्माण कम्पनीको ठेक्का अन्त्य गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने बताए।