कैफियत खुलाएर उम्मेदवार सिफारिस गर्ने लुम्बिनी कांग्रेसको निर्णय
अर्घाखाँची : नेपाली कांग्रेस लुम्बिनी प्रदेशले राष्ट्रिय सभाको निर्वाचनका लागि कैफियत खुलाएर केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ।
दाङमा रहेको नेपाली कांग्रेसको प्रदेश कार्यालयमा आज बसेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको बैठकले राष्ट्रिय सभाका लागि जिल्लाबाट आएका उम्मेदवारका नाममा कैफियत खुलाएर सबै नाम सिफारिस गर्ने निर्णय गरेको कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेले जानकारी दिए।
पूर्वी रुकुमबाहेक प्रदेशका ११ वटै जिल्लाबाट सिफारिस भएर आएका १ सय २३ जना उम्मेदवारको नाम सबै केन्द्रमा सिफारिस गर्ने तर सबै उम्मेदवारको हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका लगायतका पृष्ठभूमि खुलाएर मात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनको अध्यक्षतामा बसेको बैठकले सरकार र पाटी बीचको सम्बन्ध सुमधुर बनाएर लैजाने पनि निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए। बैठकमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली चौधरीको पनि सहभागिता रहेको थियो।