यो पनि स्कुलै हो
बैतडी : काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएको सानो टहरा । टहरामा तीन कोठा, त्यो पनि साँघुरा । यसै कोठामा कोचिएका छन् १ देखि ५ कक्षा सम्मका विद्यार्थी । यो हो सुर्नया गाउँपालिका—२ बैतडीमा रहेको पत्ताल भूमेश्वर आधारभूत विद्यालय ।
कक्षा सञ्चालन भइरहेकै कोठामा कार्यालय पनि राखिएको छ । अनि, कार्यालयमा फर्निचरको नाममा एक टेबलबाहेक केही छैन । ‘विद्यालयको भौतिक सम्पत्ति भनेको यही टहरा नै हो, एउटै कोठामा सबै कक्षाका विद्यार्थीलाई राखेका छौं’, विद्यालयका प्रधानाध्यापक दीपा विष्ट भन्छिन्, ‘कार्यालय पनि कक्षा कोठामै छ, पठनपाठनमा निकै समस्या छ ।’
हिउँदको समयमा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या हुने गरेको शिक्षिका लक्ष्मी विष्टले बताइन् । ‘घाम लागेको समयमा त बाहिर बसाउँछौं, नत्र सबै विद्यार्थी एकै कोठामा राख्नुपर्छ, कोठामा बस्ने ठाउँ हँुदैन,’ विष्टले भनिन् । चिसो मौसम पनि सुरु भएकाले विद्यार्थीको पढाइ प्रभावित हुने गरेको उनले बताइन् । विद्यालयमा पर्याप्त शैक्षिक सामग्री र कक्षा कोठा व्यवस्थापन नहुँदा समस्या हुने गरेको छ ।
गाउँमा नजिक विद्यालय नभएपछि २०७२ सालमा स्थानीयको श्रमदानबाट निर्माण गरिएको अस्थायी टहरामै हालसम्म कक्षा ५ सम्मको पढाइ हुने गरेको छ । २०७५ सालमा पालिकाबाट विद्यालयले स्वीकृति पाएको थियो । उक्त विद्यालयमा करिब ८६ जना बालबालिका अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।
कक्षा अनुपातमा भौतिक संरचनामात्रै होइन शिक्षक पनि अभाव छ । राहत तथा स्थायी वा संघीय अनुदानको शिक्षक नै छैनन् । हाल दुई जना गाउँपालिका शिक्षकको रूपमा कार्यरत छन् भने दुई जना शिक्षकलाई निजी विद्यालयले नै निजी स्रोतबाट तलब खुवाउने भन्दै नियुक्ति दिएको छ । तर, निजी स्रोतका शिक्षकहरूलाई नियमित पारिश्रमिक दिन नसकिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । स्थापनाकालदेखि हालसम्म भौतिक संरचनाको लागि माग भए पनि कुनै पहल नभएको प्रधानाध्यापक विष्टले बताइन् ।
श्रमदानमा विद्यालयको टहरा निर्माण गरिएको भए पनि थप संरचना निर्माण गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर विष्टले बताए । ‘२०७५ सालमा सुर्नया गाउँपालिकाबाट फिल्ड निर्माणको लागि बजेट पाएका थियौं, त्यसयता केही बजेट आएन,’ अध्यक्ष विष्टले भने । विद्यालयको भवन निर्माणको लागि बेलाबेला माग गरिएको भए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । ‘दुई पटक राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि निवेदन पेस गर्यौँ, गाउँपालिकासँग पनि नियमित माग गर्दै आएका छौं’, उनले भने ।
किमगैर, घर्कटे, ग्वानी, गाडाइजर, सुन्धारन, थालापानी, कुर्कुट्यालगायतका टोलबाट बालबालिका अध्ययन गर्न उक्त विद्यालयमा आउने गरेका छन् । साँघुरा कक्षा कोठामा दुई वा दुईभन्दा बढी कक्षाका विद्यार्थीलाई एकै कोठामा बस्नुपर्दा असहज हुने गरेको छ । ‘विद्यालयमा डेस्क बेन्च नै पर्याप्त छैनन्, साँघुरा कोठामा बस्नुपर्छ, विद्यालयमा शिक्षकसमेत छैनन्,’ कक्षा ५ मा अध्ययनरत मनोज मानमती महरले भनिन् ।
चिसोको मौसममा बालबालिकाहरूको पढाइ प्रभावित हुने गरेको छ । घाम लागेको समयमा बाहिर बसाउने गरेको भए पनि पानी पर्दा निकै असहज हुने गरेको शिक्षिका पार्वती विष्टले बताइन् ।
वडास्तरीय शिक्षा समितिका अध्यक्षसमेत रहेका वडा नं २ का अध्यक्ष गणेशबहादुर विष्टले विद्यालयको समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताए । भौतिक संरचना र शिक्षक अभाव रहेको विद्यालयमा वडाबाट आवश्यक पहल चालिने अध्यक्ष विष्टले बताए । उक्त विद्यालयमा आवश्यक रहेको भवन निर्माणको लागि प्रदेश सरकार समक्ष सिफारिससहित अनुरोध गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए ।
‘योजना छनोटका क्रममा प्रदेश सरकारसमक्ष भवन निर्माणको माग गरिएको छ, पालिकामा अहिले बजेट छैन, आवश्यक शिक्षक दरबन्दीको विषयमा गाउँपालिकाबाट आवश्यक पहल गर्छाैं,’ अध्यक्ष कुँवरले भने । गाउँपालिकाका विद्यालयहरूमा समस्या सबै ठाउँमा रहेको बताउँदै विस्तार र सुधारको पहल भइरहेको अध्यक्ष कुँवरले बताए ।