चुरेमा फस्टाएको अचार उद्योग

चुरेमा फस्टाएको अचार उद्योग
सुन्नुहोस्

कैलाली : नेपालमा रोजगारी छैन भनेर विदेश जानेहरूको लर्को छ, तर कैलाली चुरेका दिवाकर योगी यतै सम्भावना खोजिरहेका छन्। चुरे क्षेत्रमा फल्ने सिजनअनुसारको अचार बनाउने, अर्गानिक पहाडी उत्पादन प्रशोधन गरेर उनले खाडी मुलुक जाने युवाहरूको भन्दा चार गुणा बढी आम्दानी गरेका छन्।

कैलालीको चुरे गाउँपालिकामा पर्ने भीमदत्त पन्त राजमार्गको फल्टुडेमा हाम्रो अचार उद्योग तथा फलफूल प्रशोधन केन्द्र। राजमार्गमै उद्योगको बोर्ड लगाइएको छ। बुवा हरिशंकर योगीले २०६१ सालदेखि अचार बनाउने व्यवसाय सुरु गरेकोमा  अहिले छोरा दिवाकरले अत्याधुनिक प्लान्ट जडान गरेर अचार र अमिलो (चुक) उत्पादन गरिरहेका छन्। योगीको उद्योगमा सिजनअनुसारका लसुनको अचार, आँपको अचार, अमीलो र खुर्सानीको अचार, सिस्नुको पाउडर, तेजपत्ता, कागतीको रसलगायतका थुप्रै अर्गानिक उत्पादन पाइन्छन्। ‘बुवाले अचारको व्यवसाय सुरु गर्नुभएको हो, अहिले अमिलो (चुक) पनि उत्पादन गरिरहेको छु। चुकभन्दा पनि बोक्राबाट बढी फाइदा छ,’ दिवाकरले भने। चुकको बोक्रा जर्मन निर्यात भइरहेको उनले जानकारी दिए। 

दिवाकरका अनुसार अमिलो १० लिटर रस पकायो भने १ लिटरमात्रै चुक निस्कन्छ। तर सुकाएको बोक्रा भने २ सय ५० रुपैयाँ किलो बिक्री हुन्छ। ‘अमिलोको दाना किनेर चुक बनाएर बिक्री गर्नुमा खासै फाइदा छैन तर बोक्रा बिक्री हुन थालेपछि राम्रो फाइदा हुने गरेको छ,’ दिवाकरले भने।

अमिलोको बोक्रा सुर्खेतको एउटा अर्बल कम्पनीले किलोको २ सय ५० रुपैयाँका दरले किन्छ। दिवाकर भन्छन्, ‘त्यो सबै बोक्रा जर्मन जान्छ। त्यहाँ त्यो बोक्रा हर्बल चियाका लागि प्रयोग हुन्छ भन्ने सुनेको छु।’

अहिले अमिलोको सिजन हो। कैलालीका चुरे, जोरायल र मोहन्याल गाउँपालिका, डँडेलधुरा, बैतडी र दार्चुलाबाट समेत उनको उद्योगमा किसानले अमिलोका दाना ल्याइरहेका छन्। २०६४ सालमा रिज्म एफपीले उनलाई अचार बनाउने र चुक बनाउने मेसिन सहयोग गरेपछि उनी अर्गानिक उत्पादनमा लागेका हुन्। गाउँघरमा चुक बनाउँदा सामान्यतया परम्परागत काठको कोलमा पेलेर तामाको भाँडामा दाउराले पकाउने गरिन्छ तर योगीको उद्योगमा अचार बनाउने र पकाउने आधुनिक मेसिन राखिएका छन्। 

त्यसमा स्टिमबाट पकाउने गरिन्छ। आफ्नो रोजगारीमात्रै होइन, योगीको उद्योगमा सिजनअनुसार १५÷२० स्थानीय महिलाले पनि रोजगारी पाउने गरेका छन्। अमिलो खुर्सिंदै गरेकी अर्की महिला कौशिला रसाइलीले भनिन्, ‘एक क्रेट अमिलो खोर्सेको सय रुपैयाँ हुन्छ। सक्नेले दिनमा ८ क्रेट पनि बनाउँछन्। सिजनअनुसारको राम्रो रोजगारी भएको छ।’ योगीको उद्योगमा स्थानीय किसानको अमिलो, आँप, कागती, लसुन, सिस्नु र खुर्सानी पनि आउँछ। उनको उद्योगका कारण स्थानीयको उत्पादनले बजार पाएको छ। गाउँका किसान उनको उद्योगमा भारी बोकेर मौसमअनुसारको कृषि उपज ल्याउने गरेका छन्। स्थानीय चण्डिका रानामगर भन्छिन्, ‘गाउँको उत्पादन गाउँमै बिक्री गर्न पाएकाले सजिलो भएको छ। खुर्सानी, लसुन, आम, अमिलो, कागती, तेजपत्ता, सिस्नु सबै गाउँमै बिक्री हुने गर्छ।’

दिवाकरले उद्योगमा एक करोड रुपैयाँ लगानी गरेका छन्। उनका बुवा हरिहर योगीले २०६४ सालमा राष्ट्रियस्तरको उत्कृष्ट खाद्य उद्यमी तथा व्यवसायी पुरस्कार पनि पाइसकेका छन्। बुवाको कामलाई आधुनिक रूपमा अगाडि बढाएका दिवाकर, पहाडमा पनि स्वरोजगारको प्रचुर सम्भावना छ भन्ने उदाहरण बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.